हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’ भएपछि नबिल बैंक बिग एक्विजेशनको तयारीमा



काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच भएको यो सम्झौता बैंकिङ क्षेत्रमा ‘बिग मर्जर’ हो ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जिवी नेपालले वाणिज्य बैंकको संख्या घटाउनको लागि ‘बिग मर्जर’को अवधारणा ल्याएका थिए । नेपालको अवधारणा अनुसार ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भए । नेपाल गभर्नरबाट अवकास पाएपनि राष्ट्र बैंकले भने ‘बिग मर्जर’को नीति छाडेका थिएन । पछिल्लो एकवर्षदेखि कोरोना भाइरसको महामारीको कारण केन्द्रिय बैंकले मर्जरमा जानको लागि दवाव मात्र दिएको थिएन ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजेशन नीति ल्याउनु अगाडि नै बैंक तथा वित्तीय संस्थाहरु गाभिने काम सुरु भइसकेको थियो । संख्यात्मक उपस्थिती बढाउने नीतिमा रहेको राष्ट्र बैंकले लाइसेन्स अत्याधिक नै दियो । संख्यात्मक उपस्थितीले वित्तीय पहुँच बढाएपनि गुणात्मक सेवा बढेन भने वित्तीय क्षेत्रमा जोखिमको नीति कायम भयो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनको लागि मर्जर तथा एक्विजेशनको नीति ल्यायो । तर,यसबाट पनि खासै संख्या घटेन । चिरन्जिवी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि चुक्ता पूँजी बढाउने नीति लिए । जसले गर्दा वाणिज्य बैंकको संख्या नघटेपनि विकास बैंक र फाइनान्स कम्पनीको संख्या भने ह्वातै घट्यो । चुक्ता पूँजीको नीतिले भने ३२ वटामा पुगेका वाणिज्य बैंकको संख्या २७ वटामा झर्यो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका संचालकको अनौपचारिक कुरा सुन्दा मर्जर प्रक्रिया रोकिने भने छैन । दुवै बैंकका संचालकहरु मर्जर सकाएपछि एउटा वाणिज्य बैंक नै एक्विजेशन गर्ने तयारीमा छन् ।

‘ठूलो नै हुने भएपछि अर्को संस्थालाई समेत एक्विजेशन गरेर थप ठूलो हुने हाम्रो तयारी हो,’हिमालयन बैंकका एक संचालकले भने । चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार चुक्ता पूँजी २६ अर्ब ९४ करोड रहेको छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो ।

निक्षेप र कर्जामा पनि मर्जरपछि हिमालयन र इन्भेष्टमेन्ट ठूलो हुने छ । निक्षेप ३ खर्ब ११ अर्ब कर्जा २ खर्ब ८७ अर्ब हुने छ । जुन सबैभन्दा ठूलो हो । मर्जरपछि हिमालयन इन्भेष्टमेन्ट बैंकमा करिब २० प्रतिशत सरकारी संस्थाहरुको हुन्छ ।

जसले व्यवसाय बढाउनको लागि हिमालयन इन्भेष्टमेन्टलाई थप सजिलो हुन्छ । यसले चुनौती थप्ने भनेको नबिल बैंकलाई हो । नबिल बैंक र इन्भेष्टमेन्ट बैंक दुवै सुरुमा विदेशी लगानीमा खोलिएका बैंक हुन् ।

जसमा पछि नेपाली लगानीकर्ताहरु प्रवेश गरेका थिए । यद्यपी मर्जर तथा एक्विजेशनले ग्लोबल आइएमई तथा मर्जर तथा आक्रामक शाखाको नीतिले एनआईसी एशिया बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक हुँदै नबिल बैंकलाई जिते । यद्यपी नाफामा र प्रतिफलमा भने अहिलेपनि नबिल बैंक अगाडि छ भने इन्भेष्टमेन्ट स्थान भने पछाडि झरेको थियो ।

व्यवसायमा टिक्न तथा एउटै परिवारको भएको हुँदा जटिलता हुँदापनि हिमालयन र इन्भेष्टमेन्टबीच मर्जर सम्झौता भयो । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हिमालयन बैंकका सेयरधनी तथा संस्थापक सीइओ हुन् । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे पृथ्वीबहादुर पाँडेले नेपाल इन्भेष्मेन्ट किनेपछि हिमालयनबाट इन्भेष्टमेन्ट आएका हुन् । पारिवारिक हिसाबले पाँडे र राणा नातेदार हुन् ।

नबिलको तयारी के छ ?

हकप्रद सेयर समेत जारी नगरेर बलियो स्थितीमा रहेको नबिल बैंकले स्थापनाकालदेखि नीति परिवर्तन गर्यो । चौधरी ग्रुपको लगानी समेत रहेको युनाइटेड फाइनान्सलाई एक्विजेसन नगरेर चलिरहेको नबिल बैंकले बैशाखको दोस्रो साता युनाइटेड फाइनान्सलाई एक्वाएर गर्ने सम्झौता गरेको छ ।

‘नम्बर वान’को ताज जोगाउन नबिल बैंक ‘बिग एक्विजेशन’को अन्तिम तयारीमा, छिट्टै सम्झौता

नबिल बैंकको साधारणसभाले संचालक समितिलाई एक्विजेशन गर्ने अख्तियारी दिएको छ । नबिल बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले क्लिकमाण्डूसँगको कुराकानीमा आफुहरु बिग एक्विजेशनको तयारीमा रहेको बताएका थिए ।

नबिल बैंकले एनबी,गरिमा तथा युनाइटेड फाइनान्ससँग बिग एक्विजेशन गर्ने तयारी गरेको थियो । जसमा गरिमाको विषयको च्याप्टर भने क्लोज भइसकेको छ ।
निक्षेप र कर्जामा नबिल बैंक पहिलो स्थानमा छैन । हिमालयन र इन्भेष्टमेन्टको मर्जरले नाफामा तथा अरु व्यवसायलाई समेत नबिललाई असर गर्छ ।
नबिलले अहिले २ वटा वाणिज्य बैंक एक्विजेशन गर्ने तयारी गरेको छ । वाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्बभन्दा बढी छ । नबिलको तयारी २ वटा वाणिज्य बैंकलाई ४० को स्वाप रेसियोमा एक्विजेशन गर्ने छ । त्यो भएमा करिब १० अर्ब रुपैयाँ नबिल बैंकलाई बोनस सेयर बाँड्नको लागि जगेडामा जान्छ ।

‘नबिल बैंक रिजर्ब बलियो बनाउने गरेर एक्विजेशन गर्न खोजेको छ,कम्तीमा १० अर्ब रुपैयाँ बोनस बाड्न मिल्ने गरेर रिजर्ब ल्याएर एक्विजेशन गर्ने तयारी हो,’एक्विजेशनमा सक्रिय रहेको नबिल बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

यसरी एक्विजेशन गर्दा नबिल बैंकलाई फाइदा बढी छ । मर्जर भन्दा एक्विजेशन बढी सजिलो हुन्छ । अर्को स्वापपछि आउने रकम रिजर्बमा जान्छ । जसबाट सेयरधनीलाई बोनस सेयर बाड्न मिल्छ । नबिलले बैंकले कम्तीमा पनि ४ वर्षसम्म यसरी आउने रकमबाट बोनस सेयर बाड्न मिल्ने रकम पाउँछ । वार्षिक रुपमा ४० प्रतिशतको दरले प्रतिफल दिने गरेर व्यवसाय अगाडि बढाउने तयारी नबिल बैंकको छ ।

एक्विजेशनको लागि प्राविधिक विषयमा काम गरिरहेकाहरु संक्रमित तथा परिवारका सदस्य समेत संक्रमित हुँदा प्रक्रियामा ढिलाई भएको हो, प्रतिस्पर्धामा निकै अगाडि आउने गरेर नबिलले एक्विजेशन गर्छ,’स्रोतले भन्यो ।


क्लिकमान्डु