बाग्मती प्रदेशमा बढ्यो सवारी कर



काठमाडौं । बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गरेको छ । प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ ।

प्रदेशले कार, जीप, भ्यान तथा माइक्रोबसको सवारीसाधन कर सीसीका आधारमा तय गरेको छ । गत आर्थिक वर्षको तुलनामा प्रदेश सरकारले कार, जिप, भ्यान तथा माइक्रोबसको कर १९ हजार रुपैयाँसम्मले बढाएको छ ।

जसमा १ हजार सीसीसम्म २२ हजार रुपैयाँ, एक हजार सीसीभन्दा माथि १५ सय सीसीसम्म २५ हजार रुपैयाँ, १५ सय सीसीभन्दा माथि २ हजार सीसीसम्म २७ हजार रुपैयाँ, २ हजार सीसीभन्दा माथि २५ सय सीसीसम्म ३७ हजार रुपैयाँ, २५ सय सीसीभन्दा माथि ३ हजार सीसीसम्म ५० हजार रुपैयाँ र ३ हजार सीसीभन्दा माथि ६५ हजार रुपैयाँ सवारी कर तय गरेको छ ।

गत वर्षसम्म एक हजार सीसीसम्म २१ हजार रुपैयाँ, एक हजार सीसीभन्दा माथि १५ सय सीसीसम्म २३ हजार ५ सय रुपैयाँ, १५ सय सीसीभन्दा माथि २ हजार सीसीसम्म २५ हजार ५ सय रुपैयाँ, २ हजार सीसीभन्दा माथि २५ सय सीसीसम्म ३५ हजार ५ सय रुपैयाँ, २५ सय सीसीभन्दा माथि ३ हजार सीसीसम्म ४१ हजार रुपैयाँ र ३ हजार सीसीभन्दा माथि ५८ हजार ५ सय रुपैयाँ सवारी कर लाग्दै आएको थियो ।

यसैगरी डोजर, एक्साभेटर, लोडर, रोलर, र क्रेनजस्ता मेसिनरी उपकरणको ४० हजार रुपैयाँ, टिपर ३९ हजार रुपैयाँ र मिनीट्रिपरको ३० हजार रुपैयाँ सवारी कर तोकिएको छ ।

गत वर्ष डोजर, एक्साभेटर, लोडर, रोलर र क्रेनजस्ता मेसिनरी उपकरणको ३८ हजार ५ सय रुपैयाँ र मिनिटिपर २७ हजार ५ सय रुपैयाँ कर तोकिएको थियो ।

चालु आवमा थ्री ह्विलर र टेम्पो ६ हजार रुपैयाँ, ट्रेक्टर ५ हजार ५ सय रुपैयाँ, पावर ट्रिलर ४ हजार ५ सय रुपैयाँ, मिनिट्रक/मिनिबस २७ हजार र ट्रक/बस ३५ हजार रुपैयाँ कर तय गरिएको छ ।

गत वर्ष थ्री ह्विलर र टेम्पो ५ हजार ५ सय रुपैयाँ, ट्रयाक्टर ५ हजार रुपैयाँ, पावर टिलर ३ हजार ५ सय रुपैयाँ, मिनिट्रक/मिनिबस २४ हजार ५ सय रुपैयाँ र ट्रक/बस ३३ हजार रुपैयाँ कर निर्धारण गरिएको थियो ।

प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटरको कर पनि बढाएको छ । चालु आवमा प्रदेशले १२५ सीसीसम्म ३ हजार, १२५ सीसीभन्दा माथि १५० सीसीसम्म ५ हजार रुपैयाँ, १५० सीसीभन्दा माथि २२५ सीसीसम्म ६ हजार ५ सय रुपैयाँ, २२५ सीसीभन्दा माथि ४ हजार सीसीसम्म ११ हजार रुपैयाँ, ४ हजार सीसीभन्दा माथि ६५० सीसीसम्म २० हजार रुपैयाँ र ६५० सीसीभन्दा माथि ३० हजार रुपैयाँ वार्षिक कर निर्धारण गरेको छ ।

गत वर्ष प्रदेशले १२५ सीसीसम्म २८ सय रुपैयाँ, १२६ सीसीदेखि १६० सीसीसम्म ४ हजार ५ सय रुपैयाँ, १६१ सीसीदेखि २५० सीसीसम्म ५ हजार ५ सय रुपैयाँ, २५१ सीसीदेखि ४०० सीसीसम्म ९ हजार रुपैयाँ, ४०१ सीसीदेखि ६५० सीसीसम्म २० हजार रुपैयाँ र ६५१ सीसीदेखि माथि ३० हजार रुपैयाँ कर निर्धारण गरिएको थियो ।


क्लिकमान्डु