१० मेगावाटभन्दा साना ३५ जलविद्युत् आयोजनाले एक वर्षसम्मका लागि पुनरकर्जा पाउने



काठमाडौं । समस्यामा परेका जलविद्युत् आयोजनाले पुनरकर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि संसोधन गर्दै कोभिडका कारण संकटमा परेका १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाले २० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने व्यवस्था गरेको हो ।

यस्तो पुनरकर्जा बढीमा एक वर्षका लागि हुनेछ ।

यस अघिसम्म राष्ट्र बैंकले जलविद्युत आयोजनालाई कोभिड प्रभावित क्षेत्रमा वर्गीकरण गरेको थिएन । कार्यविधिको दोस्रो संशोधन गरी प्रभावित जलविद्युत् आयोजनालाई कोभिडबाट अति प्रभावित क्षेत्रमा केन्द्रीय बैंकले वर्गीकरण गरेको छ ।

निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलबिद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको सिफारिसमा समस्या ग्रस्त जलविद्युत् आयोजना पुनरकर्जा सुविधा दिइने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘समितिको प्रतिवेदनमा हालसम्म दश मेगावाटभन्दा साना ३५ वटा आयोजनाहरु कोभिडले गर्दा समस्यामा परेको देखिएको छ’ उनले क्लिकमाण्डूसँग भने, ‘ती जलविद्युत् आयोजनालाई बढीमा एक वर्षको लागि ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा दिइन्छ ।’

कोभिडका कारण समस्यामा परेर विद्युत् उत्पादन तथा वितरण गर्न नसकि दैनिक प्रशासनिक खर्च धान्न नसकेका ३५ वटा आयोजनाहरुको पहिचान जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले देखाएको हुँदा ती आयोजनाहरुलाई २० लाख रुपैयाँसम्म विषेश पुनरकर्जाको व्यवस्था गरिएको उनको भनाइ छ ।


क्लिकमान्डु