वाणिज्य बैंकको नाफा २०% ले बढेर ६३ अर्ब नाघ्यो, नाफा बढाउनेमा एनबीको छलाङ, ५ वटाको घट्यो



काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफा २०.०२ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुको खुद नाफा ६३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवभन्दा १० अर्ब ५७ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये २२ वटा बैकको खुद नाफा सो अवधिमा बढेको छ भने ५ वटा बैंकको खुद नाफा घटेको छ ।
वाणिज्य बैंकहरुको प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा २२ वटा वाणिज्य बैंकले ०.७८ प्रतिशतदेखि ८५ प्रतिशतसम्मले खुद नाफामा वृद्धि गरेका छन् । तर, सोही अवधिमा ५ वटा वाणिज्य बैंकको भने करिब ७ प्रतिशतदेखि पौने ३८ प्रतिशतसम्मले खुद नाफा अघिल्लो आवको तुलनामा गत आवका घटेको छ ।

सो अवधिमा सबैभन्दा बढी खुद नाफामा वृद्धि नेपाल बंगलादेशले गरेको छ भने सबैभन्दा थोरै सिभिल बैंकले गरेको छ । समीक्षा अवधिमा नेपाल बंगलादेश बैंकले ८४.१७ प्रतिशतले र सिभिल बैंकले ०.७७ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।

साथै, खुद नाफा वृद्धिमा दोस्रो नम्बरमा कुमारी बैंक र तेस्रोमा प्रभु बैंक रहेको छ । अघिल्लो आवको तुलनामा कुमारी बैंकले गत आवमा ७२.७४ प्रतिशतले र प्रभु बैंकले ६८.४५ प्रतिशतले खुद नाफा थप गरेको छ ।

सो अवधिमा सेञ्चुरी, राष्ट्रिय वाणिज्य, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकको खुद नाफा भने घटेको छ ।

कुन बैंकको खुद नाफामा कति वृद्धि ?
अघिल्लो आवको तुलनामा नेपाल बंगलादेश बैंकले खुद नाफामा ८४.१७ प्रतिशतले थप गरी गत आवमा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ पुर्याएको छ । साथै, सो अवधिमा कुमारी बैंकले ७२.७४ प्रतिशतले वद्धि गरी २ अर्ब ११ लाख, प्रभु बैंकले ६८.४५ प्रतिशतले वृद्धि गरी २ अर्ब १ करोड र एनएमबि बैंकले ५९.४२ प्रतिशतले वृद्धि गरी २ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा नेपाल इन्भेष्टमेण्ट बैंकले ५०.६९ प्रतिशतले थप गरी ३ अर्ब ६५ करोड, मेगा बैंकले ४५.१६ प्रतिशतले थप गरी २ अर्ब ३० करोड, प्राइम बैंकले ४४.५६ प्रतिशतले थप गरी ३ अर्ब २५ करोड र ग्लोबल आइएमई बैंकले ४१.८७ प्रतिशतले थप गरी ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसैगरी, सिटिजन्स बैंकले ३३.४० प्रतिशतले थप गरी १ अर्ब ५९ करोड, सिद्धार्थले ३२.३१ प्रतिशतले थप गरी २ अर्ब ८३ करोड, नेपाल बैंकले ३१.४० प्रतिशतले थप गरी ३ अर्ब ६ करोड, नबिलले ३०.०६ प्रतिशतले थप गरी ४ अर्ब ५० करोड र माछापुच्छ«े बैंकले २८.८९ प्रतिशतले खुद नाफा वद्धि अघिल्लो आवको तुलनामा गत आवमा गरेको छ ।

समीक्षा अवधिमा खुद नाफा सानिमा बैंकले २८.१६ प्रतिशतले थप गरी २ अर्ब २७ करोड, हिमालयनले १५.९० प्रतिशतले थप गरी २ अर्ब ९९ करोड, एनसीसीले १४.६८ प्रतिशतले थप गरी १ अर्ब २७ करोड र कृषि विकास बैंकले १०.८९ प्रतिशतले थप गरी ३ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, अघिल्लो आवको तुलनामा गत आवका, सनराइज बैंकले १०.५६ प्रतिशत थप गरी १ अर्ब ५० करोड, लक्ष्मी बैंकले ९.२० प्रतिशतले थप गरी १ अर्ब ५४ करोड, बैंक अफ काठमाण्डूले ५.१५ प्रतिशतले थप गरी १ अर्ब ५३ करोड, एनआइसी एशिया बैंकले ४.९२ प्रतिशतले थप गरी ३ अर्ब २५ करोड र सिभिल बैंकले ०.१७ प्रतिशतले थप गरी ५५ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ ।

खुद नाफा घटाउने बैंकहरु
अघिल्लो आवको तुलनामा गत आवमा ५ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । जसमा सेञ्चुरी, राष्ट्रिय वाणिज्य, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआइ बैंक छन् ।

समीक्षा अवधिमा खुद नाफा नेपाल एसबीआइ बैंकको ३७.७४ प्रतिशतले घटेर ९६ करोड ९ लाख, स्ट्याण्र्डर्ड चार्टर्डको २९.४९ प्रतिशतले घटेर १ अर्ब ४० करोड र एभरेष्टको २७.३४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड पुगेको छ ।

साथै, अघिल्लो आवको तुलनामा गत आवमा खुद नाफा राष्ट्रिय वाणिज्यको १३.२९ प्रतिशतले घटेर ३ अर्ब ७९ करोड र सेञ्चरी बैंकको ६.७७ प्रतिशतले घटेर ७५ करोड रुपैयाँ कायम भएको छ ।


दिलु कार्की