अन्तशुल्क खारेज तथा भन्सार महसुल घट्दा विद्युतीय गाडीमा आकर्षण, नयाँ गाडी आउँदै



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तशुल्क पूर्ण रुपमा हटाउनुका साथै भन्सार महशुल पनि घटाइएको छ ।

आर्थिक अध्यादेश २०७८ मार्फत अन्तःशुल्क खारेज र भन्सार महशुलसमेत घटेपछि व्यवसायीहरु विद्युतीय सवारी बिक्रेता उत्साहित देखिएका छन् । नयाँ बजेटको प्रभाव स्वरुप विद्युतीय सवारीको मूल्य घटेसँगै बिक्री बढ्ने व्यवसायीहरुको विश्वास छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा अर्थमन्त्री युवराज खतिवडाले अन्तशुल्क र भन्सार शुल्कको रेट बढाएका थिए । आर्थिक वर्ष २०७६/७७ सम्म विद्युतीय सवारीसाधनमा अन्तःशुल्क लाग्दैन थियो ।

सार्वजनिक सवारीसाधनमा १ प्रतिशत र निजीमा १० प्रतिशत भन्सार लग्ने गरेको थियो । त्यसमा ४ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्थ्यो ।

तर, खतिवडाले खतिवडाले भन्सार दर ८० प्रतिशत र अन्तःशुल्क ४० प्रतिशत लिने व्यवस्था गरेका थिए । यसले गर्दा विद्युतीय सवारीको मूल्य आकाशिएको थियो । महँगो मूल्यका कारण विद्युतीय सवारी चढ्न चहाने उपभोक्ता अन्यन्त्र मोडिनुका साथै आफ्नो योजनालाई केहि समय थाति राख्न पुगेका थिए ।

आगामी वर्षको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पैडेलले १ सय किलोवाट क्षमताको विद्युती सवारी आयात गर्दा १० प्रतिशत भन्सार, १ सयदेखि २ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेका छन् ।

साथै २ सयदेखि ३ सयसम्म ३० प्रतिशत भन्सार लगाइने छ । ३ सय किलोेवाटभन्दा माथिका मोटर जडित विद्युतीय सवारीमा ४० प्रतिशत भन्सार शुल्क लिइनेछ । नयाँ व्यवस्थाले विद्युतीय गाडी प्रति उपभोक्ताको आकर्षण बढेको देखिन्छ ।

आर्थिक अध्यादेश २०७८ मार्फत अन्तःशुल्क खारेज र भन्सार महशुल घटेसँगै उपभोक्ता पनि विद्युतीय गाडी खरिदका लागि उत्साहित देखिएको एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सका प्रबन्धक निर्देशक सचिन अर्याल बताउँछन् ।

पारामाउन्डले नेपालमा विद्युतीय एमजी इजेडएस बिक्री गर्दै आइरहेको छ । बजेटले मूल्य घटाएसँगै एमजी इजेडएसमा उपभोक्ताको चासो बढेको पाइएको अर्यालले बताए ।

‘बजेट वक्तव्य पछि एमजी इजेडएसको बारेमा बुझ्न चहाने ग्राहक सय भन्दा धेरै भइसकेका छन्,’ अर्यालले भने, ‘आर्थिक वर्ष २०७७/७८ को बजेटबाट विद्युतीय गाडीको अन्तशुल्क र भन्सार महसुल बढाइएकाले ग्राहकको रुचि घटेको थियो ।’

सरकारी नयाँ नीतिका कारण विद्युतीय गाडीमा थप आकर्षण बढ्नेमा अर्याल आशावादी देखिन्छन् । मूल्य बढेकाले चालु आवमा कम्पनीले २५ वटा मात्र गाडी आयात गरेको छ । अहिलेको परिस्थितिलाई मूल्यांकन गर्दा बुकिङ बढ्ने सम्भावना रहेको उनको भनाई छ । ग्राहकको बुकिङको आधारमा विद्युतीय गाडीको आयात गरिने कम्पनीको योजना छ ।

चालु आवमा बढाइएको विद्युतीय सवारी माथिको भन्सार तथा अन्तशुल्क आगामी आवको बजेट मार्फत घटाइनु सकारात्मक भएको नाडा अटोमोवाइल्स् एसोशिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् ।

‘अटोमोवाइल्स् क्षेत्रमा सरकारको नीति प्रष्ट छैन, व्यापार व्यवसायमा राज्यको नीतिले ठूलो प्रभाव पर्छ,’ अध्यक्ष दुलालले भने, ‘भन्सार तथा अन्तशुल्क बढ्दा विद्युतीय सवारीको आयात घटेको हो ।’

यस्तो व्यवस्थाले गर्दा राज्यले लक्ष्य अनुसारको राजश्व उठाउन सकेन र उपभोक्ताको पनि विद्युतीय गाडी चड्ने चहान पुरा हुन सकेन । राज्यले गलत नीति अवलम्बन गर्न लक्ष्य अनुसारको राजश्वक प्राप्त गर्न सकेन भने अर्कोतर्फ विद्युतीय सवारी चढ्न चहानेको चहाना पुरा हुन सकेन ।

विद्युतीय सवारीसाधन वातावरणीय प्रभाव कम गर्नुका साथै नेपालका लागि आर्थिक रुपले पनि फाइदाजनक रहने दुलालको विश्वास छ । विद्युतबाट सञ्चालन हुने भएकाले विद्युतीय सवारी भनिएको हो ।
विद्युतीय गाडी सञ्चालनका लागि आवश्यक पर्ने ऊर्जा नेपालमै उत्पादन हुन्छ । जैविक इन्धन नेपालमा उत्पादन हुँदैन । यो विदेशबाट आयात गर्ने हो । इन्धन आयातमा मात्रै नेपालको खर्बौ रुपैयाँ बाहिरिने गरेको छ ।

पछिल्लो समय ठूला लगानी तथा ठूला क्षमताको जलविद्युत परियोजना निर्माण हुने क्रमका साथै निर्माण सम्पन्न हुने चरणमा छन् । अब नेपाल विद्युतमा आत्मनिर्भर हुनका साथै माग भन्दा आपूत्र्ति धेरै हुने आवस्था हुनेछ ।

विद्युतको खपत बढाउन अहिलेबाटै पहलकारी कदम चालिएन भने भोलिका दिनमा उत्पादिन विद्युत उपयोग नभई खेर जाने उच्च जोखिम हुने उनको दाबी छ । यसका लागि विद्युतीय सवारीको अधिकतम प्रयोग र घरायसी प्रयोजनमा पनि विद्युतीय उपकरणको प्रयोग बढाउनु पर्नेमा उनको जोड छ ।

आगामी आर्थिक वर्षको बजेटले विद्युतीय सवारीका साथै विद्युतीय उपकरणको आयातमा पनि कर घटाएको छ ।

साथै विद्युतीय सवारी उत्पादन गर्नेलाई जग्गा तथा कर छुट दिइने बताइएको छ । आगामी दिनमा विद्युतीय सवारी प्रति सरकार कठोर नबनेमा उनी आशाबादी देखिन्छन् ।

महिन्द्राले नेपालमा विद्युती गाडीमा ई२ओ प्लस, ईभिटारो र ईसुप्रो बिक्री गर्दै आएको थियो । मुल्य बढेका कारण कम्पनीले हाल ईभिटारो मात्र बिक्री गर्दै आएको छ । ईभिटारको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

ग्राहकको माग अनुसार नयाँ गाडी आयात भएमा मूल्य समायोजन हुने अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारी बताउँछन् । चालु आवमा कम्पनीले ३० वटा मात्र विद्युतीय गाडी आयात गरेको छ । बजारको माग र निषेधाज्ञा हटेसँगै कम्पनीले थप विद्युतीय गाडी ल्याउन पहल गर्ने उनले बताए ।

निषेधाज्ञाका कारण बजेटअघि र पछि विद्युतीय गाडीको बारेमा बुझ्न चहाने ग्राहक संख्या समान रहेको उनले बताए । निषेधाज्ञा अन्त्य भएपछि यो संख्या बढ्नेमा भण्डारी आशावादी देखिन्छन् ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटलले विद्युतीय गाडीमा हुन्डाई कोना र आयोनिक बिक्री गर्दै आएको थियो । आर्थिक वर्षमा २०७६/७७ सम्म कम्पनीले १ सयभन्दा धेरै विद्युतीय गाडी बिक्री गरेको थियो ।

तर, चालु आवमा कम्पनीले जम्मा ३० वटा मात्र विद्युतीय गाडी आयात गरेको छ । साथै आर्थिक अध्यादेश मार्फत विद्युतीय गाडीको भन्सार महशुल र अन्तशुल्क खारे भएसँगै कम्पनीले मूल्य समायोज गरिसकेको छ ।

बजेटअघि कोना १५० किलोवाटको मूल्य ९४ लाख ९६ हजार थियो । अहिले त्यो घटेर ७१ लाख ९६ हजारमा पुगेको छ ।

कोना १०० किलोवाटको मूल्य ७६ लाख ९६ हजार र आयोनिक १०० किलोवाटको मूल्य ७७ लाख ९६ हजार थियो । कोना १०० किलोवाटको मूल्य ५६ लाख ९६ हजार र आयोनिकको मूल्य ५७ लाख ९६ हजार रुपैयाँमा झरेको छ ।

नेपालका लागि कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल प्रालिले चालु आवमा एउटा पनि विद्युतीय गाडी आयात गरेको छैन ।

नयाँ विद्युतीय गाडी आउँदै

कर घटेसँगै निशानले पनि विद्युतीय गाडी ल्याउने तयारी अघि बढाएको छ । निशानले विद्युतीय निशान लिफ नेपाल ल्याउने योजना अघि बढाएकोे छ । निशान लिफ सन् २०१० मा जापानमा सार्वजनिक भएको थियो ।

नेपालमा टाटाको लागि आधिकारिक वितरक सिप्रदी टेड्रिङले चालु आवमै इभी नेक्सन ल्याउने योजना बनाएको थियो । तर मूल्य बढेका कारण कम्पनीले सो योजना स्थगित गरेको थियो । अब भने कम्पनीले इभी नेक्सन ल्याउने तयारीमा पुन जुटेको छ ।

विशाल ग्रुपले चिनियाँ कम्पनी ग्रेटवालका विद्युतीय गाडी ल्याउने योजना बनाएको छ । विशाल ग्रुपअन्तर्गतको भिजी इम्पेक्स प्रालि ग्रेटवाल मोटर्सको नेपालको लागि आधिकारिक वितरक नियुक्त भइसकेको छ ।

भिजी इम्पेक्सले ग्रेटवाल र हावल ब्रान्डका गाडी नेपाल भित्र्याउने तयारीमा जुटेको छ । नेपालमा हुन्डाई, बीवाईडी, महिन्द्रा, एमजी, दिगो लगायत कम्पनीले विद्युतीय गाडी बिक्री गर्दै आएका छन् ।


पुष्प दुलाल