राजनीतिसँगै कृषि पेशामा अनेरास्ववियूको पूर्वनेता



काठमाडौं । राजनीतिमा संलग्न भएकाले व्यापार व्यवसाय गर्नुहुँदैन र चन्दा मात्रै उठाएर खानुपर्छ भन्ने मान्यता छ । नेपालमा मात्रै नभई दक्षिण एशियामा नै यस खालको प्रवृत्ति व्याप्त रहेको छ । सामाजिक चरित्र पनि यस्तै खालको छ ।

अर्थराजनीतिक दृष्टिकोणबाट हेर्दा पनि यस क्षेत्रमा त्यस्तो मान्यतालाई सामान्य रुपमा नै लिइन्छ । राजनीतिलाई नै कमाई खाने भाडो बनाउने वा त्यही नै पेशा हो भन्ने विकृत प्रवृत्तिले जरा गाडेको छ ।

राजनीति विशुद्ध समाजसेवा हो । यसलाई पेशा व्यवसाय बनाउन मिल्दैन । सिद्धान्ततः र व्यवहारतः पनि राजनीति समाजलाई डोर्याउने विशुद्ध सामाजिक कर्म हो । तर, राजनीतिलाई नै पेशा व्यवसाय बनाउनेहरुको भीडमा एकाध राजनीतिज्ञले आफूलाई फरक रुपमा प्रस्तुत गरेका छन् ।

नेपाली समाजमा राजनीति गर्नेलाई हेर्ने दृष्टिकोण राम्रो छैन । राजनीतिकर्मी देख्ने बित्तिकै भ्रष्टाचारी आयो भनिन्छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण पनि यूवामा राजनीति र राजनीतिकर्मी प्रति चरम वितृष्णा जागेको छ ।

यही क्रममा अनेरास्ववियूका पूर्व विद्यार्थी नेता दीपक गौतमले आफूलाई फरक देखाउने प्रयास गरेका छन् ।

उनले काभ्रेको चौरी देउराली गाउँपालिका ४ छेडा मजुवामा वीयोङ कृषि फार्म सञ्चालन गरेका छन् । उनले विसं २०७४ देखि २ करोड रुपैयाँ लगानी गरेर कृषि फार्म सञ्चालनमा ल्याएर राजनीतिसँगै कृषि कर्मलाई अगाडि बढाएका हुन् ।

उनको फार्ममा ब्रार्खा, कुखुरा, भैसी, गाई पालिएका छन् । कृषि फार्मका लागि उनले निजी र लिजमा गरि झण्डै ५ सय रोपनी जग्गा उपयोग गरेका छन् । फार्मले कुल १८ रोपनी जग्गा ओगटेको छ ।

गौतम यसअघि झण्डै दुई दशक विद्यार्थी राजनीतिमा सक्रिय थिए । विद्यार्थी राजनीतिबाट विदा भएपछि राजनीतिक तथा व्यक्तिगत जीवन अघि बढाउन केहि नयाँ गर्ने सोचका साथ कृषि व्यवसायमा लागेको गौतम बताउँछन् ।

‘जीवनको उर्वर २० वर्ष समय विद्यार्थी राजनीतिमा खर्च गरे । अनेरास्ववियूको अध्यक्ष पदमा पराजित भएपछि राजनीतिसँगै अन्य केहि काम गर्नुपर्छ भन्ने सोच विकास भयो,’ गौतमले भने, ‘आफ्नै जन्मथलोमा अरुले भन्दा फरक तरिकाले केहि गर्ने उद्देश्य राखेर कृषि पेशा अंगालेको हो ।’

समाजले कृषिलाई राम्रो नजरले हेर्दैन । यद्यपी, देश कृषिप्रधान छ । राम्रोसँग कृषि व्यवसायमा लाग्ने हो भने २०/३० हजार रुपैयाँ कमाउन खाडी मुलुकमा पसिना बगाउन जानु आवश्यक छैन । तर यूवाको पशुपालनमा रुची छैन । बरु विदेश नै गएर तेस्रो दर्जाको काम गर्न उद्यत् देखिन्छन् । कृषि व्यवसाय आफ्नै परिवारका सदस्यको साथ र सहयोगमा पनि गर्न सकिन्छ ।

यूवामा स्वदेशमै मेहनत गर्ने बानी हराई सकेको छ । आफनै देशमा मेहनत गरेर आफै उत्पादन गर्नुभन्दा पनि दुध, मासु, धान, तरकारीलगायत कृषि उपज किनेर खाने संस्कार विकास भएको छ ।

अझै शिक्षित र राजनीतिक चेत भएका युवा कृषि व्यवसायमा लाग्दैनन् भन्ने सोच समाजमा विकास भएको छ । यसलाई चिर्नका लागि आफू कृषि व्यवसायमा लागेको गौतमको भनाई छ ।

उनले शुरुवाती चरणमा मकवानपुरको हेटौंडाबाट २७ वटा अफ्रिकन बोयर प्रजातीको ब्रार्खा पालना शुरु गरेर कृषि व्यवसायको श्रीगणेश गरेका थिए । त्यस व्यवसायलाई विविधिकरण गर्ने योजना अनुरुप भैंसी, गाई र लोकल कुखुरा पालन शुरु गरे ।

कृषि थप विविधिकरण गर्दै लग्ने सोचमा छन् उनी । त्यसका लागि माछा पाल्ने योजनामा छन् । माछा पालनका लागि उनले १५ फिट चौडाई ६० फिट लम्बाईको एक पोखरी निर्माण गरिसकेका छन् । त्यसमा पहिलो चरणमा २ हजार माछा पालन हुनेछ ।

गत वर्षसम्म लगानीको चरणमै रहेको भएपनि यस वर्षदेखि बिक्री समेत शुरु हुने उनको भनाइ छ । यस वर्षबाट भने आम्दानीको चरण शुरु हुन लागेको भन्दै उनले खुसी व्यक्त गरे । यो वर्ष उनी करिब ४५ लाख रुपैयाँसम्म आम्दानी गर्ने योजनामा छन् ।

हाल ब्राखा बिक्रीका लागि योग्य भएका छन् । उनका अनुसार यो वर्ष करिब ३० लाख रुपैयाँ बराबरको ब्राखा बिक्री हुनेछ । कुखुराबाट १० लाख रुपैयाँका आम्दानी र दुध बिक्रीबाट मासिक १ लाख रुपैयाँ आम्दानी हुन थालेको उनले बताए ।

अहिले उनको फार्ममा १ सय ४७ वटा उन्नत जातका बोयर ब्राखा छन् । उनीसँग २ हजार लोकल कुखुरा छन् । १० वटा भौंसी र गाई छन् । उनले दैनिक ११५ लिटरसम्म दुध बिक्री गर्दै आएका छन् ।

कृषि व्यवसायबाट आम्दानी गर्न धैर्य आवश्यक पर्ने उनी बताउँछन् । कृषिमा गरेका लगानीबाट प्रतिफल लिन केहि समय लाग्छ । शुरुवाती २÷३ वर्ष लगानीमै केन्द्रित हुनुपर्छ । त्यसपछि भने कमाई हुन थाल्ने उनको अनुभव छ ।

उनको फार्ममा प्रत्यक्ष रुपमा १४ जनाले रोजगारी पाएका छन् । उनका बुवा, आमा, श्रीमतीसहित १० जनाले रोजगार पाइरहेका छन् । कामदारलाई उनले १५ हजारदेखि ३० हजार रुपैयाँसम्मको मासिक तलब दिने गरेको बताउँछन् ।

मुलुकलाई आत्मनिर्भर बनाउन पनि कृषि उपजको उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ । ‘पछिल्लो केहि वर्ष नेपालमै उल्लेख्य कृषि उपज उत्पादन नहुँदा खाद्यान्नको अभाव भोग्नु परेको थियो । परनिर्भता हुँदा भारतको नाकाबन्दी र कोभिड प्रकोप बढ्दा नेपालमा कृषि उत्पादनको अभाव रह्यो,’ उनले भने, ‘देशमै प्रयाप्त कृषि उपज उत्पादन भएको थियो भने खाद्यान्नका लागि धेरै दुःख पाउनु पर्दैन थियो ।’

अन्य व्यवसायको तुलनामा कृषि क्षेत्र जोखिम नै हुने उनी स्वीकार गर्छन् । पशुपालनमा रोगको उच्च जोखिम हुन्छ । पशुहरु विरामी हुँदा कस्तो औषधी प्रयोग गर्नुपर्छ भन्ने सामान्य जानकारी राख्नुपर्ने उनको अनुभव छ । स्थानीय तह गठन भएपछि भने औषधी उपचारका लागि सहजता भएको उनले बताए । वडा स्तरमै प्राविधिक छन् । पशुमा केहि समस्या देखिए प्राविधिकै सल्लाह र सुझावमा उपचार हुन्छ । साथै भेटनरी पसलमा पनि विज्ञहरु उपलब्ध हुने भएकाले उपचार गर्न समस्या नभएको उनले बताए ।

होमस्टे सञ्चालन गर्ने योजनामा

व्यवसायलाई थप विविधिकरण गर्ने योजनामा उनी छन् । यसका लागि होमस्टे सञ्चालन गर्ने योजना बनाइरहेका छन् । कोभिड महामारी साम्य भए पछि होमस्टे सञ्चालनमा ल्याउने गरी काम गरिरहेको छन् । यसका लागि उनीसँग उपलब्ध संरचना नै प्रयोग गर्ने योजना छ । होमस्टेमा एक पटकमा १० देखि १५ जनाको समूहलाई सेवा दिन सक्नेगरी व्यवस्थापन गर्न लागिएको छ ।


क्लिकमान्डु