बिहीबारदेखि आन्तरिक हवाई उडान खुल्दै, किन बढ्यो भाडा ?



काठमाडौं । निषेधाज्ञाका कारण बन्द भएको आन्तरिक हवाई उडान असार १७ गते बिहीबारदेखि फेरि शुरु हुँदैछ ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार उडान संख्या ५० प्रतिशत कटौती गरिएको छ । जसका कारणले विमान कम्पनीलाई कोटा प्रणालीका आधारमा उडान संख्या निर्धारण गरिएको छ ।

आन्तरिक उडान शुरु हुने भए पनि विमान कम्पनीहरुले टिकट बुकिङ शुरु गरिसकेका छन् । तर पछिल्लो समयको तुलनामा टिकटको मूल्य भने केही बढेको देखिएको छ ।

विमान कम्पनीहरुले प्रतिष्पर्धी बजारमा मूल्यलाई सकेसम्म घटाउँदै लगेकोमा अहिले भने सबैले बढाएका छन् । काठमाडौं–पोखरा उडानका लागि १५/१६ सयसम्म टिकट बिक्री गरेका विमान कम्पनीहरुले यतिबेला सबैभन्दा सस्तो टिकट २९ सय रुपैयाँ तोकेका छन् ।

त्यसैगरी भैरहवालगायतका गन्तव्यका लागि २ हजारदेखि २५ सय रुपैयाँसम्म टिकट बिक्री गरेका कम्पनीहरुले यतिबेला सबैभन्दा सस्तो ४२ सय रुपैयाँमा टिकट बिक्री गरिरहेका छन् ।

टिकटको मूल्य किन बढाइयो त भन्ने प्रश्नमा बुध्द एयरका बजार तथा बिक्री निर्देशक रुपेश जोशीले यसका पछाडि दुई वटा कारण रहेको बताए ।

‘पहिलो त उडान संख्यामा कटौती भएको छ । जसले गर्दा खर्च धान्न पनि भाडा महंगो भएको हो भने यसबीच नेपाल आयल निगमले तीन पटकसम्म तेलको मूल्य बढाएकाले टिकटको मूल्य बढेको हो’ उनले भने ।

त्यसैगरी पहिले बुध्द एयरले विभिन्न ६ प्रकारका टिकट बिक्री गर्दै आएकोमा अहिले तीन प्रकारका मात्रै टिकट बिक्री गरिरहेको जोशीको भनाइ छ ।

त्यसैगरी यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले टिकटको मूल्य नबढाइएको दावी गरे ।

‘पहिले धेरै प्रकारका भाडा तोकिन्थ्यो, यसपटक २÷३ वटा मात्रै फेयर छ, जसमा अति न्यून र अति बढी मूल्य तोकिएको छैन, जसका कारण भाडा महंगो जस्तो देखिएको हो,’ उनले भने ।

उनका अनुसार भाडा नबढाएको बरु सस्तो फेयरको टिकट बिक्री नगरेकाले महंगो महसुस भएको हुन सक्ने उनको भनाइ छ ।

मापदण्ड कडा पारिने
सरकारले आन्तरिक उडान शुरु गर्ने निर्णय गरेसँगै कोरोना महामारीबाट जोगिनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड कडा पारिने तयारी गरेको छ । सरकारले गत वर्ष कोरोनाको महामारीका बीच आन्तरिक हवाई उडान शुरु गर्दा यात्रुले अनिवार्य रुपमा फारम भर्नुपर्ने व्यवस्था फेरि अनिवार्य गरिने भएको छ । यसअघि बीचमा केही समय फारम भर्ने व्यवस्था अनिवार्य गरिएको थिएन ।

यात्रुहरुले विमानस्थलमा जानुभन्दा अघि नै सीसीएमसीको वेवसाइटमा गएर यात्रा गर्नुअघि नै फारम भर्न सक्नेछन् ।

कुन एयरलाइन्सलाई कति कोटा ?
नागरिक उड्ययन प्राधिकरणका अनुसार दैनिक ६५ वटा उडान हुनेछन् । जसमा सबैभन्दा धेरै बुध्द एयरले ३१ वटा, यति एयरलाइन्सले १५ वटा उडान गर्न पाउनेछन् । त्यसैगरी श्री एयरलाइन्सले ७ वटा र सौर्य एयरलाइन्सले ३ वटा उडानको कोटा पाएका छन् ।

साथै तारा एयर, सीता एयर र नेपाल एयरलाइन्सले स्टोल रुटमा ३÷३ वटा उडान गर्न पाउनेछन् ।


क्लिकमान्डु