४५.३ अर्ब डलरका मालिक चिनियाँ व्यवसायी सू जियायन टाट पल्टिदै



एजेन्सी । संसारकै सबैभन्दा राम्रो ‘फिक्सन’ लेख्न सक्ने क्षमता भएका एकाध मानिसमध्ये एक हुन अर्नेष्ट हेमिंग्वे । उनको पहिलो उपन्यासको नाम थियो ‘दि सन अल्सो राइजेज ।’

उपन्यासको एउटा पात्र बिलले अर्को पात्र माइकलाई सोध्छ– तिमी कसरी टुट्यौ । अर्थात् तिमी कसरी असमर्थ भयौ । उनले उत्तर दिन्छन्– क्रमिक रुपमा वा एक्कासी । अर्थात् बिस्तारै बिस्तारै फेरि अचानक ।

सन् १९२६ मा लेखिएको उक्त हरफले भने जस्तै चिनियाँ कम्पनी एभरग्राण्डका मालिक सू जियायन पटक–पटक पढी रहेका होलान् सायद यतिबेला ।

एभरग्राण्ड चीनको ठूला रियल स्टेट कम्पनीमध्यको एक हो । समाचार यो छ कि कम्पनी चाँडै नै ऋण तिर्नका लागि नै असमर्थ हुने अवस्थामा पुगेको छ । सामाजिक सञ्जालमा एउटा भिडियो फैलिएको छ, अर्थात् भाइरल भएको छ ।

आर्थिक क्षेत्रमा यो विषय यति असरदार बनिरहेको छ कि त्यसले संकट नजिकै रहेको देखाएको छ । जस्तै भारतको सडकमा ठडिएको एक बिजुलीको लाइन नै हेरौं । त्यसको कनेक्सन यस्तो छ कि चाँदनी (भारत दिल्ली) चोकमा एउटा मात्रै तार काटियो भने छरतपुरको सबै बिजुली जान्छ ।

यस्तै हो, आर्थिक क्षेत्रमा पनि । कुनै एक कम्पनी डुब्न लाग्यो भने त्यसले संसारमा नै ठूलै हलचलको लहर फैलन जान्छ ।

सन् २००८ मा अमेरिकमा आर्थिक मन्दी देखियो । त्यसका बारेमा संसारका धेरैलाई जानकारी नै छ । अमेरिकाको सबैभन्दा ठूलो एक बैंक आफनो काममा असमर्थ भएपछि संसारभर नै आर्थिक मन्दी शुरु भयो ।

त्यस्तै, एउटा संकटको पूर्वसन्ध्या जस्तो लाग्ने मौसम चीनमा शुरु भएको छ । एभरग्राण्डको वित्तीय संकटको असरका कारण २० सेप्टेम्बर अर्थात् सोमबारको दिन संसारभर नै सेयर बजारमा गिरावट देखिन पुग्यो ।

भारतको सेयर बजार निफ्टी ५० मा जुलाईपछि सबैभन्दा बढी अंकले ओरालो लागेर बन्द भएको देखियो । यूरोपियन स्टक इन्डेक्स स्टक्सस यूरोप ६०० मा २ प्रतिशतले ओरालो लाग्यो । डाउ जोन्स ५०० अङ्कभन्दा बढीले घट्न गयो । हङकङ स्टक मार्केट हङ सेङको सम्पत्ति समेत कमजोर भयो ।

यस गिरावटलाई केवल ट्रेलर मात्रै मानिएको छ । आगामी दिनमा बजारमा अझै गिरावट हुन सक्छ । एभरग्राण्डको यस्तो अवस्था हुनुको पछाडिको खास कारण के हो त ? यसको असर बाँकी संसारका लागि कस्तो पर्ला भन्ने बारेमा खोजबिन शुरु भइरहेको छ ।

दोस्रो विश्व युद्धपछि शितयुद्धका कारण संसारभर नै परमाणु शक्तिलाई केन्द्रमा राखियो । त्यसको पछाडि मुख्य गरी दुई आर्थिक विचारधाराको लडाई थियो । कम्युनिज्म भर्सेज क्यापिटलिज्म ।

त्यसको नेतृत्वकर्ता थिए अमेरिका र सोभियत संघ । सन् १९९१ मा सोभियत संघ एक आपसमा टुक्रियो । उक्त लडाईमा अमेरिकाले जित्यो । परोक्षरुपमा त्यो जित पूँजीवादको थियो । पूँजीवादको धेरै बैगुनका बाबजूद पनि संसारको अधिकतम अर्थतन्त्र आज त्यसैको वरिपरी नै घुमेको छ । आम राजनीतिक रुपमा हेर्दा वामपन्थको राजनीतिको अर्थ यो हो कि पूँजीवाद तथा पूँजीवादी सरकारको विरोध गर्नु । पछिल्लो शताब्दिमा यो शब्द एक आपसमा अन्तरसम्बन्धित थियो । अधिकतम देशहरु पूँजीवादी थिए भने चीन र रुस जस्ता देश आलोचकहरुको नजरमा कम्युनिस्ट विचारधारा मान्थे वा निरंकुश थिए ।

चीनको १९८० को आर्थिक प्रणाली
सन् १९८० मा चीनको आर्थिक प्रणालीमा नयाँ सुत्र प्रयोगमा आयो । उसले पूँजीवाद र निरंकुशताको समिश्रणबाट एक प्रणाली बनायो त्यसबाट आर्थिक सफलताको यस्तो कहानी लेखियो कि जसले मानव जीवनमा न त यसअघि देखिएको थियो वा अनुभव नै गर्न पाइएको थियो ।

जसलाई सञ्चालन गर्ने पार्टीको नाम हो चिनियाँ कम्युनिस्ट पार्टी । उसको आर्थिक मन्त्रका रुपमा पूँजीवाद र स्वतन्त्र बजार नै रहेको छ । तर पनि चिनियाँ सामान जस्तै यो पूर्णरुपमा स्वतन्त्र बजार भने होइन । समय समयमा चिनियाँ सरकारले बजारमाथि आफनो नियन्त्रण लाद्छ । जसलाई कोही गलत मान्छन् भने कसैले सही पनि ।

चीनको आर्थिक विकासको सबैभन्दा ठूलो कारण बनिरहेको छ, रियल स्टेट । सन् १९८० पछाडि चीनले आफनो बजार बिस्तार गर्यो र औद्योगिकरणको शुरुवात गर्यो ।

त्यसको परिणाम यस्तो देखियो कि मानिसहरु ग्रामीण क्षेत्रमा गरिरहेको कृषि पेशालाई छाडे र सहरमा आए । साथसाथै चीनको एउटा मात्रै बच्चा पाउन पाउने नीतिका कारण पनि परिवार सानो हुन लाग्यो । नातागोता र परिवार नहुनुका कारण ‘न्यूक्लियर फ्यामिली’ जस्तै हुन लाग्यो । अर्थात्, हामी दुई र हाम्रो एक भन्ने अवस्था सिर्जना भयो ।

आर्थिक वृद्धिका कारण समृद्धिको लक्ष्यहरु पूरा हुन थाले । उनीहरु त्यसैमा रमाउन थाले तर, आकाश छुने उनीहरुको इच्छा क्रमशः बढ्दै गयो । अर्थशास्त्रको साधारण सिद्धान्त समेत त्यसमा लागू हुन थाल्यो ।

जहाँ मागको वृद्धि हुन थाल्यो, त्यहाँ मूल्य पनि क्रमशः बढ्न थाल्यो । मंगल ग्रहमा जबसम्म जग्गा मिल्दैन, तब धर्तीमा जमिन सीमित हुन लागे जस्तै भएको छ । माटो नै सुन जस्तै हुन थाल्यो ।

चीनमा जमिन र घरको मूल्यमा दिन दुईगुणा रात चार गुणाको दरले वृद्धि हुन थाल्यो । यस्तो सारा संसारमै हुन थाल्यो । यो मामिलामा चीन मात्रै एक्लै थिएन । आर्थिक वृद्धिका कारण चीनमा रियलस्टेट क्षेत्रको व्यापारमा असाध्यै ठूलो अनियमितता समेत देखिन थाल्यो । कारण बजारबाट ठूलो मात्रामा ब्याज तिरेरै भएपनि पैसा उठाउन थालियो ।

त्यसमा ऋणको भार तथा घर निर्माणको आचारसंहिताको पालना समेत हुन छाड्यो । जसका कारण अवैध रुपमा घर जग्गाको कारोबारमा जोडिनेहरु पनि बढ्दै गए ।

कम्पनीले समेत सोहीअनुसार फाइदा उठायो । एकातिर घर बनिरहेको हुन्थ्यो भने त्यही पैसा देखाएर अर्कोतर्फ नयाँ परियोजना समेत शुरु भइसकेको हुन्थ्यो । नजिता यस्तो भयो कि जमिन र घरको मूल्यमा अथाह वृद्धि हुन थाल्यो । सांघाई र बेइजिङमा निर्माण भएका गगनचुम्बी भवन एवम् संरचना नै त्यसको खास प्रमाण बन्न पुगे ।

त्यसको फाइदा उठाउने व्यक्तिका रुपमा थिए सू जियासन । उनले चीनको गोन्झाऊ सहरमा एक कम्पनी खडा गरे । आफनो पहिलो परियोजनाको रुपमा उनले ३२३ वटा अर्पाटमेन्ट बनाए । जुन आधा दिनभन्दा पनि कम समयमा बिक्री भयो ।

बिस्तारै बिस्तारै एभरग्राण्ड चीनको सबैभन्दा ठूलो कम्पनी बन्न पुग्यो । सन् २०१० मा सू जियायानले गोन्ँजाऊ फुटबल टीम नै खरिद गरे । सो टीमको नाम नै आफ्नो कम्पनीको नाममा राखे ।

सन् २०१० पछि एभरग्राण्डले विद्युतीय सवारी, पर्यटन, बोतलको पानी निर्माण गर्ने उद्योगमा समेत लगानी गरे । सन् २०१५ मा सू जियायानले एलन मस्कलाई टक्कर दिने दाबी गरे ।

चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धका कारण उनले फाइदा उठाए । सोही कारण सन् २०१७ मा उनी एशियाकै सबैभन्दा धनी मानिस बन्न पुगे । त्योबेला उनको सम्पत्ति मात्रै ४५.३ बिलियन डलर बराबरको थियो ।

रियल स्टेट क्षेत्रमा मूल्य बढ्नुको खास कारण थियो, त्यसमा गरिएको सट्टा बजार अर्थात् गैरकानूनी काम । चीनमा गरिएको घर जग्गाको लगानीमा यो विषय आम जस्तै भएको छ ।

मानिसले सम्पत्ति खरिद गरेर केही समयभित्रै पनि त्यो बिक्री गर्न सक्छन् । यसको नजिताको कारण सहरभित्रै अनेकन नयाँ सहर बन्न थाले । तर ती भवनमा कोही पनि बस्न इच्छुक भएनन् । बिना योजना धमाधम भवन बनाउन शुरु गर्नु र परियोजना अधुरै रहनु पनि अर्को कारण बनिरहेको छ ।

सन् १९९७ मा एभरग्राण्डले गोन्जाऊमा एउटा यस्तो लक्जरी अपार्टमेन्ट बनायो । त्यसका नाम राखियो अष्ट्रेलिया भिल्ला । सो परियोजनामा २९२ अर्पाटमेन्ट थियो । जसमा जिम, स्पा, सिनेमा हल, निजी विद्यालय, बुटिक तथा रेष्टुराँ समेत समेटिएको थियो । त्यसको एक अर्पाटमेन्टको मूल्य मात्रै २१ हजार अमेरिकी डलर बराबर थियो । कल्पना गर्नुहोस्, आजभन्दा २० वर्ष पहिले एउटा सामान्य चिनियाँ परिवारको कूल आम्दानी मात्रै ८०० अमेरिकी डलर बराबर मात्रै थियो । उनीहरुले कसरी अर्पाटमेन्ट खरिद गर्न सक्थे ।

सोही कारण सो भवनको निर्माण कार्य सन् २००१ मा अधुरै छाडियो । जो मानिस घाटा सहन गर्न सक्थे, उनीहरुले अर्को घर खोज्न थाले । जोसँग थप पैसा थिएन, उनीहरुले आधा तथा अपुरो अवस्थामा रहेको भवनमा नै बिजुली तथा ग्यास नभएपनि बस्न थाले ।

आज समेत चीनमा यस्ता भवनहरु असाध्यै धेरै रहेका छन् । पहिले पहिले टेलिभिजनमा कुकुर डुलाउँदै गरेको विज्ञापन देखेर मानिसहरु घर खरिद गर्न पुग्थे । आज त्यस्ता घरहरुमा कुखुरा पालनको काम गर्नु परेको छ ।

तपाईंले दुबईको पाम आइल्याण्डको नाम त पक्कै पनि सुन्नुभएको होला ? त्यस्तै स्वरुपमा एभरग्राण्डले सबैभन्दा ठूलो परियोजनाको रुपमा नाम दिएर ओसियन फ्लावर आइल्याण्ड बनायो ।

चीनको हाइनान प्रान्तमा दुबईको पाम आइल्याण्ड जस्तै एक भव्य कम्प्लेक्स बनाउन चाहन्थे उनी । उक्त संरचना ९०० एकड जमिनमा निर्माण गर्न लागिएको थियो । यो परियोजना समेत अपूरो रुपमा हालसम्म लट्किइरहेको छ । छेन्दु सहरमा समेत ठूलो परियोजना रहेको छ । त्यसको नाम दिइएको एवग्र्लेड प्लाजा । यसको अलावा चीनको २८० सहरमा एभरग्राण्डका मात्रै ८१० परियोजना छन् । त्यसमा कैयन परियोजना हालसम्म पूरा हुन सकेका छैनन् ।

सन् २०२० मा जब संसारभर नै कोरोनाको महामारी शुरु भयो । त्यसको असर आर्थिक रुपमा सबैतिर पर्न गयो । चीनको रियल स्टेट क्षेत्रमा मात्रैं १.४ ट्रिलियन डलर बराबरको लगानी भएको थियो ।

रियल स्टेट क्षेत्र मात्रै चीनको कूल ग्राहस्थ्य उत्पादनको २९ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । सन् २०१७ मा चीनको रियल स्टेट बजारमा भइरहेको बिस्तार र फुलिरहेको गुलाफ जस्तो लाग्ने क्षेत्रमा राष्ट्रपति सिले आँखा लगाए ।

सन् २०१७ को पार्टीको एक बैठकमा उनले भने– घर बस्नका लागि हो, न कि सट्टा पट्टा गर्न । त्यसपछि सरकारले रियल स्टेटमाथि बढी निगरानी गर्न थाल्यो । रियल स्टेट क्षेत्रका लागि सरकारले एक नयाँ नीति ल्यायो । जसको नाम दिइयो ‘३ रेड पोलिसी’ । अर्थात् तीन रातो रेखा पार गरेपछि लगानी गर्न वा ऋण लिन नपाइने व्यवस्था ।

त्यसमा कम्पनीको कूल कर्जा तथा सेरधनीको कूल इक्विटीको रेसियो १०० प्रतिशतभन्दा कम हुनुपर्छ । अर्थात् कम्पनीको आर्थिक अवस्था कस्तो छ भन्ने विषयमा पहिले हेरिनुपर्छ । कम्पनीका साथमा जति कम समयको कर्जा रहन्छ, त्यसको साथमा बढी नगद हुनुपर्छ । यस्तै, घर लिन चाहनेको सम्पत्तिको हिस्सा ७० प्रतिशतभन्दा हुनु भएन ।

यी तीन नियमअनुसार कुनै कम्पनीले यदि यी तीन रातो रेखाको पार नगरीकन काम गर्छन् भने उनीहरुलाई वार्षिक रुपमा थप १५ प्रतिशत बढी ऋण लिन सक्छन् । एक रातो रेखा मात्रै पार गरेको खण्डमा १० प्रतिशतको दरमा मात्रै ऋण पाउँछन् । तीन वटै रातो रेखा पार गरेको खण्डमा कुनै पनि कम्पनीले ऋण समेत लिन नपाउने व्यवस्था गरियो ।

नयाँ नियमबाट सबैभन्दा बढी प्रभाव एभरग्राण्डलाई पर्न गयो । उक्त कम्पनीको मात्रै ३०० अर्ब डलर बराबरको ऋण थियो । तुलना गर्नुस् कि यो हङकङको कूल ग्राहस्थ रकमभन्दा बढी हो । त्यसमध्येको ८३.५ मिलियन डलर बराबरको ऋणको भाखाको अन्तिम दिन २३ सेप्टेम्बर हो ।

कम्पनीका अनुसार हाल कम्पनीसँग ऋण चुक्ता गर्नका लागि पैसा छैन । डिफल्टमा पर्ने अवस्था आएका कारण कम्पनीका सामू अब आफनो सम्पत्ति बिक्री गर्नुपर्नेछ ।

बजारको सिद्दान्त यहाँ पनि लागू हुन्छ कि जसरी कम्पनीले आफनो सम्पत्ति बिक्री गर्न थाल्छ, तब उसको सम्पत्तिको मूल्य समेत क्रमशः ओरालो लाग्दै जान्छ ।

यसै वर्ष कम्पनीले आफना कर्मचारीलाई भनेको थियो अब तिमीहरुले पनि लगानी गर । यदि लगानी गरेनौ भने बोनस पाउँदैनौ । कम्पनीको साथमा कर्मचारीलाई तलब खुवाउन समेत कुनै पैसा थिएन । हजारौ मानिस जो फ्याल्ट लिनका लागि पैसा जम्मा गरेका थिए, उनीहरु समेत फसेका छन् । किनकी, तीन प्रकारको रातो रेखाका कारण कम्पनीले नयाँ ऋण पाउन सकेको थिएन ।

सन् २०२१ को अन्त्यसम्म कम्पनीले कम्तीमा ६६९ मिललियन डलर बराबरको ऋण तिर्नुपर्ने समयसीमा रहेको छ । ऋण लिनका लागि कम्पनीले बजारमा बण्ड बिक्री गरेको थियो । त्यसमा समेत राम्रो पैसा जुटेन । मात्रै प्रति डलर ३० सेन्ट बराबर प्राप्त भयो । जंक बण्ड भनिएको उक्त बण्डमा उच्च प्रकारको जोखिम पनि रहन्छ । जसमा सामान्य रुपमा नै बढी ब्याज प्राप्त हुन सक्छ । तर, अवस्था पनि त्यस्तो रहेन ।

सेनजेन सहरमा कम्पनीको कार्यालय छ । जसको अगाडि अर्पाटमेन्ट खरिद गर्न चाहनेदेखि ऋण उठाउने खोज्नेको भिड लागेको छ ।

सामान्यतयाः चीनमा विरोध प्रदर्शनको खबर सुन्न पाइदैन । तर, त्यहाँ ठूलो संख्यामा मानिसहरु उपस्थित भएर विरोध प्रदर्शन गरिरहेका छन् ।

क्रेडिट रेट्री गर्ने संस्था फिङचले सो कम्पनीको रेटिङ गर्दा बीदेखि सिसिसि प्लस मात्रै दिएको छ । जसको मतलब यो हो कम्पनीले ऋणको किस्ता तिर्न सक्दैन ।

जे सोचिएको हो, अवस्था त्यस्तै हुन लागेको छ । एभरग्राण्ड अब ऋण तिर्न नसक्ने कमजोर अवस्थामा पुग्ने करिब तय भएको छ । यस्तो अवस्थामा अब केवल साहारा सरकारको मात्रै बाँकी छ ।

चीनमा सरकारले यसअघि ऋण तिर्न नसक्ने कयौं कम्पनीलाई अधिग्रहण गरेको थियो । त्यसमा पनि कम्पनीको अपेक्षा छ कि केही थप समय दिएर काम गर्न पाइन्छ कि भन्ने । तर यो सम्भवना पनि असाध्यै कम रहेको छ ।

चिनियाँ राष्ट्रपतिले तय गरेको नीतिका कारण यो सम्भवना कम छ । उनले चीनमा धनी र गरिबीचको बढ्दो खाडललाई कम गर्ने नीति लिएका छन् । यस्तो अवस्थामा एभरग्राण्डको सहयोगबाट बजारमा यस्तो सन्देश जओस् कि गलत गर्नेलाई सरकारले कहिल्यै साथ दिँदैन र दिनु पनि हुँदैन । गलत व्यापारिक गतिविधिलाई बढावा दिनु हुँदैन ।

हालसम्म चीनले यसबारेमा कुनै सार्वजनिक धारणा दिएको छैन । त्यस्तै, कुनै आश्वासन पनि दिएको छैन । यस्तो लाग्दैछ कि सरकार एभरग्राण्ड ऋण तिर्न नसक्ने अवस्थामा पुगे पनि उसलाई कुनै मतलब छैन । तर, बजारमा एभरग्राण्डका कारण असर देखिन थालिसकेको छ । जसरी सन् २००८ मा अमेरिकामा देखिएको थियो । कम्पनीको सेयर मूल्य तीव्र गतिमा घटिरहेको छ । बाँकी रहेको रियल स्टेट कम्पनीको सेयर समेत एभरग्राण्डको जसरी नै घटिरहेको छ ।

सम्पत्तिको ओरालो लाग्ने क्रमले लगानीकर्तालाई कडा झट्का लागिरहेको छ । खासमा चीनको रोजगारीको खास क्षत्रेका रुपमा रियल स्टेट नै रहेको छ । सो क्षेत्रमा नै समस्या पर्नासाथ बेरोजगारीको मात्रा समेत बढ्न जान्छ । कोरोनाका कारण संसारभर कै अर्थतन्त्रमा समस्या आउने देखिएको बेला एभरग्राण्डका कारण पनि थप जटिलता देखिने संकेतहरु बजारमा देखिएका छन् ।

दि लल्लनटपबाट


क्लिकमान्डु