बन्दाबन्दीले बढायो इन्टरनेटको व्यापार, कोरोनाको १ वर्षमा ४५ लाख प्रयोगकर्ता थपिए



काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ता बढेका छन् । कोरोना महामारी नियन्त्रण गर्न सरकारले लकडाउन र निषेधाज्ञा लगाउँदा इन्टरनेटका प्रयोगकर्ता झनै बढेका हुन् ।

२०७६ फागुन देखि २०७७ फागुनको अवधिमा इन्टरनेट प्रयोगकर्ता करिब २१ प्रतिशतले वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७७ फागुनसम्मको एमआईएस (म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार इन्टरनेट प्रयोगकर्ता २ करोड ६३ लाख ५६ हजार ५ पुगेका छन् ।

एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ता ४५ लाख ३ हजार ६६७ ले बढेको हो । २०७६ फागुनमा इन्टरनेट प्रयोगकर्ता २ करोड १८ लाख ५२ हजार ३३८ थिए ।

नेपाल सबैभन्दा धेरैले मोबाइलबाट इन्टरनेट चलाउने गरिन्छ । कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७३ प्रतिशतले मोबाइल, २६ प्रतिशतले फिक्ड तार सहितको र १ प्रतिशत फिक्ड तारबिना इन्टरनेट प्रयोग गर्ने गर्छन् ।

मोबाइलबाट इन्टरनेट चलाउने २०७७ फागुनसम्म २ करोड ७ लाख ५४ हजार ४९२ पुगेका छन् । २०७६ फागुन १ करोड ७६ लाख ९२ हजार ८७५ ले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने । एक वर्षअघि मोबाइल इन्टरनेटको बजार हिस्सा ७६ प्रतिशत थियो ।

करोनाका कारण घोषणा भएको बन्दाबन्दीको समयमा आइएसपीले बजार हिस्सा बढाएको छ । २०७६ फागुनसम्म आईएसपीको बजार हिस्सा २४ प्रतिशत थियो । एक वर्षको अवधिमा आइएसपीले बजार हिस्सा ३ प्रतिशत विन्दुले बढाएको छ ।

एक वर्षअघि आईएसपीका ग्राहक ४१ लाख ५९ हजार ४६३ थिए अहिले त्यो बढेर ५६ लाख २ हजार ५१३ पुगेको छ । २०७६ फागुनको तुलनमा २०७७ फागुनमा आईएसपीका उपभोक्ता १४ लाख ३१ हजार २८१ ले बढेको छ ।

२०७६ फागुनमा १० लाख ८७ हजार ३१६ स्थानमा आइएसपीको सेवा उलब्ध थियो । अहिले त्यो बढेर १४ लाख ३१ हजार २८१ ले आइएसपी सेवा लिएका छन् । एउटा फिक्स इन्टरनेटमा ४.८८ जनाले सेवा उपयोग गर्छन भन्ने मान्यता छ ।

कोभिडको कारण घरबाटै काम, अनलाइन क्लास तथा समय बिताउन अनलाइन गेम तथा भिडियो स्ट्रिमिङ साइटको प्रयोग बढेको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले बताए ।

‘तोकिएको शुल्क तिरेर फिक्स इन्टरनेटमार्फत् घरका सबै सदस्यले अनलिमिटेड इन्टरनेट प्रयोग गर्न पाउँछन्, घरमै थुनिएर बस्नु पर्दा इन्टरनेट अत्यावश्यक भइसकेको छ,’ अध्यक्ष पराजुलीले क्लिकमाण्डूसँग भने, ‘समय बिताउन तथा अत्यावश्यक काम गर्ने माध्यम इन्टरनेट भएको छ ।’

यसले गर्दा पनि फिक्स इन्टरनेटप्रति उपभोक्ताको आकर्षण देखिएको पराजुली बताउँछन् । निक्षेधाज्ञा जारी भएसँगै इन्टरनेटको प्रयोग २५ देखि ३० प्रतिशतले बढेको छ । उनका अनुसार अहिले दैनिक करिब १ टेराबाइट इन्टरनेट डाटा खपत हुने गरेको छ ।

निषेधाज्ञाको समयमा भौतिकभन्दा पनि अनलाईन क्रियाकलाप बढेकाले इन्टरनेटको प्रयोगकर्ता र खपत बढेको कम्प्युटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष नबराज कुबर बताउँछन् ।

‘महामारीको समयमा इन्टरनेट मानिसको आवश्यकताको रुपमा स्थापित हुन खोजेको छ । निषेधाज्ञाका कारण भौतिक गतिविधि ठप्प छ । अत्यावश्यक खाद्य सामाग्री खरिद गर्न पनि निश्चित समय तोकिएको छ,’ कुबरले भने, ‘यसले झन भिडभाड बढ्न गई संक्रमणको खतरा उच्च रहन्छ । घरबाटै अनलाईन सामान अर्डर गर्ने प्रवित्ति विकास भइरहेको छ ।’

काम, अनलाईन शिक्षा, बैठक, खाद्यय वस्तुको जोहो गर्न पनि इन्टरनेट नै चहिने अवस्था छ ।

त्यसैले पनि इन्टरनेट प्रतिको आकर्षण बढ्नु स्वाभाविक भएको कुबर बताउँछन् । पछिल्लो एक वर्षमा इन्टरनेटको प्रयोग र उपयोग बढे पनि सर्वसाधरणको पहुँचमा अझै पुग्न नसेको उनले बताए ।

दक्षिण एसियाली मुलुकहरु मध्येमा नेपालको इन्टरनेट महँगो छ । सरकारले इन्टरनेटमा दोहोरो कर लगाएको छ । हिमाली तथा मध्यपहाडी जिल्लाका नागरिकसँगै अझै पनि इन्टरनेटको पहुँच छैन ।

सरकारले हरेक पालिका, वडा, स्वास्थ्य केन्द्र विद्यालयमा इन्टरनेट पुर्याउने योजना बनाएको छ । तर, अहिलेसम्म यो कार्यान्वयनमा आउन सकेको छ ।


पुष्प दुलाल