गाउँ-गाउँमा उद्यमी जन्माउने विनोद चौधरीको सपना ‘दीगो बैंकिङ कार्यक्रम’मार्फत् साकार पार्दै नविल बैंक



काठमाडौं । विश्वका धेरै सफल उद्यमी/व्यवसायीसँग संगत गरेका अर्बपति विनोद चौधरीलाई नेपालभित्र तल्लो तहबाट उद्यमी भित्र्याउने हुटहुटी चलिरहेको थियो । भेट्रान बैंकर उपेन्द्र पौड्याल चौधरी ग्रुपको प्रमुख लगानी रहेको नविल बैंकमा अध्यक्ष बने । ३० वर्ष बैंकिङमा बिताएका पौड्याललाई पनि उद्यमी जन्माउनका लागि बैंकले सहयोग गर्न नसकेकोमा अब केही गर्नुपर्छ भन्ने उस्तै हुटहुटी थियो ।

नविल बैंकको मुख्य लगानीकर्ता चौधरी ग्रुपका अध्यक्ष चौधरी र नविलका अध्यक्ष पौड्यालको सोच मिल्यो । र, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह काठमाडौं केन्द्रित बैंकलाई विकेन्द्रिकरण गर्नुपर्ने तयारीमा थिए । बैंकले उद्यमी जन्माउनका लागि सहयोग गर्नुपर्छ, तर कसरी ? नविल बैंकको स्थापनाकालदेखिकै चिनारी भनेको कर्पोरेट बैंकिङ हो ।

चौधरी र पौड्यालले उद्यमी काठमाडौंको सहर तथा कर्पोरेट जगतबाट मात्र नभएर गाउँबाट जन्माउन खोजेका थिए । त्यही सोच अन्तर्गत नविलको टिमले ल्याएको योजना हो, ‘नविल बैंकको दिगो बैंकिङ’ योजना अर्थात् सस्टेनेबल बैंकिङ । यो योजना अन्तर्गत नविल बैंकमा खाता खोल्न पनि संकोच मान्ने समुदायलाई बैंकले उद्यमी बनाउन खोजेको छ ।

कर्पोरेट बैंकिङमा मात्र केन्द्रित भएको नविलले रिटेल हुँदै एसएमइमा आफूलाई पछिल्लो समय परिवर्तन गरिसकेको छ । स्थापनाको तीन दशकपछि नविल बैंकले नयाँ ग्राहक जोड्नका लागि शाखा विस्तारसँगै अहिलेसम्म नगरेको एक्विजेशन समेत गरेको छ । अरु बैंक तथा वित्तीय संस्थासँग समेत एक्विजेशनको प्रक्रिया अगाडि बढाएको छ ।

नविल बैंकले अहिलेसम्म नगरेको काम अन्तर्गत दिगो बैंकिङको लागि १७ वटा शाखाबाट एक वर्षमा १ हजार परियोजनामा करिब ८० करोड ऋण दिने लक्ष्य राखेको छ । जसले गाउँ र वित्तीय पहुँच नपुगेका क्षेत्रबाट उद्यमी जन्माउन ठूलो मद्दत पुग्ने छ । नविल बैंकले दिगो बैंकिङ अन्तर्गत ५० हजार रुपैयाँसम्मको कर्जा दिने योजना बनाएको छ । बैंकबाट ५० हजारको कर्जा पाउने भनेको सहरी क्षेत्रमा बस्ने ग्राहकले क्रेडिट कार्डमा मात्र हो ।

नविल बैंकका डिजिएम मनोज ज्ञवाली कृषिमा दिगोपन तथा उद्यमशिलताको लागि परियोजना सोच हुनेलाई नविल बैंकले साथ दिने बताउँछन् । दिगो बैंकिङ भनेको के हो ? नविलले किन दिगो बैंकिङको अभ्यास शुरु गर्यो ? र, यसले समाज रुपान्तरणमा कस्तो भूमिका खेल्छ ? लगायतका विषयमा नविल बैंकका डीजीएमसमेत रहेका प्रखर बैंकर मनोज ज्ञवालीसँग क्लिकमाण्डूले गरेको कुराकानीः

नविल बैंकले दिगो बैंकिङ योजना ल्याउनुको खास कारण के हो ?

बैंकिङ क्षेत्र नाफामुखी मात्र भए । बैंकहरुले धनीहरुको मात्र सेवा गर्यो भन्ने आरोप लाग्ने गर्छ । हामीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)मा काम गरे पनि त्यो पुरा भएको थिएन । आम मानिसको जिन्दगीमा हामीले प्रभाव पार्नुपर्छ भन्ने हाम्रो सोच छ । यसमा हाम्रो बैंकका अध्यक्ष उपेन्द्र पौड्याल सर र मुख्य लगानीकर्ता चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी सरको सोच मिल्यो । हाम्रो सीइओ सर अनिल शाहको पनि पहिलदेखि नै बैंक सर्वसाधारणसम्म पुग्नुपर्छ भन्ने सोच थियो । राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार बैंक तथा वित्तीय संस्था गाउँसम्म पुगेका छन् । हामी पुगेको ठाउँमा मानिसको जीवनस्तर सुधार गर्ने तथा उद्यमशिलताको विकास गर्ने योजनाअनुसार गत असार १५ गतेदेखि दीगो बैकिङमा सेवा शुरु गरेका हौं । अहिले १७ वटा शाखा कार्यालयमा यो सेवा उपलब्ध छ । यसको लक्ष्य ठूलो भएपनि यो शुरुवाती क्रममा रहेको छ ।

नविलले दिगो बैंकिङमार्फत् तल्लो तहबाट उद्यमी जम्माउन खोजेको हो ?

हो । जहाँ बैंकिङ पुगेको थिएन । बैंकको ह्याबिट पुगेको छैन । १७ वटा ग्रामीण क्षेत्रमा रहेका शाखाहरु हामीले दिगो बैंकिङको लागि पहिचान गरेका छौं । यसको ब्याजदर पनि महंगो हुँदैन । बेसरेटमा केही प्रतिशत मात्रै जोडिएको हुन्छ । आजको दिनमा एकल अंकमा अर्थात् १० प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा पाउने अवस्था छ ।

हामीले यो योजनामार्फत् तल्लो तहबाट नयाँ उद्यमी ल्याउन खोजेका हौं । बैंकिङको पहुँच तल्लो तहसम्म पुर्याउन खोजेका छौं । दीगो बैंकिङ अन्तर्गत कृषि कर्जा र उद्यमशिल कर्जा प्रवाह हुने हो । हामी किसान कर्जामा २५ लाखसम्मको कर्जा प्रवाह गर्छौं । जुन क्षेत्रमा जस्तोसुकै खाले खेती हुन्छ, त्यसमा हामीले कर्जा दिने हो । सुन्तला खेती होस् या च्याउ खेती होस् । या त टमाटर खेती नै किन नहोस्, नविलले कर्जा दिन्छ । सिजनअनुसार बाली तथा तरकारी लगाउनका लागि समेत कर्जा प्रवाह गर्छौं । अब खेती किसानी गर्नका लागि किसानलाई पैसाको अभाव हुनेछैन । जुनसुकै उद्यमशिलतामा लाग्नेका लागि उसको व्यापारको सम्भावना अध्ययन गरेर १ करोड रुपैयाँसम्म ऋण दिन्छौं । यसमा हामीले ऋणमात्र दिने होइन, वित्तीयरुपमा परामर्शदाताको समेत काम गर्ने गर्छौं । यसका लागि हाम्रो डेडिकेटेट टिम छ । त्यो अनुसार योजना अगाडि बढेको छ ।

कर्पोरेट क्लाइन्टसँग डिल गरेका नविल बैंकका कर्मचारी तपाईंले भनेजस्तो च्याउखेती तथा सुन्तला खेतीका लागि कर्जा दिने गरेर काम गर्न तयार छन् ?

नविल बैंकले दिगो बैंकिङको प्रोडक्ट लिएर देशभर जान थालेको होइन । कालिकोटमा हाम्रो २ वटा शाखा छ । त्यो शाखामा काम गरेका कर्मचारी त्यो क्षेत्रसँग परिचित छन् । यसमा हामीले थप कर्मचारी पठाउने होइन । नविल बैंक विगतमा कर्पोरेट फोकस भएको बैंक हो । अब हामी रिटेल हुँदै एसएमइमा फोकस हुन खोजेका छौं । नविल बैंकले कर्पोरेट बैंकिङबाट आफूलाई सिफ्ट गरिसकेको छ । यो प्रयोजनका लागि हामीले परामर्शदाता नियुक्त गरेका छांै । उहाँहरुले दिगो बैंकिङ संचालन हुने शाखा कार्यालयमा पुगेर कर्मचारीलाई तालिम समेत दिनुहुने छ । यसबाहेक एकजना संचालकलाई यो परियोजना हेर्ने जिम्मेवारी संयोजक समेत तोकिएको छ । यसमा फोकस गर्नका लागि छुट्टै टिम केन्द्रिय कार्यालयमा छ, परामर्शदाता रहेका छन् । यसका लागि सिटिइभिटीसँग सहकार्य गर्ने योजना अगाडि बढाएका छांै ।

अहिले नविल बैंकले दिएको कर्जा र दीगो बैंकिङमा पाउने कर्जा के फरक हुन्छ ?

पहिलो कुरा फोकस परिवर्तन हो । हिँजोका दिनमा १० लाख रुपैयाँ कर्जा लिनका लागि नविल बैंक आउने सोच सर्वसाधारणमा थिएन । अर्को प्रक्रिया नै झन्झटिलो थियो । कुनै शाखाले १५ देखि २० लाखसम्मको ऋणको फाइल अगाडि बढाउने प्रक्रिया सहज नभएपछि नयाँ ग्राहक आउने स्थिति थिएन । अब हाम्रो मनस्थिति परिवर्तन भएको छ । यो वर्षमा १ हजारजति ग्राहकलाई ८० करोड जति कर्जा दिने लक्ष्यमा गर्दछौं । किसानलाई एउटा लिमिट दिएपछि आफूले चाहिने रकम प्रयोग गर्न पाउनेछन् । यसबाहेक हामीले नविल बैंक अफ सोसल इन्टरपेनियसिपमा समेत काम गर्दैछौं । ७ वटा प्रदेशमा आह्वान गरेर १८ वर्ष उमेर पुगेका युवालाई उद्यमशिल बनाउन सहयोग गर्छौं ।

उद्यमशिल बनाउनका लागि ऋण कसरी पाउने, लेखा कसरी राख्ने लगायतका कुराहरु हामीले सिकाउने छौं । राष्ट्र बैंकले सहुलियत ऋणको व्यवस्था गरेको छ । यसमा ऋण गएपनि हाम्रो उद्देश्य पुरा भएको छ भन्नेमा प्रश्न उठेको छ । कर्जाको रकम जुन उद्देश्यको लागि दिन खोजिएको हो, त्यसमा फोकस गरेर दीगो बैंकिङमा काम गर्न खोजेका छौं । हामीले अन्य योजनामा ग्राहकल ऋणको किस्ता र ब्याज नतिरेमा मात्र सम्पर्क गर्ने गरेका हुन्छौं । यसमा भने ग्राहकसँग सँधै सम्पर्कमा हुन्छौं ।

दीगो बैंकिमा कर्जाको न्यूनतम सीमा कतिसम्मको हुन्छ । र, कस्ता ग्राहकले कर्जा पाउँछन् ?

यसमा न्यूनतम ऋणको सीमा तोकिएको छैन । कुनै व्यक्तिले कुखुरामात्र पाल्ने सोच बनाएको छ, उसले ५० हजार रुपैयाँ लिन चाहेको छ भने पनि हामी उसलाई खाली हात पठाउँदैनौं । नविलले तल्लो तहमा उद्यमशिलता विकास गर्नका लागि ५० हजारसम्म पनि कर्जा दिन्छ । जुन अहिलेसम्म भएको थिएन । हामीले माथिल्लो सीमा किसान कर्जा २५ लाख र उद्यमशिलतामा १ करोड सीमा राखेका छांै ।

असार १५ देखि शुरु भएको दीगो बैंकिङ अहिलेसम्म अति प्रारम्भिक अवस्थामा छ । यद्यपि डेढ महिनाको अवधिमा कति कर्जा गएको छ ?

अहिलेसम्मको संकेत राम्रो छ । मान्छेहरु उत्साहित छन् । असार १५ मा हामीले शुरु गर्यौं । असारको महिनामा ऋण असूलीको दवाव हुन्छ । साउनमा पनि असूलीको दवाव छ । साउन सकिएपछि हामीले तोकेका शाखाका साथीहरुले यो कर्जामा फोकस हुन सक्नुहुन्छ । अहिलेसम्म औसतमा एउटा कर्जा १० लाखको आकारसम्म गएको छ ।


क्लिकमान्डु