बैंकक बैंकको रणनीतिः २५ वर्षभित्र दक्षिण एशियाका सबै देशमा पुग्ने




काठमाडौं । थाइल्याण्डको बैंकक बैंकले पछिल्लो समय दक्षिण एशियाली क्षेत्रमा नाटकीयरुपमा व्यवसाय विस्तारको रणनीति लिइरहेको छ ।

छिमेकी मुलुकहरु इन्डानेसिया, हङकङदेखि सिंगापुरसम्म आफ्ना व्यवसाय विस्तार गरिसकेको यो बैंकले दक्षिण एसियाली मुलुकहरुमा आक्रामक र जबर्जस्त उदयको रणनीति बनाइरहेको छ । फोर्ब्स म्यागेजिनमा प्रकाशित एक सामग्रीअनुसार बैंकक बैंकले आगामी २५ वर्षमा दक्षिण एसियाका सबै मुलुकमा बिस्तार भइसक्ने लक्ष्यसहित आफ्नो रणनीति बनाइरहेको छ ।

यसैको शुरुवातका रुपमा गतवर्षमात्र बैंकक बैंकले २ अर्ब ७० करोड अमेरिकी डलर बराबर पुँजी भएको इन्डोनेसियाको बैंक पर्मातालाई प्राप्ति (एक्विजिसन) गर्यो । यो उक्त बैंकको ७६ वर्षे इतिहासमा सबैभन्दा ठूलो रणनीतिक फड्को हो ।

अहिले बैंकक बैंक कुल पुँजीका आधारमा दक्षिण एसियाको छैठो ठूलो बैंक र नाफाका आधारमा १४औं ठूलो बैंक हो ।

बैंक पर्माता आफैंमा इन्डोनेसियाको निजी क्षेत्रबाट संचालित ठूलोमध्ये एक बाली बैंक र अरु साना चारवटा वित्तीय संस्था गाभिएर बनेको संस्था थियो । बैंक पर्माताको स्वामित्व बैंकक बैंकले लिएसँगै उसको दक्षिण एसियामा प्रभुत्व जमाउने रणनीतिको पदारोपण भएको छ ।

यो रणनीतिलाई एसियाली क्षेत्रमा व्यवसाय बिस्तार गर्नका लागि चालिएको पाहिलाका रुपमा हेरिएको छ । त्यतिमात्र होइन, बैंकक बैंकका ६२ वर्षीय अध्यक्ष चार्टसिरी सोफोनपानिचका लागि पनि यो निर्णय उनको व्यवसायिक जीवनको कोशेढुंगा मानिएको छ ।

यद्यपि, क्षेत्रीय बजारमा प्रभुत्व जमाउने गरी बैंकले मारेको व्यवसायिक छलाङ उनको पारिवारिक ‘लिगेसी’कै निरन्तरता हो । सन् १९४४ मा बैंकक बैंक स्थापना हुँदा उनका हजुरबुबा यो बैंकको सहसंस्थापक र अध्यक्ष थिए ।

‘सामान्यतया हामी आफ्नै व्यवसायिक बिस्तारबाट अघि बढिरहेका थियौं । हामी अरु संस्थाको प्राप्तिबाट बजारमा प्रभुत्व जमाउने विषयमा विस्वास गर्दैनौं । तर अहिले द्रुत गतिमा अर्थतन्त्र बढिरहेको इन्डोनेसियामा व्यवसाय बिस्तारका लागि हामीले यो रणनीति लिनुपर्यो,’ बैंकक बैंकमा अध्यक्ष चार्टसिरीले एक अन्तर्वार्ताका क्रममा भनेका छन् ।

घरेलु बजारमा आफ्नो व्यवसाय र बजार गुमाउँदै गएको बेला बैंकक बैंकले यो निर्णय लिएको थियो । थाइल्यान्डका कमर्सियल बैंकहरुको उच्च प्रतिस्पर्धाकाबीच बैंकक बैंकको घरेलु व्यवसाय विस्तार भने घट्दोक्रममा थियो । तर, सन् २०१९ को डिसेम्बरमा इन्डोनेसियाली बैंक पर्माताको ८९ प्रतिशत स्वामित्व खरिद गर्ने निर्णयसँगै फेरी बैंकक बैंकको व्यवसायले छलाङ मार्यो ।

बैंकक बैंकले स्टाण्डर्ड चार्टड्स र आस्ट्रा इन्टरनेसनलबाट यो स्वामित्व खरिद भएको थियो । बैंकक बैंकसँग गाभिएपछि पर्माता बैंकका ४० लाख सक्रिय ग्राहक र देशभरका ३ सय बढी बैंक शाखा पनि यसको स्वामित्वमा आए । १३ अर्ब ८० करोड अमेरिकी डलर बराबर पुँजी पनि थपियो ।

पर्माता बैंक स्ट्राटेजिक एक्विजिसन रहेको चार्टसिरी बताउँछन् । ‘क्षेत्रीय बजार बढ्दोक्रममा छ । थाइल्याण्डभन्दा अन्तर्राष्ट्रिय बजारमा कर्जा प्रवाह बढिरहेको छ । यसले बैंकको करिब २४ प्रतिशत बराबर हिस्सा अहिले नै बनाईसकेको छ । आगामी दिनमा यो अझ बढ्नेछ,’ उनले भनेका छन् ।

पर्माता बैंक प्राप्ति गर्ने निर्णयसँगै यसले सकारात्मक नतिजा पनि दिइसकेको छ । गतवर्ष मात्रै यो बैंकको ब्याज आम्दानी ८ प्रतिशतले बढेर ७७ बिलियन भाट पुग्यो ।

घरेलु बजारमा कमजोर बन्दै गएको बैंकले अन्तर्राष्ट्रिय बजारमा सेवा बिस्तार थालेपछि बैंकक बैंकले ‘स्ट्राटेजिक एक्विजेसन’मार्फत जान खोजेको बुझ्न कठिन छैन ।

थाइल्याण्डमा घट्दो आर्थिक वृद्धिदर, बढ्दो घरेलु कर्जा र कम ब्याजदरका कारण बैंकक बैंकको घरेलु व्यवसाय खस्किँदो थियो । साथै, कोभिड १९ महामारीका कारण लगानीकर्ताको आत्मविस्वास गुम्दै गएको र बैंककको व्यवसाय पनि घट्दै गएको थियो । जसकारण बैंकक बैंकले सन् २०२० मा पछिल्लो १० वर्षयताकै कमजोर प्रगति गर्यो । सेयर मूल्यमा पनि भारी गिरावट देखियो । बैंकको प्रतिसेयर मूल्य ११५ भाटसम्म घट्यो । जुन सन् २०११ यताकै कमजोर मूल्य हो ।

यस्तै, सन् २०२० मा बैंकक बैंकको नाफा ऐतिहासिक रुपमा कमजोर भयो । खराब कर्जा पनि अत्याधिक देखियो । महामारीका कारण एक वर्ष अवधिमा मात्रै कुल कर्जाको करिब आधा ५४ करोड १० लाख अमेरिकी डलर बराबर खराब कर्जा साबित भयो ।

यस्तो समयमा बैंकक बैंकले घरेलु भन्दा अन्तर्राष्ट्रिय बजारमा आक्रामकरुपमा जाने रणनीति लियो । २७ करोड ६० लाख जनसंख्या भएको इन्डोनेसिया विश्वको चौथो ठूलो जनसंख्या भएको मुलुक हो । इन्डोनेसियामा बैंकको व्यवसाय बिस्तार गर्दा क्षेत्रीय बजारमा दह्रिलो उपस्थिती साबित हुने कुरा उसले बुझेको थियो । जसकारण बैंक पर्मातालाई गाभ्ने निर्णय गर्यो ।

इन्डोनेसियामा मध्यमवर्गीय जनसंख्या बढ्दोक्रममा छ भने त्यहाँको घरेलु बजार र कुल ग्राहस्थ उत्पादन पनि बढ्दोक्रममा छ । ठूलो जनसंख्या काम गर्ने उमेर समुहका भएका कारण पनि त्यहाँ व्यवसाय बिस्तारका लागि सजिलो छ । किनभने, उनीहरुले कुनै न कुनै हिसाबले वित्तीय सेवा खोज्छन् ।

कोभिड १९ महामारीका कारण थाइल्याण्डको आर्थिक वृद्धिदर ३ प्रतिशतमा खुम्चिँदा इन्डोनेसियामा भने ४.५ प्रतिशत देखिने अनुमान एसियाली विकास बैंकले गरेको छ ।

‘अझै १०-२० वर्ष हामीले यो भन्दा उच्च गतिको वृद्धिदर त्यहाँ देखेका छौं,’ चार्टसिरी भन्छन्, ‘यहाँ अहिले प्रतिव्यक्ति आम्दानी २ हजार अमेरिकी डलर बराबर छ । यहाँको आवश्यकताअनुसार पूर्वाधार, उत्पादन, सेवा र खपतका क्षेत्रमा हामी राम्रो व्यवसाय संचालन गर्न सक्छौं ।’

थाइल्याण्डका थुप्रै कम्पनीले इन्डोनेसियालगायत अरु छिमेकी मुलुकमा लगानी गरेका छन् । जसकारण बैंकक बैंकलाई ती मुलुकहरुमा व्यवसाय बिस्तारका लागि थप सहज हुनेछ ।

बैंकक बैंकले पर्माता बैंकको स्वामित्व खरिद गरेपनि यसको नाम भने परिवर्तन गरिएको छैन । यो बैंकले आफ्नै ब्राण्डबाट इन्डोनेसियामा व्यवसाय गरोस् भन्ने चार्टसिरी चाहन्छन् । व्यवसाय बिस्तारका लागि उनको छुट्टै रणनीति छ ।

‘स्वामित्व लिएपनि त्यसका संरचना परिवर्तन नगर्ने’ जसकारण ग्राहकलाई विदेशी बैंक भनेर कुनै अप्ठेरो वा असहज परिस्थितीको सामना गर्नु नपरोस् ।

यो वर्षभित्रै बैंकक बैंकले हङकङ र सिंगापुरमा पनि व्यवसाय बिस्तारको तयारी गरिरहेको छ । इन्डोनेसियाका ग्राहक र बढ्दो व्यवसायले अन्तर्राष्ट्रिय बजारमा जान थप उत्प्रेरित गरेको चार्टसिरीको बुझाइ छ ।

चार्टसिरीको अर्को बैंकिङ रणनीति हो-डिजिटलाईजेसन । इ-बैंकिङ र डिजिटलाईजेसनको प्रवद्र्धन गरेर व्यवसाय बिस्तार गर्न सकिनेमा चार्टसिटी विस्वस्त छन् ।

उनले डिजिटल बैंकिङमा सबल बैंक वित्तीय संस्थालाई नै बैंकक बैंकसँग गाभ्ने वा प्राप्ति गर्ने रणनीति लिएका छन् । जसले उनलाई दीर्घकालसम्म प्रतिस्पर्धी बनाउन सहयोग पुगोस् ।


पुष्प दुलाल