जलबिरे पुल निर्माण, मुग्लिङ-नारायणघाट २६५ मिटरले छोटियो



इन्जिनियर शिव खनालको फेसबुकबाट

काठमाडौं । मुग्लिङ-नारायणघाट सडक खण्डमा पर्ने जलबिरे पुल निर्माण सम्पन्न भएको छ । जलबिरे पुलको निर्माणसँगै मुग्लिङ-नारायघाट सडकको लम्बाई पनि छोटिएको छ । मुग्लिङ-नारायघाट सडक ३६.३१ किलोमिटरको छ । जलबिरे पुल निर्माण भएसँगै मुग्लिङ-नारायघाट सडकको लम्बाई २६५ मिटरले घटेको मुग्लिङ-नारायणघाट आयोजनाकी सूचना अधिकारी सबिना रानाभाटले जानकारी दिइन् ।

७५ मिटर लामो पुलको बनाउन २०७४ कातिकमा ठेक्का लगाइएको थियो । यो पुल निर्माण गर्न करिब १३ करोड ९० लाख रुपैयाँ खर्च भएको छ । यो पुलको उचाई ३१ मिटर लामो छ । सम्भवत्त सडक विभागले निर्माण गरेको अग्लो पुलमध्येको यो एक पुल हो । ‘अग्लो स्थानमा पुल बनाउन परेकाले निर्माणमा केही ढिलाई भएको थियो । निर्माणका क्रममा देखिएको कठिनाइका कारण पुलको डिजाइन परिवर्तन गर्नु परेको थियो’, रानाभाटले भनिन्, ‘पुल निर्माण सम्पन्न भइसकेको छ ।’ एक साता भित्रै पुलबाट सवारीसाधन गुड्न सक्ने रानाभाटले जानकारी दिइन् ।

११ मिटर चौडा जलबिरे पुलमा ३ वटा स्पान (पिल्लर) छन् । नारायणघाटतर्फ २० मिटर मध्यमागमा ४० मिटर र मुग्लिनतर्फ १५ मिटरको दुरीमा पिल्लर राखिएका छन् । जलबिरे पुलको पिल्लरको काम शुरु गर्दा गत वर्षदेखि लकडाउन शुरु भएको थियो । असहज परिस्थितिमा पनि स्थानीय प्रसाशन, सडक विभागका कर्मचारी र निर्माण व्यवसायीको सहयोगले पुल चालु आव भित्रै निर्माण सम्पन्न गर्न सकिएको छ । मुग्लिङ-नारायणघाट सडक खण्ड भएर दैनिक औषतमा २० हजार सवारीसाधन गुड्ने गछर्न । सडकको दुरी घट्दा सवारीसाधनको लागत खर्च घट्छ । समयमै पुल निर्माण भएकाले यो खण्डमा गुड्ने सवारीसाधनको इन्धन र पाटपूर्जाबाट वार्षिक करोडौं रकम बचत हुने उनीको दाबी छ । मुग्लिङ-नारायणघाट सडक खण्ड २०७५ जेठमा २ लेनमा बिस्तार गरिएको थियो ।

२०७४ सालमा दास दुंगा, खानी, मौरी खोला र जलबिरे पुल निर्माण प्रक्रिया अघि बढाइएको थियो । दास ढुंगा, खानी खोला र मौरी खोला पुल यस अघि नै निर्माण सम्पन्न भई सवारीसाधन सञ्चालनमा आइसकेका छन् । मुग्लिङ-नारायणघाट सडक २ लेनमा विस्तार गर्न अघि यो खण्डमा १८ वटा पुल थिए । पहिलो चरणमा ४ वटा पुलको ठेक्का लगाइएको थियो । पहिलो चरणमा ठेक्का लगाइएका सबै पुल निर्माण सम्पन्न भइसकेका छन् ।

दोस्रो चरणमा आयोजनाले एउटा पुल थपगरी २०७६ चैत १० गते २ वटा प्याकेजमा डिजाइन एण्ड विल्ट मोडलमा निर्माण गर्नेगरी नारायणगढ-मुग्लिङ पुलको ठेक्का लगाइएको छ ।
पहिलो प्याकेजमा मुग्लिङदेखि सीमल तालसम्म ७ वटा र दोस्रो प्याकेजमा सीमल तालदेखि जुगेडीसम्म ८ वटा पुल निर्माण शुरु गरिएको छ । यी दुवै प्याकेजको ठेक्का एएनके कन्स्ट्रक्सलनले प्राप्त गरेको छ ।

पहिलो प्याकेज करिब ६९ करोड र दोस्रो प्याकेजट करिब ५९ करोडमा ठेक्का पाएको हो । दोस्रो प्याकेजमा ३५ प्रतिशत र पहिलो प्याकजेटमा ५ प्रतिशत भौतिक प्रगति छ । हालसम्म करिब २५ प्रतिशत भुक्तानी भएको छ । ३३ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको छ ।

दोस्रो प्याकेजको ८ वटा पूलको डीजाइन स्वीकृत भई निर्माण प्रक्रिया अघि बढि सकेको छ । पहिलो प्याकेजका ७ वटा पुलमध्ये ४ वटाको डिजाइन सम्पन्न भई स्वीकृती लिने क्रममा छ । भने ३ वटा पुल डिजाइनको क्रममै छ ।

१५ पुलमध्ये १२ को चौडाई ११ मिटर हुनेछ । जटिल भौगोलिक अवस्थामा रहेका ३ पुल भने ९ मिटरको हुनेछ । पुराना पुल भने यथास्थितिमै छन् ।

‘पुराना पुल पनि सवारी गुड्न योग्य छन् । पुराने संरचनालाई भत्काएर नयाँ संरचना बनाउँदा सवारी आवागमनमा समस्या हुने थियो’, रानाभाटले भनिन्, ‘नयाँ पुल पुरानैको छेउमा निर्माण भइरहेको छ ।’


क्लिकमान्डु