कार्यबोझ बढेको भन्दै ठूला र मध्यमस्तरीय करदाताको थ्रेसहोल्ड संशोधन तयारी



काठमाडौं । सरकारले ठूला र मध्यमस्तरीय करदाताको थ्रेसहोल्ड परिवर्तन गर्ने तयारी गरेको छ ।

ठूला र मध्यमस्तरीय करदाता कार्यालयमा कार्यबोझ बढेको भन्दै आन्तरिक राजस्व विभागले करदाताको थ्रेसहोल्ड परिवर्तन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुने गरी मन्त्रालयले थ्रेसहोल्ड परिवर्तनको तयारी गरेको हो ।

यसअघि ठूला करदाता कार्यालयको कार्यक्षेत्र अन्तर्गतका करदाताको कारोबार सीमा वार्षिक ८० करोड रुपैयाँभन्दा माथि रहेकोमा अब वार्षिक १ अर्बभन्दा माथिको कारोबार गर्ने करदातामात्र ठूला करदाता कार्यालयअन्तर्गत पर्नेछन् ।

त्यस्तै, मध्यमस्तरीय करदाता कार्यालयअन्तर्गतका कार्यालयको कारोबार सीमा वार्षिक ४० करोड देखि ८० करोड रुपैयाँसम्म रहेकोमा त्यसलाई संशोधन गरी वार्षिक ५० करोडदेखि ९९ करोडसम्म बनाउन लागिएको छ ।

अब आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्रभित्र ५० करोड रुपैयाँसम्मको कारोबार सीमा तोक्नेछ । यसअघि वार्षिक ४० करोड रुपैयाँभन्दा कम कारोबार गर्ने करदाताहरु आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्रभित्र पर्दथे ।

कार्य बोझ घटाउन थ्रेसहोल्ड परिवर्तन
आन्तरिक राजस्व विभागका निर्देशक अर्जुन ढकालकाअनुसार साउनको पहिलो हप्ता नै कारोबारको सीमा हेरेर फाइल ट्रान्सफर शुरु गरिनेछ । थ्रेसहोल्ड परिवर्तन गर्नुको मुख्य कारण करदाता कार्यालयमा बढेको कार्यबोझ रहेको उनले बताए ।

‘ठूला र मध्यमस्तरीय करदाता कार्यालयमा कार्यबोझ (वर्किङ लोड) बढी भएको भनेर गुनासो आइराख्थ्यो । थ्रेसहोल्ड संशोधन भएसँगै दुवै कार्यालयका फाइलहरु घट्नेछन्,’ निर्देशक ढकालले भने, ‘फाइलहरु व्यवस्थापन गर्न सजिलो होस् भनेर थ्रेसहोल्ड बढाउन खोजिएको हो । ठूला करदातामा अब साढे ५ सयदेखि ६ सयको हाराहारीमा फाइलहरु मात्र त्यहाँ रहन्छन् ।’

अहिले ठूला करदाताको संख्या साढे ६ सय बढी छ । ठूला करदाता स्थापना हुने बेला बढीमा ५ सय फाइलहरु हेर्ने गरी संरचना तयार पारिएको भए पनि करदाता बढेसँगै फाइल संख्या पनि बढ्दै गएको र कार्यबोझ बढेको ढकाल बताउँछन् ।

ठूला र मध्यमस्तरीय करदाताहरुलाई आर्थिक वर्ष २०७६/७७ मै ‘लग अफ’ गरी नयाँ ‘लग इन’ गर्ने प्रक्रिया अगाडि बढेको थियो ।

हरेक २ वर्षमा करदाताको कारोबारका आधारमा थ्रेसहोल्ड तोक्ने निर्णय गर्न भन्दै आन्तरिक राजस्व विभागले अर्थमन्त्रालयमा गतवर्ष नै प्रस्ताव फाइल पठाएको थियो ।

अहिले विभागले एउटा ठूलो करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी ८४ वटा कार्यालयमार्फत् सेवा दिँदै आएको छ ।

अर्थमन्त्रालयले तोकेका करदाताको वार्षिक कारोबारका आधारमा ठूला र मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र देशभरी रहन्छ ।


क्लिकमान्डु