बैंकिङ क्षेत्रमा सामाजिक सुरक्षा कोषको आतंकः पूराना कर्मचारीले जागिर छोड्न थाले



काठमाडौं । पछिल्लो समय वित्तीय क्षेत्रमा कर्मचारी राजीनामा बढेको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको विकल्पमा कर्मचारीहरुले राजीनामा दिन थालेका हुन् ।

कोषमा आवद्ध हुँदा कर्मचारी सञ्चय कोषमा जम्मा भएको रकम समेत आफ्नो अधिकार बाहिर हुने आशंकामा उनीहरुले पाउनेसम्मको कर्जा लिन थालेका छन् ।

सामाजिक सुरक्षा कोषले असारभित्रै सबै संगठित क्षेत्रका कर्मचारीलाई आवद्धताको लागि अल्टिमेटम दिइसकेको छ । कोषले आवद्धताको लागि यसरी दबाव सिर्जना गर्न थालेपछि जागिरअवधि सकिन लागेका कर्मचारीले धमाधम राजीनामा दिन थालेका हुन् ।

सरकारले ल्याएको योजनामा बैंकिङ क्षेत्रका कर्मचारी अनिवार्य अवद्धता हुन परे आफ्नो सस्था तथा कर्मचारी सञ्चय कोषमा बर्षौं जम्मा गरेको बचतमा अधिकार हट्ने भन्दै पुराना कर्मचारीहरुले राजीनामा दिन थालेको नेपाल वित्तीय क्षेत्र संस्था कर्मचारी संघका उपाध्यक्ष पर्शुराम खनालले बताए ।

सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले सर्वोच्चमा दर्ता गरेको रिटमा के छ ?

‘अवकाशको समय ३÷४ वर्ष बाँकी रहेका कर्मचारीहरुले राजीनामा दिने क्रम बढेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘केही समयपछि अवकाश हुँदा पाउने बचत कोषमा जाने र सबै सुविधासमेत कटौती हुने कोषको अहिलेको प्रावधानमा पुराना कर्मचारी डराएर राजीनामा दिन थालेका हुन् ।’

राज्यको नियममा सबै नागरिक चल्नु पर्ने भन्दै बैंक व्यवस्थापनलाई कोषले विभिन्न समयमा पत्राचार गरेपछि कर्मचारीहरु त्रसित भइ कोषमा आवद्धताको विकल्पमा राजिनामालाई रोजेको उनको भनाइ छ ।

वित्तीय क्षेत्रका कर्मचारीले कोषमा आवद्धताको लागि भएका समस्या उल्लेख गर्दै ऐन संशोधनको माग गरी आन्दोलन गरिरहेका छन् भने, कोष विरुद्ध सर्वोच्चमा समेत रिट दर्ता गराइसकेका छन् ।

‘पेन्सन होइन, टेन्सन दिने’ सामाजिक सुरक्षा कोषमा यसकारण आवद्ध हुन सकिँदैन

तर, कोष र न्यायिक निकायले कर्मचारीको माग विपरित निर्णय गरेमा वित्तीय क्षेत्रमा ५० प्रतिशत कर्मचारी पलायन हुने उनको भनाइ छ ।

‘कतिपय कर्मचारी भोलीको दिनमा के पर्छ भनेर आजको दिनमै वित्तीइ क्षेत्रमा ३५ प्रतिशत कर्मचारीले राजिनामा लेखेर बसेका छन्,’ उनले थपे, ‘यदि भोलिको दिनमा कोषमा स्वेच्छिक आवद्धताको व्यवस्था नभएमा ५० प्रतिशत बढी कर्मचारीले राजीनामा बुझाउने पक्का देखिन्छ ।’

वित्तीय क्षेत्रका कर्मचारीले खाइपाइआएको सुविधा कटौती गरेर कोषमा आवद्धता हुनुभन्दा यो क्षेत्रबाट पलायन हुनुलाई उत्तम मानेको उनको भनाइ छ ।

कर्मचारी सञ्चय कोषबाट पैसा झिक्न बैंकिङ क्षेत्रका बचतकर्ता बढे

सामाजिक सुरक्षा कोषले कर्मचारी सञ्चय कोष, नागरीक लगानी कोष तथा संस्थाले नै सञ्चालन गरेका पेन्सन कोषको रकमलाई समेत स्थान्तरण गर्ने उल्लेख गरेको छ । जसकारणले गर्दा पछिल्लो २ महिना यता यस्ता कोषहरुका बचतर्ताहरुले दायरा अनुसारको कर्जा लिएर आफ्नो बचत घटाउन थालेका कर्मचारी सञ्चय कोषका एक अधिकारीले जानकारी दिए ।

‘कर्मचारी सञ्चय कोषमा बचत गर्ने बचतकर्तामा निषेधाज्ञा खुकुलो भएसँगै कर्जा लिने बचतकर्ता बढेका छन्, तर त्यसमा सबैभन्दा धेरै बैंकका कर्मचारी छन्,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘कोषले आवद्ध हुनै पर्ने अनिवार्य व्यवस्था गरे पछि यता भएको पैसा सामाजिक सुरक्षा कोषमा जान्छ भनेर बचतबाट कर्जा लिन थालेका हुन् ।’

कर्मचारी सञ्चय कोषको बचतकर्ताले जागिरमा हुँदासम्म बचतकोे ८० प्रतिशत कर्जा लिन पाउँछ भने जागिरबाट अवकाश पाएका वा राजीनामा लिएका बचतकर्ताले शत प्रतिशत बचत एकमुष्ट लिन पाउने व्यवस्था छ । पछिल्लो समय बैंकबाट बचतमा दावी गर्न आउनेहरुमा ५ प्रतिशत अवकाश लिएर शत प्रतिशत बचत दावी गर्नेहरु रहेको उनले जानकारी दिए ।

‘बैंकका कर्मचारीहरुले हतपत्त यहाँबाट कर्जा लिदैनन्, सञ्चालनमा रहेका आधा जति वाणिज्य बैंकहरुले मात्रले मात्र यहाँ बचत गर्छन्, तर अहिले २ महिनायता २५ प्रतिशत बढी बैंकका बचतकर्ताले कोषबाट पाउने जति कर्जा लिइसकेका छन्,’ सञ्चय कोषका ती अधिकारीले भने, ‘भोली बचतकर्ता सामाजिक सुरक्षा कोष गएर पैसा पठाउ भनेपनि हाम्रो ऐन अनुसार मिल्दैन, तर बैंक केही कर्मचारीहरु भने डराएर बचतमा दावी गर्न आएका छन् भने केही त राजीनामा दिएर नै आएका छन् ।’

पछिल्लो समय कोषले अल्टिमेटम दिएपछि अनलाईनमार्फत् तथा भौतिक उपस्थीतिमै पनि बैंकका कर्मचारहिरुले कर्जा लिन हतारोमा आवेदन दिइरहेको उनले बताए ।

कोषमा अहिले बचतमा दावी गर्न आउनेमा लक्ष्मी बैंक, सिटिजन्स बैंक, एसीसी बैंक, हिमालयन बैंक, सिभिल बैंक लगायतका कर्मचारी बढी भएको उनले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा जम्मा गर्नेहरुको बचत सर्ने भनेता पनि सञ्चय कोषको ऐन अनुसार सार्न नमिल्ने उनले जानकारी दिए ।


पुष्प दुलाल