भारतीय अर्थतन्त्र पुरानै लयमा, पछिल्लो त्रैमासमा जीडीपी वृद्धिदर २० प्रतिशत



एजेन्सी । कोरोनाले सबैभन्दा असर पारेको भारतीय अर्थतन्त्रमा उल्लेख्य सुधार भएको पाइएको छ । कोरोनाको पहिलो लहरमा भारतको अर्थतन्त्र नराम्ररी प्रभावित भएको थियो ।

दोस्रो पटक पनि भारतको केन्द्र सरकारले लकडाउन वा निषेधाज्ञा जारी नगरेपनि प्रदेश सरकारहरुले झण्डै तीन महिनाभन्दा लामो समयसम्म लकडाउन वा निषेधाज्ञा गरेका थिए । त्यसका कारण सबैजसो उद्योग धन्दा, कलकारखाना र आर्थिक गतिविधि हुने सबै क्षेत्र बन्द भएका थिए ।

तर पछिल्लो पटक सन् २०२१ को जुनमा भारतीय अर्थतन्त्रको विस्तार उल्लेख्य रुपमा भएको देखिएको छ । पछिल्लो त्रैमासमा कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा २० प्रतिशतले वृद्धि भएको छ । भारतमा हरेक महिना जिडीपीको तथ्यांक सार्वजनिक गरिन्छ । सन् २०२० जुनमा २४.४ प्रतिशत नकारात्मक रहेको जीडीपी सन् २०२१ को जुनको त्रैमासमा आइपुग्दा २० प्रतिशतले वृद्धि भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार २०२० को सेप्टेम्बरमा अर्थतन्त्र ७.४ प्रतिशतले ओरोलो लागेको थियो । यस्तै, डिसेम्बरमा ०.५ हुँदा सन् २०२१ को मार्चमा १.६ प्रतिशतले उकालो लागेको थियो । पछिल्लो त्रैमासिक विवरण अनुसार भारतीय अर्थतन्त्रमा २० प्रतिशतले सुधार हुने अवस्था आएको तथ्य सार्वजनिक भएको हो ।

खासगरी सन् २०१८ को जुनमा ७.६ प्रतिशतले वृद्धि भएको भारतीय जीडीपी त्यसपछि भने लगातार ओरालो लागेको देखिन्छ । सन् २०१८ को सेप्टेम्बरमा ६.६, डिसेम्बरमा ६.३ प्रतिशतले मात्रै वृद्धि भएको थियो । सन् २०१९ को मार्चमा ५.८, जुनमा ५.४, सेप्टेम्बरमा ४.६, डिसेम्बरमा ३.३ प्रतिशतले मात्रै वृद्धि भएको थियो । कोरोना कहरका कारण साना तथा मझौला क्षेत्रदेखि ठूला भनिएका सबै औद्योगिक प्रतिष्ठानलाई कोरोनाले असर गरेको थियो ।

मंगलबार नै जुनसम्मको तेस्रो त्रैमासको विवरण सार्वजनिक हुने बताइएको छ । भारतीय रिजर्भ बैंकका अनुसार कूल जीडीपीको वृद्धिदर २१.४ प्रतिशत रहने अनुमान गरिएको छ । रोयटर्सले गरेको सर्वेक्षणमा सहभागी भएका ४१ भारतीय अर्थशास्त्रीका अनुसार औसतमा २० प्रतिशते वृद्धि हुने देखिन्छ ।

यस्तै, भारतमा चालु आर्थिक वषएको कूल वृद्धिदर भने ११ प्रतिशत रहने अनुमान गरिएको छ ।

विवरणहरुमा जनाइएअनुसार भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ९००.७ अमेरिकी डलर रहेको छ । उता चीनको १० हजार ५००.४ प्रतिशत , यूरोपेली संघको ३३ हजार ९२७.७ र अमेरिकाको ६३ हजार ५४३.६ अमेरिकी डलर बराबर प्रतिव्यक्ति आम्दानी रहेको छ ।

ठूला अर्थतन्त्र भएका देशमा जीडीपीको आकार बढ्न जाँदा प्रतिव्यक्ति आम्दानीमा नकारात्मक असर पनि पर्न सक्छ । जस्तो अफ्रिकामा त्यस्तो भएको खण्डमा जीवनस्तरमा नै समस्या पर्ने देखिन्छ ।

भारतमा सन् २०२६ सम्म प्रतिव्यक्ति आम्दानी ३ हजार ११५ अमेरिकी डलर बराबर पुग्ने अनुमान गरिएको छ ।भारतमा कोरोनाको असर भएको खण्डमा त्यसको सकारात्मक प्रभाव नेपालमा पनि पर्न सक्छ । सोही कारण यहाँको अर्थतन्त्रमा समेत सुधार आउन सक्छ । कोरोनाका कारण भारतमा जस्तै नेपालको अर्थतन्त्रमा समेत नकारात्मक असर परिरहेको छ ।

कोरोना कहर कम भएपनि खासमा अर्थतन्त्रमा सुधार आउन सकेको छैन । त्यसका पछाडि अनेकन कारण रहेका छन् । नेपालको आर्थिक वृद्धिदर नकारात्मक रहेको छ । त्यसलाई सुधार गर्नका लागि सरकारी क्रियाशिलता सँगै विकास निर्माणको कामलाई समेत प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।


क्लिकमान्डु