ट्रायल पास गर्नेलाई अब दुई थरी लाइसेन्स, शुरुमा प्रोभिजनल र एक वर्षपछि स्मार्ट लाइसेन्स



काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २ प्रकारको हुने भएको छ । ट्रायल पास गरेको एक वर्षको अवधिका लागि प्रोभिजनल (परीक्षणकाल) लाइसेन्स र परीक्षणकाल उत्तीर्ण भए मात्र स्मार्ट लाइसेन्स दिइने व्यवस्था यातायात व्यवस्था विभागले गर्न लागेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा ट्रायल पास गरेको शुरुको एक वर्षका लागि परीक्षणकालमा रहने गरी दिइने भन्ने व्यवस्था छ ।

कानूनमा भएको व्यवस्थालाई कडाइका साथ पालना गर्न चालकलाई २ प्रकारको लाइसेन्स दिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।

परीक्षणकालको एक वर्षको अवधिमा चालकले ५ पटक ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स खारेज हुने घिमिरेले बताए । चालकले नियम उल्लंघन गरेको डाटा ट्राफिक र यातायात व्यवस्था विभागसँग उपलब्ध छैन ।

स्मार्ट कार्ड प्वाल पार्न मिल्दैन । तर प्रोभिजनल लाइसेन्स प्वाल पार्न मिल्छ । ट्राफिक तथा विभागले लाइसेन्समा परेको प्वालको आधारमा चालकले कति पटक नियम उल्लंघन गरेको भन्ने विवरण थाहा पाउँछन् ।

एक वर्षको परीक्षणकाल अवधिमा ५ पटकभन्दा कम नियम उल्लंघन गर्नेलाई भने स्मार्ट लाइसेन्स दिइनेछ । सडकमा सवारीसाधन गुडाउन योग्य व्यक्तिलाई चालक अनुमति पत्र दिइने हो । नेपालमा विभागले तोकेको मापदण्ड पूरा गरे लाइसेन्स प्राप्त हुन्छ । २÷४ दिन मज्जाले ट्रायल सेन्टरमा सिकेको आधारमा लाइसेन्स लिन सकिन्छ ।

त्यहाँ सिकेको भरमा चालकले सडकमा ट्राफिक नियमपूर्वक सवारी चलाउँछन् भन्ने सुनिश्चित हुन सक्दैनन् । नयाँ लाइसेन्स लिने चालकले लापरबाही गरेर सवारी सञ्चालन पनि गर्दै आएका छन् । यसले गर्दा दुर्घटना बढी रहेको छ ।

नयाँ लाइसेन्स प्राप्त गर्नेलाई ट्राफिक नियम उल्लंघन गर्दा लाइसेन्स खारेज हुन्छ भन्ने ज्ञान दिन एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिन लागिएको उनको दावी छ ।

विभागले २०७८ जेठबाटै परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको थियो । तर निषेधाज्ञाका कारण योजना अनुसार अघि बढ्न नसकेको उनले बताए ।

निषेधाज्ञा खुकुलो भएमा साउन १ गतेबाट पीभीसी कार्डबाट निर्मित लाइसेन्स वितरण शुरु गर्ने विभागको योजना छ । पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा बार कोर्ड हुन्छ । उक्त बारकोडमा स्मार्ट लाइसेन्समा रहेको चिपमा जस्तै सवारी चालकको सम्पूर्ण विवरण हुन्छ ।

२०७२ सालदेखि स्मार्ट लाइसेन्स वितरण हुन थालेदेखि विभागले माग अनुसारको आपूत्र्ति दिन सकेको छ । हाल पनि ३ लाखको हाराहारीमा स्मार्ट लाइसेन्सको माग छ । नयाँ चालकलाई एक वर्षको अवधिका लागि परीक्षणकालीन लाइसेन्स वितरण गर्दा स्मार्ट लाइसेन्स सहज रुपमा वितरण गर्न सकिने विभागको अनुमान छ ।


क्लिकमान्डु