पेनस्टकको बिर्कोबाट पानी चुहिए पनि धमाधम मेकानिकल परीक्षण गर्दै माथिल्लो तामाकोशी



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी चुहिने समस्या सामान्य रुपमा कायमै भएपनि विद्युत् गृहका उपकरणको परीक्षण सफल भएको छ ।

आयोजनाका सम्वद्ध अधिकारीका अनुसार सुरुङको मेनहोलमा समस्या देखिएको भएपनि पहिलो टर्बाइनको परीक्षण सफल भएको छ । यो बहुप्रतिक्षित आयोजना हो ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनामा ६ वटा यूनिट छन् । त्यसमध्येको पहिलो यूनिटको सफल परीक्षण भएको हो ।

आयोजनाका अनुसार पेनस्टक पाइपको बिर्कोबाट पानी चुहिने समस्या समाधान भएको छैन ।

तर, त्यसलाई क्रमशः मर्मत् गर्ने योजनाका साथ उपकरण परीक्षणलाई निरन्तरता दिइएको हो । तर पेनस्टकको बिर्कोमा समस्या आएको खण्डमा के गर्ने भन्ने बारेमा भने केही बताइएको छैन ।

आयोजनाले मेकानिकल परीक्षण गरिरहेको छ । त्यसमा सुरुङबाट आएको पानीको प्रयोग गरेर उपकरणको परीक्षण गरिन्छ ।

पहिलो यूनिटको सफल परीक्षणपछि आयोजनाबाट ७६ मेगावाट बिजुली उत्पादन हुने अवस्था सबल भएर गएको छ । झण्डै २ वर्ष पहिले जडान भएका उपकरणको अवस्था के छ, ती उपकरणबाट बिजुली उतपादन हुनसक्छ कि सक्दैन भनेर मिहिन तरिकाले परीक्षण गरिएको हो ।

आयोजनाले क्रमशः ६ वटै यूनिटको परीक्षण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ । सबै काम सकिएपछि कुन कुन स्थानमा के कस्तो खालको समस्या आउँछ, भन्ने बारेमा पत्ता लाग्ने र समाधानका लागि समेत सहज हुने जनाएको छ ।

आयोजनाले बुधबारदेखि दोस्रो यूनिटको टर्बाइनको परीक्षण थालेको छ । सुरुङबाट पानी आएकाले सबै उपकरणको परीक्षण सम्पन्न गरेर अन्य समस्याको निरुपण गरिने जनाइएको छ ।

हाल उत्पादन हुने कुनै पनि बिजुली प्रसारण लाइनमा जोडिदैन । तयो केवल परीक्षण मात्रै हो । किनकी, उपकरणको अवस्था पत्ता लगाउन मात्रै यस्तै, परीक्षण गरिन्छ ।

आगामी असारको दोस्रो सातासम्म ३ वटा यूनिटबाट २२८ मेगावाट बिजुली उत्पादन गर्ने गरी काम भइरहेको छ । कुनै समस्या नआएको खण्डमा सो समयभित्र बिजुली उत्पादन हुन सक्ने बताइएको छ ।

तर, सरकारी स्तरबाट दिइएको दबावका कारण आयोजनाको काममा समेत समस्या आएको छ । नियमित रुपमा काम गर्ने भन्दा पनि दबाबमा काम गर्नुपर्दा केही समस्या देखिएको आयोजनाका अधिकारीको भनाइ छ ।

कूल ३५ अर्ब लागतमा शुरु भएको आयोजना अमेरिकी डलरमा भएको मूल्यवृद्धि, प्राकृतिक प्रकोपलगायतका कारणले झण्डै ८० अर्बको हाराहारी पुगेको छ ।

आयोजनाले वार्षिक ९ अर्ब बराबरको आम्दानी गर्ने छ । यस आधारमा लागत नै उठाउन समेत ८.८ वर्ष लाग्नेछ ।

आगामी आर्थिक वर्षको बजेटमा क्षमता घटाएर २२८ मेगावाट मात्रै राखिएकामा भने चौतर्फी गुनासो आइरहेको छ । ऊर्जा मन्त्रालयले भने ३ यूनिटको मात्रै हिसाब पठाइएकाले २२८ मेगावाट मात्रै बजेटमा राखिएको जनाएको छ ।


क्लिकमान्डु