कति सस्तो पर्छ तामाकोशीको विजुली ? सेयरधनीले पाउलान् त प्रतिफल ?



C

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनाको पहिलो यूनिट सोमबारदेखि प्रणालीमा जोडिदैछ ।

सो आयोजनाले कूल ४५६ मेगावाट बिजुली उत्पादन गर्नेछ । सो आयोजनाबाट उत्पादित बिजुली कून दरमा नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको होला भन्ने आम जिज्ञासा रहेको छ ।

देशभित्र निर्माण भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो, माथिल्लो तामाकोशी । त्यो पनि स्वदेशी लगानीमा । निर्माण शुरु भएको ११ वर्षपछि सकिन लागेको आयोजनाको शुरुवाती लागतको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ ।

यति हुँदा पनि आयोजनाको बिजुली अन्य आयोजनाको तुलनामा सस्तो रहेको छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पटक–पटक माथिल्लो तामाकोशीको बिजुली अन्य आयोजनाका तुलनामा सस्तो रहेको बताउँदै आएका थिए ।

मुलुकको विद्युत् प्रणालीको स्थायित्व र विश्वसनीयता बढाउने आयोजनाका रुपमा समेत तामाकोशीलाई लिन सकिन्छ । नेपाली काँग्रेसका दिवंगद नेता भीमबहादुर तामाङले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मनाएर सो आयोजना अगाडि बढेको थियो ।

जानकारहरुका अनुसार स्वदेशी लगानीमा नै यति ठूलो परियोजना बनाउन सकिदैन भन्ने तत्कालिन अर्थमन्त्री डा रामशरण महतको मत रहेको थियो । तर, सादगी नेता भीमबहादुरले आग्रह गरेका कारण गिरिजाप्रसाद कोइरालाले सरकारको तर्फबाट एउटा उपहारका रुपमा माथिल्लो तामाकोशी दोलखालीलाई दिएका थिए ।

जीवनभर सादगी रहेरै अस्ताएका भीमबहादुर तामाङ गिरिजाप्रसादले ‘लौ अब अगाडि बढ्छ आयोजना’ भनेको दिन असाध्यै खुसी भएका थिए । किनकी, आयोजना दोलखालीको हितका लागि मात्रै थिएन, समग्र नेपालीका लागि नै थियो । ठूला आयोजना नभएको तथा स्वदेशको विद्युत् प्रणालीलाई विश्वसनीय बनाउन पनि माथिल्लो तामाकोशी एउटा उदाहरण बन्न सक्थ्यो । जुन पटक–पटक कुलमान घिसिङले उल्लेख गर्दै आएका थिए ।

आयोजना सञ्चालन हुने अवस्थामा आइपुग्दा भीमबहादुर वितेको पनि लामै समय भएको छ । झण्डै रुग्ण भएको आयोजनालाई गति दिन कुलमान समेत प्राधिकरणकोे जिम्मेवारीबाट हटिसकेका छन् । तर, उनीहरुको सपना साकार हुने अवस्थामा पुगेको छ ।

प्राधिकरणको लागि मुनाफा कमाइदिने एकदमै राम्रो आयोजनाको रूपमा तामाकोशी रहनेछ । किनकी बिजुली उत्पादन तथा कमाईका हिसाबले पनि तामाकोशी एउटा त्यस्तो आयोजना हो, जसले नपालको आवश्यकतालाई पनि सम्बोधन गर्न सक्छ ।

प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए)अनुसार विद्युतको दर औसतमा ४.०६ रुपैयाँ रहेको छ । त्यसमा हिउँदे यामका चार महिना प्रतियुनिट ६.९६ रुपैयाँ र अन्य ८ महिनाका लागि प्रतियुनिट ३.६३ रुपैयाँ कायम गरिएको छ ।

त्यसपछिका ९ वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले वृद्धि हुनेछ । ९ वर्षमा प्रति युनिट खरिददर औसतमा ५.३० रुपैयाँ हुनेछ ।

सो समयमा पुग्दा हिउँदयामका ४ महिनामा प्रतियुनिट ९.०८ रुपैयाँ र अन्य ८ महिनाका लागि प्रतियुनिट ४.७३ रुपैयाँ हुनेछ ।

सम्झौताअनुसार उक्त खरिददर खिम्ती सब–स्टेसनको २२० केभी वसवारमा लिने विद्युत्को हो । पूर्वकार्यकारी निर्देशक घिसिङका अनुसार यो खरिददर अहिलेसम्मकै सबैभन्दा सस्तो हो ।

प्राधिकरणको प्रणालीबाट विद्युत् ग्राहकको घरसम्म पुग्दा करिब १५ प्रतिशत विद्युत् चुहावट हुन्छ भन्ने अनुमान गरिएको छ । यस आधारमा ग्राहकको मिटरमा पुग्दाको खरिददर व्यापारिक उत्पादनको पहिलो वर्ष प्रतियुनिट औसत ४.७८ रुपैयाँ र नवौं वर्षमा प्रतियुनिट औसत ६.२४ रुपैयाँ पु्ग्ने अनुमान गरिएको छ ।

हाल प्राधिकरणले ग्राहकलाई बेच्ने विजुलीको मूल्य प्रतियुनिट ९.५० रुपैयाँदेखि १० रुपैयाँसम्म रहेको छ । माथिल्लो तामाकोशीको विद्युत् शतप्रतिशत देशभित्रै बिक्री गर्न सकेमा यसबाट मात्र वार्षिक करिब १० अर्ब रुपैयाँ थप मुनाफा गर्न सक्ने देखिन्छ ।

प्राधिकरणले सबैभन्दा बढी विद्युत् बिक्रीबाट फाइदा गर्ने देखिन्छ । यस्तै आयोजनामा प्राधिकरणको ४१ प्रतिशत सेयर रहेकाले पनि त्यसबाट लाभांश पनि पाउनेछ । त्यसबाट झनै मुनाफा प्राप्त गर्नेछ ।

माथिल्लो तामाकोशी जोडिने समाचारले धितोपत्र बजारमा सो कम्पनीको सेयर मूल्यमा तीव्र उतारचढाव देखिन्छ । तर, सो आयोजनाबाट सेयरधनीले राम्रै मुनाफा पाउन भने अझै केही समय कुर्नुपर्ने देखिन्छ ।

आयोजनाले झण्डै २१ मेगावाट क्षमताको रोल्वालिङ खोला आयोजना निर्माण गर्ने तयारी गरेको छ । रोल्वालिङको पानी माथिल्लो तामाकोशीको बाँधमा झार्ने योजना छ ।

रोल्वालिङ आयोजनाको बिस्तृत अध्ययन भइसकेको छ । सो आयोजनाको टेण्डर प्रक्रिया समेत अगाडि बढिसकेको बताइन्छ । सो आयोजना बनेपछि माथिल्लो तामाकोशीको बिजुली उत्पादन वर्षा र हिउँदमा उस्तै-उस्तै हुने भएकाले आम्दानी समेत उस्तै हुनेछ । आम्दानी बढेपछि सेयरधनीलाई पनि लाभ प्राप्त हुनेछ ।


क्लिकमान्डु