आगामी वर्षको बजेटः विष्णु पौडेलको लेखन तर कार्यान्वयन गर्न पाउलान् त ?



काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् । नयाँ मन्त्रिपरिषद कस्तो हुने भन्ने अड्कलबाजीका बीच सबै मन्त्रालयमा यसअघिकै जिम्मेवारी दोहोर्याइएको छ । ३३औं अर्थमन्त्रीका रुपमा विष्णु प्रसाद पौडेलले जिम्मेवारी सम्होलेका छन् । अर्थमन्त्रीका रूपमा यो उनको तेस्रो कार्यकाल हो ।

अर्थमन्त्री पौडेल बजेट कार्यान्वयनका सवालमा अघिल्ला २ कार्यकालमा  बजेट ल्याएर पनि कार्यान्वयन गर्ने माैका पाएका थिएनन् । यहि प्रवृत्तीको पुनरावृति पुनः दोहोरिनेमा शंका गर्ने पर्याप्त ठाउँहरू छन । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पौडलले बजेट ल्याउने निश्चित भएपनि उनले कार्यान्वयन गर्न पाउँछन् कि पाउँदैनन भन्ने हेर्न बाँकी छ ।

नेपालको २९औं अर्थमन्त्रीका रुपमा पौडेलले २०७२ कात्तिकदेखि २०७३ साउनसम्म पहिलो कार्यकाल सम्हालेका थिए । उनको त्यो कार्यकाल डा. रामशरण महतले ल्याएको बजेट कार्यान्वयन गर्नमा बित्यो । उनले आर्थिक वर्ष २०७३/७४ को बजेट ल्याएपनि त्यसको कार्यान्वयन भने गर्न पाएनन । पौडेलले ल्याएको बजेट कृष्णबहादुर महराले कार्यान्वयन गरे ।

राजनीतिक रस्सारक्सी र खल्बलिएको सत्ता समीकरण कै बीच गतवर्ष असोजमा पौडेलले अर्थमन्त्रीका रुपमा दोस्रोपटक सपथ लिए । प्रधानमन्त्री ओली नेतृत्वकै सरकार भएपनि अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट उनले कार्यान्वयन गरिरहेका छन् ।

संसदमा सबैभन्दा ठूलो दलका हैसियतले नेकपा एमालेले १ महिनाभित्र बहुमत जुटाउने गरी नयाँ सरकार गठन गरेपछि पौडेल तेस्रोपटक अर्थमन्त्री भएका छन् । आगामी आर्थिक वर्षका लागि पौडेलले बजेट ल्याउने पक्कापक्की भएपनि उनले कार्यान्वयन गर्न पाउँछन कि पाउँदैनन त्यो भने हेर्न बाँकी छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल सरकार सञ्चालनमा मात्र होइन पार्टीभित्र पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्रका रुपमा चिनिन्छन । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन बन्नुअघि पौडेल एमालेका उपमहासचिव थिए । तर मन्त्रिपरिषदको बरियतामा पौडेल पाँचौं नम्बरमा छन् ।

अहिलेको सरकारमा उनलाई ईश्वर पोखरेल, रामबहादुर थापा र टोपबहादुर रायमाझी पछि राखिएको छ । तर शासन सञ्चालन र राजनीतिक शक्तिको प्रयोगमा भने सरकारमा प्रधानमन्त्री ओलीपछि शक्तिशाली व्यक्तिका रुपमा पौडेललाई हेर्ने गरिन्छ ।

बजेट निर्माणको चटारोकै बीच पौडेलले पार्टीभित्रको राजनीतिक समीकरण मिलाउन निकै दौडधुप गरे । यहि बीचमा उनले माधव नेपाल पक्षसँगको वार्ताका लागि पनि धेरैपटक छलफल र भेटघाट गरे ।

राष्ट्रिय सभामा खतिवडालाई ल्याएर उनकै कार्यकाल निरन्तरता दिने निर्णय प्रधानमन्त्रीले गर्ने आंकलन गरिएका बेला गतवर्ष राष्ट्रिय सभामा वामदेव गौतमलाई ल्याएर पौडेललाई अर्थमन्त्री दिइयो । लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्दा अर्थमन्त्री पौडेलको भूमिकामाथि प्रश्न गरिएको थियो । बुटवलभन्दा अरु ठाउँमा प्रदेश राजधानी हुनहुन्न भन्ने उनको अडानलाई मन्त्री पद पाएपछि छोडेको भनेर धेरैतिरबाट आलोचना भयो । प्रदेशको राजधानीसँग मन्त्री पद साँटेको भनेर अहिले पनि उनको आलोचना हुने गरेको छ ।

ओलीको अघिल्लो कार्यकालमा पनि पौडेल नै अर्थमन्त्री थिए । अघिल्लो पटक अर्थमन्त्री हुँदा पनि उनले मुलुकको अर्थतन्त्र अत्यन्त खराब भएको अवस्थामै जिम्मेवारी सम्हालेका थिए । भूकम्पपछिको पुनर्निमाण र नयाँ संविधान जारी भएपछि भारतको नाकाबन्दी खेपिरहेको अवस्थामा उनले आर्थिक वर्ष २०७३/७४ को बजेट ल्याए ।

पौडेलले अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको पहिलो वर्ष भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्र धराशायी अवस्थामा पुगेको थियो । आर्थिक वर्ष २०७२/७३ मा नेपालले ०.२ प्रतिशतको मात्र आर्थिक वृद्धि हासिल गर्न सकेको थियो ।


क्लिकमान्डु