१ खर्बको निर्यात लक्ष्य पूरा गर्न आयातित भटमासको भर, ३८ अर्बको आयात ३५ अर्बको निर्यात



काठमाडौं । करिब डेढ वर्षअघिको निर्यात मूल्यलाई १ खर्ब पुर्याउने लक्ष्य चालु आर्थिक वर्षको १० महिनाको अवधिमा पूरा भएको छ । तर, करिब डेढ दशकअघिको निर्यात मूल्यलाई १ खर्ब पुर्याउन आयातित भटमासको भर पर्नु परेको छ । मुलुकमा उत्पादित वस्तु मात्रै निर्यात हुनुपर्नेमा आयातित भटमासकाे  हिस्सा ठूलो छ ।

चालु आवको १० महिनाको अवधिमा निर्यात मूल्य १ खर्ब पुग्दा  करिब ७०९ प्रकारका वस्तु तथा सेवा निर्यात भएका छन् । उक्त निर्यातित वस्तु तथा सेवामध्ये सबैभन्दा बढी अर्थात् करिब ३३ प्रतिशत भटमासको तेल मात्रै निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

तथ्याङ्क अनुसार करिब ६७ प्रतिशत ७ सय ८ प्रकारका वस्तु तथा सेवा निर्यात भएको छ भने बाँकी ३३ प्रतिशत भटमासको तेल निर्यात भएको छ ।

यद्यपि नेपालबाट सबैभन्दा बढी निर्यात हुँदै आएको भटमासको तेल आयात पनि उच्च छ । नेपालमा आयातमा पनि उच्च रहेको भटमासकोे तेल नेपालबाट प्रशोधन भई भारततर्फ निर्यात हुने गर्दछ ।

चालु आवको १० महिनाको अवधिमा ३८ अर्बको भटमासको तेल आयात भएमध्ये ३५ अर्बको भट्मासको तेल भारततर्फ मात्रै निकासी भएको छ । यसले गर्दा निर्यातित मूल्यलाई १ खर्ब पुर्याउने भटमासको तेल उद्योगको ठूलो हात रहेको व्यवसायीहरू बताउँछन् ।

आयात गरिएको भटमासको तेल खपतभन्दा निर्यात बढी !

तर, तेस्रो मुलुकबाट भटमासको तेला आयात गरेर निर्यात गर्दै आएको भटमासको तेलले आगामी दिनमा पनि सो परिमाणमै निर्यात गर्न सकिन्छ त भन्ने अर्को प्रश्न खडा छ ।

विगतको दिनमा पाम आयल उच्च रुपमा निर्यात हुँदै आएकोमा भारत सरकारले बारम्बार प्रश्न गर्दै प्रतिबन्ध लगाएको छ । उक्त तेलको सट्टामा अहिले भटमासको तेल निर्यात हुँदै आएको छ । त्यसैले आगामी दिनमा अहिले निर्यात हुँदै आएको परिमाणमा भारतले आगामी दिनमा माग गर्छन् वा गर्दैनन् भन्ने अर्को अन्यौलता छाएको छ ।

नेपालमा भटमास तेल तेस्रो मुलुकबाट आयात हुँदै आएको छ । नेपालबाट उत्पादन भई बाहिर निर्यात भएका अधिकांश वस्तु तथा सेवाको कच्चा पदार्थ तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ । यसले गर्दा बाहिरीबाट कच्चा पदार्थ आयात गरेर नेपाल आत्मनिर्भर हुन नसक्ने निर्यात व्यवसायीहरू बताउँछन् ।

नेपाल निर्यात व्यवसायी संघका उपाध्यक्ष एवं गार्मेन्ट एशोसियसन अफ नेपालका अध्यक्ष चण्डीप्रसाद अर्यालले लामो समयपछि निर्यात मूल्य १ खर्ब पुगेको सकारात्मक रहेको बताए ।

त्यसमा अधिकांश हिस्सा भटमासको तेलले ओगटेको हुनाले नेपालमा भएका साना उद्योगहरूले उत्पादित वस्तु तथा सेवाको हिस्सा निकै थोरै रहेको उनको भनाइ छ । तर, बाहिरबाट आयात गरेर निर्यात उल्लेख्यरुपमा निर्यात गर्न पनि सकारात्मक लिनुपर्ने उनको भनाइ छ ।

‘नेपालले भटमासको तेल आयात गर्दा नेपालको लागत कति छ, उक्त आयातित तेलबाट सरकारलाई कति राजश्व प्राप्त भयो, कतिले रोजगारी पाए र कति व्यवसायी सो व्यवसायबाट आश्रित भएका छन् त्यसलाई हिसाब गरेर नियाल्नु आवश्यक छ,’ उनले भने ।

उनले आयात गरेर पनि निर्यात गर्नु सकारात्मक रहेको बताउँदै यदि आयातित वस्तुबाट निर्यात गर्दा पनि नेपाललाई अत्यधिक नाफा रहेमा थप सहज बनाउनुपर्ने बताए ।

व्यवसायीहरूको मुख्य उद्देश्य भनेको नै धेरैभन्दा धेरै रोजगारी पाओस् र सरकारलाई नाफा होस् भन्ने हुन्छ । त्यसैले आयातित वस्तुबाट निर्यात गर्नका लागि रोजगारी र सरकारलाई फाइदा हुन्छ भने सकारात्मक तवरबाट लिनुपर्ने उनको बुझाइ छ । साथै, कच्चा पदार्थका कारण विभिन्न समस्या झेल्दै आएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

नेपालमा उत्पादितमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको कार्पेट, अलैंची, चिया, हस्तकला, पस्मिना, गार्मेन्ट, धागोेलगायत अन्य वस्तु तथा सेवाको हिस्सा निकै थोरै छ । जति पनि वस्तु तथा सेवा उत्पादन गरेर नेपालले निर्यात गर्दै आएका छन् । उक्त वस्तुहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै उत्पादन हुँदैन तबसम्म व्यवसायीहरूले सोचेजस्तो निर्यात गर्न नसक्ने उपाध्यक्ष अर्यालको भनाइ छ ।

पछिल्लो समय साना उद्योगहरूले उत्पादन गरेको वस्तु तथा सेवा कोरोनाले गर्दा निर्यातमा गिरावट आएको बताए । त्यसैगरी, चालु आवका अधिकांश वस्तु तथा सेवाको मूल्यमा निकै फरक रहेको र डलरको मूल्यले पनि निर्यात मूल्यलाई निकै प्रभाव पारेको उनको बुझाइ छ ।

१ खर्ब बढी निर्यात कायम गर्न उद्योगीहरूले उत्पादन बढाउँदै
सरकारले २०६४ सालमा पहिलो पटक निर्यात मूल्यलाई १ खर्ब पुर्याउने लक्ष्य लिएको थियो । तर, लामो समयको प्रयासपश्चात सो लक्ष्य पूरा भएको छ । यस्तै यो वर्ष निर्यात मूल्य १ खर्ब बढी पुगेकाले आगामी दिनमा सो कायम गर्नका लागि उद्योगीहरू तथा व्यवसायीहरूले उत्पादन बढाउनेमा जोड दिएको बताएका छन् ।

निर्यात व्यवसायी संघका उपाध्यक्ष अर्यालका अनुसार निर्यात मूल्यलाई १ खर्ब बढी पुर्याउनका लागि आवश्यक कच्चा पदार्थको लागि स्वदेशमै उद्योग खोलेर आपूर्ति गर्न सकेमा धेरैभन्दा धेरै निर्यात गर्न सक्ने बताए ।

‘नेपालका व्यवसायीले निर्यात धेरैभन्दा धेरै गर्नुपर्ने उद्देश्यका साथ उत्पादन तथा उद्योग बढाउँदै आएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि झन उत्पादन बढाइ धेरैभन्दा धेरै उत्पादन गर्नको लागि उद्योग तथा जनशक्ति बढाउँदै गएका छौं ।’

तर, सरकार भने नेपालमै उत्पादन गरी आत्मनिर्भर बनौं र निर्यात गरौं भन्नेमा केन्द्रित नहुँदा व्यवसायीहरू मारमा परेको बताए । साथै, चालु आवमा पनि अनुमान गरेभन्दा बढी निर्यात गर्ने अवस्था थियो । कोरानाले गर्दा विभिन्न देशमा निर्यात हुँदै आएको वस्तु तथा सेवा नेपालमै थन्किएको उनको भनाइ छ ।


क्लिकमान्डु