‘सगरमाथा आरोहीमा कोरोना संक्रमण पुष्टि भएको छैन’



फाइल तस्बिर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यतिबेला बेसक्याम्पमा सयौं मानिसहरु टेन्टमा छन् । आरोही र तिनका सहयोगीसँगै सरकारी तथा निजी क्षेत्रका मानिसहरु पनि जम्मा भएका छन् ।

उनीहरुमध्ये केहीमा कोरोना संक्रमण भएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशित भए पनि त्यो पुष्टि नभएको पाइएको छ ।

पर्यटन विभाग, नेपाल पर्वतारोहण तथा हिमालन रेस्क्यु एसोसिएसनका अधिकारीहरुले समाचारमा प्रकाशित भए जस्ता विवरण पुष्टि नभएको क्लिकमाण्डूलाई बताए ।

हाल पर्वतारोहीसँगै सगरमाथा बेसक्याम्पमा सरकारको सम्पर्क अधिकृतका रुपमा खटिएकी पर्यटन विभागकी निर्देशक मीरा आचार्य सगरमाथा बेसक्याम्पमा कुनै समस्या नहरेको बताइन् ।

‘म सगरमाथाको बेसक्याम्पमा छु । सम्भव भएसम्म हरेक क्याम्पमा गएर हेरेकी छु, यहाँ पर्वतारोहीको संख्या पनि ठूलो छ, तर अहिलेसम्म कोभिडको संक्रमण भएका जानकारी प्राप्त भएको छैन,’ उनले भनिन् ।

उनले सञ्चारमाध्यममा आएको जस्तै कसैलाई कोरोना लागेर फिर्ता भएको जानकारी पुष्टि नभएको बताइन् ।

यता नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा पनि सगरमाथाबाट १७/१८ जना र धौलागिरिबाट ३/४ जना कोरोना संक्रमित भइ फर्केको समाचार सुने पनि आफूले पाएको आधिकारिक जानकारीमा त्यस्तो नभएको बताए ।

‘अहिले ७/८ सय जना जति बेसक्याम्पसमा छन्, तर एक जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भइसकेको छैन,’ उनले भने ।

त्यसैगरी हिमालयन रेक्यू एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र भट्टले हालसम्म आफूले पनि कुनै पुष्टि हुने जानकारी नपाएको बताए ।

‘सगरमाथामा जाँदा हाइ अल्टिच्यूडका कारण केही लक्षणहरु देखिन्छन्, जुन कोरोनाका लक्षण जस्तै हुन्छन्, जसमा टाउको दुख्ने, ज्वरो आउने, खान मन नलाग्ने, सुख्खा खोकी लाग्ने, रुघा लाग्ने जस्ता लक्षण देखिनु स्वभाविक हो,’ उनले भने ।

कसैले त्यस्ता लक्षण देखिँदा कोरोना भयो भनेर हल्ला फैलाएको हुन सक्ने उनले बताए ।

यद्यपि राजधानीका केही अस्पतालमा भने पर्वतारोहणबाट फर्केकाहरुको परीक्षण गर्दा कोभिड देखिएको समाचार पनि बाहिरिएका छन् । जुन अहिलेसम्म पुष्टि भएको छैन ।

यता सेभेन समिटका मिग्मा शेर्पाका अनुसार हाइ अल्टिच्यूडका कारण रुघाखोकी लाग्नु सामान्य हो, कोरोना संक्रमण भएर गम्भीर नभएको बताए । रुघाखोकी लाग्ने वित्तिकै कोरोना हो भनि समाचार आएको उनले बताए ।

कोरोना महामारीको समयमा पनि वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४०८ जनाले सगरमाथा आरोहणको अनुमति पाएका छन् । सरकारले सगरमाथा आरोहणका लागि अनुमति दिएवापत ६६ करोड १३ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु