राजमार्ग मर्मत् नहुँदा यात्रुलाई सास्ती, सरकारी निकाय बेखबर



फाइल

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकै गर्दा उपत्यका छाडेर बाहिरिनेको जमात ठूलो छ । विगतका वर्षझैं यसपालि पनि ९ लाखदेखि १२ लाखभन्दा बढी मानिसहरु सडकमार्ग हुँदै उपत्यका छाडेर जाने नेपाल प्रहरीको अनुमान छ ।

अहिले भौतिक, पूर्वाधार मन्त्रालय नेतृत्वविहीन अवस्थामा छ । यसो हुँदा राजमार्ग मर्मतको कामहरु अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।
सरकारले राजधानी छाडेर बाहिरिनेका लागि सवारीको अग्रिम बुकिङ त खुलाएको छ तर बाटोको मर्मत नहुँदा कसरी जाने भन्ने यात्रुमा चिन्ता पनि छ । जसले गर्दा राजमार्ग हुँदै यो वर्ष दशैंका लागि घर जाने आम नागरिकहरुले सास्ती भोग्नु पर्ने भएको छ । क्षतविक्षत भएका राजमार्ग मर्मतसम्भारका लागि सम्बन्धित निकाय र सरोकारवालाहरु बेवास्ता गरिरहेको सर्वसाधारणको भनाइ छ ।

यो वर्ष अत्यधिक वर्षा भएकाले सबै जसो राजमार्ग क्षतविक्षत छन् । कतै खाल्डाखुल्डी छन्, भने कतै पहिरो थुप्रिएको छ । कतै सडकनै बगाएको अवस्था छ भने वारिपारी जान पुल समेत बाढीले लगेको अवस्था छ । कतै एकतर्फी बाटो मात्र सञ्चालित छन् भने कतै पूरै सडकनै ७/८ दिनसम्म बन्द अवस्थामा छन् । यस्तो अवस्थामा वैकल्पिक मार्ग समेत प्रयोग गर्न नमिल्ने छन् ।

यो वर्ष बाढी पहिरोका कारण सडक र पुल गरी लगभग २ अर्ब ८० करोडको क्षति बेहोरेको विभागले जनाएको छ । हाल १२ वटा स्थानको सडक अवरुद्ध अवस्थामा छन् । विभागका अनुसार १२६ सडकहरु एकतर्फीरुपमा सञ्चालन भइरहेका छन् । जम्मा ९० वटा सडक राम्रोसँग सञ्चालन हुन सकिरहेका छन् ।

उसै त दशैं र तिहार मनाउनका लागि उपत्यका छाड्ने अधिकांश जनताहरु सडकमार्ग नै प्रयोग गर्ने गर्दछन् । यसपालि दशैंका लागि घर जाने यात्रुहरूले सास्ती पाउने आँकलन समेत गर्न सकिन्छ ।

सरकार गठन भएको ९० दिन पुगिसक्दा पनि भौतिक पूर्वाधार मन्त्रालय नेतृत्वविहीन छ । अघिल्लो वर्षहरुमा मन्त्रालय नेतृत्वविहीन हुने गरेको थिएन । यसो हुँदा सधैं मन्त्रालयको निर्देशनमा मर्मतसम्भारका लागि बजेट छुट्याउने र सडक विभागले पनि राजमार्गहरुको मर्मतसम्भारका काम दशैं अघिनै गर्दै आएको थियो । तर यो पाली भने तेस्तो नभएको सडक विभाग आयोजना तथा मूल्यांकन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालको भनाइ छ ।

यसपालि धेरै ढिलासम्म भएको मनसुनको सक्रियताले गर्दा मर्मतसम्भारका काम हुन नसकेको मुख्य कारण भएको सडक विभागको भनाइ छ ।
‘मौसम लम्बियो, अघिल्लो वर्ष सेप्टेम्बरको पहिलो हप्ता तिर कम हुन्थ्यो तर यसपालि त्यस्तो भएन अहिलेसम्म पनि पानी परिरहेको नै छ,’ नेपालले भने ।

अधिकाश धेरै बिग्रेका राजमार्गहरु दशैं अघिसम्म बन्न नसक्ने पनि सडक विभाग योजना तथा अनुगमन महाशाखाका महानिर्देशक शिवप्रसाद नेपालले बताए ।

हाल कुन–कुन राजमार्गमा कस्तो अवस्था छ ?
हाल सबै जसो राजमार्ग क्षतविक्षत कै अवस्थामा छन् । कुनै एकतर्फी मात्र सञ्चालन भइरहेका छन् भने अरु राजमार्गमा खाल्डाखुल्डीले ध्वस्त छन् । सडक विभागले भने राजमार्गमा भएका त्यस्ता समस्यालाई पेट्रोलिङबाट टाल्ने प्रकिया गरिरहेको जानकारी दिएको छ ।

नेपालका अनुसर अहिले मनाङ जाने चामे सडक बाहेक अरु सबै राजमार्ग सञ्चालन भइरहेका छन् । कतिपय मुख्य राजमार्ग धेरै नै बिग्रेको अवस्था छ । त्यस्ता सडकहरु दशैं अघिनै बन्न नसक्ने पनि उनले बताए । उपत्यकाबाट बाहिरिने मुख्य सडकहरुमा नारायणगढ सडक, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, विपी हाइवे, दक्षिणकाली हुँदै हेटौडा पुग्नेलगायतका अनय मार्ग पनि छन् ।

अरनिको राजमार्गमा अहिले राम्रोसँग सवारीहरु चल्न सकेका छैनन् । काठमाडौंदेखि कोदारी सिन्धुपाल्चोक जाने सडक खण्डमा पर्ने गौडे पुल बाढी पहिरोले अबरुद्ध पारेको छ । त्यो पुल अहिले सम्म पनि विभागले मर्मत गर्न सकेको छैन् ।

नारायणगढ (बुटवल सडक) राजमार्ग विस्तारका लागि विभिन्न स्थानमा निर्माणको काम चलिरहेको नेपालले बताए । त्यहाँको अवस्था हेर्ने हो भने अझै वेहाल छ । त्यहाँको सडक खण्डमा धेरै हिलो र खाल्डाखुल्डी भएकाले घण्टौसम्म जाम हुने अवस्था रहेको छ । यस क्षेत्रमा पुल पूर्णरुपमा क्षति भएकाले वैकल्पिकमा बेलिब्रिज हालेकाले त्यो पुलमा एकतर्फी मात्र सवारी सञ्चालन हुने गरेको नेपालले बताए ।

मनाङ जाने चामे सडकखण्ड अझैं सञ्चालनमा आउन सकेको छैन् । नेपालका अनुसार पानी अझैं परिरहेका कारण त्यस सडक खण्ड सञ्चालन गर्न दशैंपछि मात्र सम्भव भएको बताए । यो सडक खण्ड भएर यात्रा गर्नेहरुले भने विकल्प खोज्न विभागले जानकारी दिएको छ ।

पृथ्वी राजमार्ग (नौबिसे धादिङ हुदै पोखरा कास्की) मा पनि विभिन्न ठाउँमा अत्यधिक र्षाका कारण बाढी पहिराले क्षतविक्षत पारेको छ । यो राजमार्ग भनेको उपत्यकालाई जोड्ने मूख्य राजमार्ग मानिन्छ । त्यसमा पनि यहाँ प्रायःजसो सधै जाम हुने गरेको छ । दशैंमा उपत्यका छाड्ने सवारीको चाप अत्यधिक हुने हुनाले ट्राफिक जामको त उत्तिकै समस्या हुने एसपी सन्जीव शर्मा दासले बताए ।

बाढीले सडकमा रहेको कालोपत्रे ठाउँठाउँमा बगाउँदा खाल्डाखुल्डी भएको छ । त्यही खाल्डाखुल्डीले गर्दा सवारी आवतजावतमा एकतर्फी मात्र भइरहेको पनि नेपाले बताए । यस रुट हुँदै यात्रुहरु आफ्नो गन्तव्य पुग्न घण्टौ बाटोमै बिताउन बाध्य छन् ।

सिद्धार्थ राजमार्गमा पनि एकतर्फी बाटो सञ्चालन भइरहेको छ । पोखरा कास्की हुदै रुपन्देही जाने मानिसहरुले पनि यसपटक कठिन यात्रा गर्न गर्नुपर्ने भएको छ । नेपालका अनुसार यस राजमार्गमा यात्रा गर्न घण्टौ सडकमा बस्नुपर्ने अवस्था कम हुने भनाइ छ ।

विपि राजमार्ग धुलिखेल काभ्रेपलाञ्चोक हुँदै बर्दिबास जाने सडक खण्डमा पनि अत्यधिक वर्षाले असर पारेको छ । यस क्षत्रमा जाने मानिसहरु पनि कष्टकर यात्रा गर्न बाध्य छन् । विभागले सकेसम्म सहज बनाउन कोसिस गरिरहेको बताएको छ ।

कान्ति लोकपथ राजमार्ग पनि हाल एकतर्फी मात्र सञ्चालन भइरहेको नेपालले जानकारी दिएका छन् । यो सडक खण्ड पछिल्लो समय हेटौडा जोड्ने मूख्य सडक बन्न पुगेको छ । यो सडक हेटौंडा जोड्ने सबैभन्दा छोटो दुरीको सडक हो । यसको दुरी करिव ९० किलोमिटर मात्र रहेको छ ।

मध्यपहाडी सडक खण्डमा भने अर्को ठूलो समस्या आइपरेको थियो । त्यससडक खण्डमा मोदी गाउँपालिका अन्तर्गतको झण्डै ३५ फिट ठूलो चट्टान खसेर बाटो अवरोध भएको थियो । तर, हाल नेपाली सेनाको सहयोगमा चट्टानलाई बलास्ट गरि एकतर्फी बाटो सञ्चालन भइरहेको नेपालले जानकारी दिएका छन् ।

दशैंलाई हुन्छ सडक मर्मत
दशैंअघि सडक मर्मत गर्न प्रयास गर्ने नेपालले जानकारी दिएका छन् । तर, पानी परिरहेमा, मनसुन कम भएपछि मात्र मर्मतसम्भारको काम अघि बढ्ने उनको भनाइ छ ।

मर्मतसम्भारका लागि बजेटको भने कुनै समस्या नरहेको पनि उनले बताए ।

अर्कोतर्फ भने यातायात व्यवासायीले सरकारले जतिसक्दो चाँडो सडक मर्मतको काम सकेर मात्र टिकट खोल्नुपर्ने भन्दै आइरहेका थिए । अहिले भने उनीहरुले राजमार्गलगायत स्थानीय स्तरसम्मका सडकको अवस्था अति नाजुक रहेको पनि बताए । दशैंमा घर जाने यात्रुलाई असहज परिस्थितीको सामना गर्न नपरोस् भन्दै उनीहरुले सडक विभागलाई आग्रह समेत गरेका छन् ।

‘हामीले दशैंको अवस्थालाई मध्यनजर गर्दै सडक मर्मतमा विशेष जोड दिएका छौं । मर्मतका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै कामलाई कसरी सहज तरिकाले गर्न सकिन्छ भन्ने बारे छलफल गरी काम गर्ने तयारी गरेका छौं । तर, पानिले कतिसम्म साथ दिन्छ भन्ने टुङ्गो छैन्,’ नेपालले भने ।

सम्भव भएसम्म दुबैतर्फी नभए एकतर्फी मात्र भएपनि बाटो खोलेर सवारी साधनलाई सहज बनाएको नेपालको भनाइ छ । पुल पूर्णरुपमा क्षति भएका स्थानहरुमा वैकल्पिकमाध्यम अपनाएर सवारी सञ्चालन गर्ने गरेको विभागको बताएको छ ।

कतिपय सडक क्षत्रमा सडक विभाग, नेपाल प्रहरी, नेपाल आर्मी र स्थानीय निकायहरु आफै खटिएर सडक सञ्चालन गरिएको त्यसको साथसाथै आपत्कालीन समयलाई समेत कामदार खटाइएको नेपालले बताए ।


क्लिकमान्डु