वार्षिक अर्बौ रुपैयाँको खाद्यान्न आयात, ५ वर्षमा दोब्बरले बढ्यो



काठमाडौं । नेपाल कृषि प्रदान देश भनिए पनि वार्षिक रुपमा अर्बौ रुपैयाँ खर्चेर खाद्यान्न आयात गर्नु परिरहेको छ । नेपालले उत्पादन गर्ने मुख्य खाद्यान्नमा धान, मकै र गहुँ हुन् । तर, सोही खाद्यान्न वार्षिक रुपमा अर्बौ रुपैयाँको आयात भइरहेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालमा करिब ६० प्रतिशत जनता कृषिमा आबद्ध छन् । तर, उक्त ६० प्रतिशत कृषिमा आबद्ध रहेको जनसंख्याको योगदान २८.२० प्रतिशत मात्रै छ । नेपालमा मुख्यगरी धान, मकै, कोदो, गहुँलगायतका खाद्यान्न उत्पादन भइरहेको छ । तर, उक्त उत्पादन भएका खाद्यान्नले बजार नधान्ने देखिन्छ ।

विगत लामो समयदेखि नै सरकारले नेपालीहरूको मुख्य खाद्यान्न धान, गहुँ, मकैमा आत्मनिर्भर बनाउने धोषणा गर्दै आए पनि वार्षिकरुपमा आयात गर्नेको ग्राफ बढ्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा नेपालले ७३ अर्ब ९४ करोड २४ लाख ३९ हजार रुपैयाँ बराबरको २ अर्ब १७ करोड ३ लाख ३९ हजार केजी खाद्यान्न आयात गरेको छ । उक्त आयातित खाद्यान्न जस्तै धान चामल, मकै, गहुँ रहेको छ । उक्त आयातित खाद्यान्नबाट नेपालले ५ अर्ब २० करोड ४३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

कुन-देशबाट कुन खाद्यान्न आयात
नेपालीले सबैभन्दा बढी नेपालीहरूको मुख्य खाद्यान्नको रुपमा रहेको चामल आयात भएको छ । चालु आवको ११ महिनाको अवधिमा नेपालले ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार रुपैयाँको आयात गरेको छ ।

सोही अवधिमा नेपालले गत वर्ष ३० अर्ब ८२ करोड ५८ लाख रुपैयाँको चामल आयात गरेको थियो । जुन गत वर्षको तुलनामा चालु आवमा ५६.२ प्रतिशतले बढी आयात भएको छ ।

उक्त चामल भारत, अमेरिका र चीनबाट आयात भएको व्यापार तथ निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कले देखाउँदछ । जसमा भारतबाट मात्रै ४७ अर्ब ९४ करोड २१ लाख ५८ हजार, अमेरिकाबाट १५ करोड १८ लाख ६१ हजार, चीनबाट ६ करोड ७१ लाह ३३ हजार रुपैयाँको चामल आयात गरेको छ ।

चालु आवमा गत वर्षको तुलनामा भारतबाट ५७.२ प्रतिशत, अमेरिकाबाट २६०.२ प्रतिशत र चीनबाट ३.३ प्रतिशत बढीले आयात भएको छ ।

त्यस्तै, चालु आवको ११ महिनाको अवधिमा नेपालले १४ अर्ब ४८ करोड ३० लाख ५९ हजार रुपैयाँको मकै आयात गरेको छ । उक्त मकै भारतबाट १३ अर्ब ६८ करोड ८६ लाख ८३ हजारको, अर्जेटिनाबाट ५२ करोड ८२ लाख २२ हजारको र ब्राजिलबाट १८ करोड ४८ लाख २५ हजार रुपैयाँ बराबरको मकै आयात भएको छ ।

चालु आवमा से देशबाट क्रमशः ४७, १२१ र ३६६ प्रतिशतले मकै आयातमा वृद्धि भएको छ । साथै, नेपालले सोही अवधिमा ११ अर्ब २९ करोड ७० लाख ३२ हजार रुपैयाँ बराबर गहुँ आयात गर्दा ११ अर्ब २९ करोड ६८ लाख ९४ हजारको गहुँ भारतबाट आयात भएको छ । जसमा गहुँ आयातमा ६३.४ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँदछ ।

वार्षिक रुपमा बढ्दै आयात
भन्सार विभागको तथ्याङ्क अनुसार वार्षिक रुपमा खाद्यान्नको आयात बढ्दै गएको देखाउँदछ । वार्षिक रुपमा आयात बढ्दै गएको खाद्यान्नमा कृषि विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । कृषि विज्ञ केदार बुढाथोकीले नेपालमा उत्पादन, उत्पाकत्व कम तर खपत भने उच्च रहेकाले आयात बढेको बताए । उनका अनुसार पछिल्लो समय देशभरका सबै स्थानीय तहमा सडकको सुविधा भएकाले खेती गर्न छोडेको र चामलतर्फ आकर्षित हुँदा आयात बढेको बताए ।

‘विगतको दिनमा सडक नपुग्दा आफ्नो जग्गा जमिनमा खेती उत्पादन गरेर खाने प्रचलन थियो । तर, अहिले सडक पुग्ने वित्तिकै खेती गर्न छोडेको हुनाले कमै, गहुँ तथा कोदोको आयात बढेको देखिन्छ,’ उनले भने ।

साथै, पछिल्लो समय मकै, गहुँ तथा कोदो सबैभन्दा बढी आयात हुनुको मुख्य कारण व्यवसायीक जनावरको फार्म रहेको उनको भनाइ छ । विगतको दिनमा उत्पादन भएका खाद्यान्न मानिसले उपभोग गर्थे भने अहिले खेती गर्नुको सट्टा कुखुरा पालन, बंगुर पालन, बाख्रा पालनजस्ता व्यवसायले गर्दा पनि मकैं, गहुँको बढी प्रयोग गर्ने भएकाले आयात बढेको उनले जिकिर गरे ।

यस्तै, वार्षिक रुपमा बढ्दै गएको खाद्यान्न आयातले आगामी दिनमा संकट निम्त्याउने उनले बताए । उनका अनुसार पछिल्लो समय विगतको तुलनामा अत्यधिक रुपमा खाद्यान्न आयात भएकाले आगामी दिनमा ठूलो संकट निम्त्याउने जनाउँदै सरकारले कृषिमा जोड दिनुपर्ने सुझाए ।

‘सरकारले हालसम्म आत्मनिर्भर हुने घोषणा गरे पनि उत्पादकत्व बढाउने प्रविधि भित्रिएको छैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘सरकारले कृषिमा लगानी गरेको देखिन्छ । तर, सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको छैन ।’

यसले गर्दा सरकारले विशेष ध्यान दिई कृषिमा जोड दिई आत्मनिर्भर हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, कृषिविज्ञ कृष्ण पौडेलका अनुसार नेपालले उत्पादन कम गर्ने र आयातमा भर परेकाले आयात वृद्धि हुँदै गएको बताए । पछिल्लो समय खेती नगरी व्यवसायीकतर्फ आकर्षित हुँदा परम्परागत रुपमा गर्दै आएको खेतीको विस्थापन भएको उनी बताउँछन् ।

‘अहिले खेती गरेर भन्दा आयात गरेको खाद्यान्न सस्तोमा खरिद गर्न पाइन्छ । तर, आफ्नो जग्गामा खेती गर्दा खाद्यान्न खरिद गर्ने मूल्यको तुलनामा दोब्बर पर्न जान्छ,’ उनले भने, ‘त्यसैले सस्तोमा खरिद गर्न पाउँदा पाउँदै कसले दुख गरेर खेती गर्छ भन्ने प्रवृत्ति मौलाएको छ । यसले गर्दा आयातमै भर परेको देखिन्छ ।’

त्यसैगरी, नेपालमा दिनप्रति दिन आयातमा भर पर्दै गएको प्रवृत्ति हटाउनको लागि सरकारले किसानलाई सहुलियत प्रदान गर्नुपर्ने सुझाउँछन् ।

यसका साथै, किसानलाई प्रोत्साहन गर्ने, उत्पादन गरेको खाद्यान्नको व्यवस्थापन तथा बजारीकरणमा सरकारले सहज बनाएमा आयात कम हुने उनको भनाइ छ । त्यस्तै सरकारले अनुदान दिएर मात्रै नभएर उत्पादन गरेको खाद्यान्न बिक्री गर्न नसकेको अवस्थामा सरकारले न्यूनतम मूल्यमा खरिद गर्ने जिम्मेवारी लिनुपर्ने उनले जिकिर गरे ।

पाँच वर्षमा आयात दोब्बर
नेपालले करिब पाँच वर्षको अवधिमा दोब्बरले आयात बढेको छ । करिब पाँच वर्षको अवधिमा नेपालले ३४ अर्ब २० करोड ८४ लाख ९६ हजार रुपैयाँले खाद्यान्न आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालले ३९ अर्ब ७३ करोड ३९ लाख ४३ हजारको १ अर्ब ५ करोड ८१ लाख ६६ हजार केजी खाद्यान्न आयात गरेको थियो । त्यस्तै आव २०७४/७५ मा ४४ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ बराबरको १ अर्ब ३४ करोड ५९ लाख ३३ हजार केजी, आव २०७५/७६ मा ५१ अर्ब ३४ करोड ८७ लाख १५ हजार रुपैयाँ बराबरको १ अर्ब ३८ करोड ६४ लाख ५३ हजार केजी, आव २०७६/७७ मा ५६ अर्ब ३१ करोड २० लाख ६८ हजार रुपैयाँ बराबरको १ अर्ब ४७ करोड ५५ लाख ८९ हजार केजी र चालु आवको जेठ मसान्तसम्ममा ७३ अर्ब ९४ करोड २४ लाख ३९ हजार रुपैयाँ बराबरको २ अर्ब १७ करोड ३ लाख ३९ हजार केजी खाद्यान्न आयात गरेको छ ।


क्लिकमान्डु