पर्यटन क्षेत्रका व्यवसायीले पाए सवा १९ अर्ब पुनःकर्जा, सबैभन्दा धेरै बागमती प्रदेशमा



काठमाडौं । पर्यटन क्षेत्रका व्यवसायीले सवा १९ अर्ब रुपैयाँ पुनःकर्जा पाएका छन् । यी क्षेत्रका व्यापारी व्यवसायीले दिएको आवेदनमा चालु आर्थिक वर्षको चैत २० गतेसम्म १९ अर्ब १३ करोड ७३ लाख रुपैयाँ पुनःकर्जा स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

स्वीकृत पुनरकर्जामध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा पर्यटन क्षेत्रमा र सबैभन्दा थोरै कर्णाली प्रदेशका पर्यटन क्षेत्रमा स्वीकृत भएको छ ।

राष्ट्र बैंकका अनुसार हालसम्म १ खर्ब ४४ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत भएको छ । जसमा एकमुष्ट पुनःकर्जा १ खर्ब २ अर्ब रुपैयाँ र ग्राहक ऋणीअनुसार ४२ अर्ब ११ करोड रुपैयाँ स्वीकृत भएको छ ।

एकमुष्ट पुनःकर्जा स्वीकृत भएकोमा १० अर्ब रुपैयाँ लघुवित्त कम्पनीहरुको र बाँकी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमार्फत् माग भएको पुनःकर्जा राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

ग्राहक ऋणीअनुसार स्वीकृत कर्जामध्ये सातै प्रदेशका पर्यटन क्षेत्रमा व्यवसायीको १९ अर्ब १३ करोड ७३ लाख रुपैयाँ कर्जा स्वीकृत भएको हो ।

स्वीकृत कर्जामध्ये पर्यटन क्षेत्रमा व्यवसायी १७ अर्ब रुपैयाँ उपयोग भइसकेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत् एकमुष्ट र ग्राहक ऋणी अनुसार पुनःकर्जाको माग गर्न आवेदन आह्वान गरेको थियो ।

‘ग्राहक ऋणीअनुसार स्वीकृत कर्जामध्ये पर्यटन क्षेत्रमा ऋणीको ४५.४५ प्रतिशत अर्थात् १९ अर्ब १३ करोड ७३ करोड रुपैयाँ स्वीकृत भएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘बैंक तथा वित्त कम्पनीमार्फत् एकमुष्ट जाने पुनरकर्जामा क्षेत्रगत विवरण राष्ट्र बैंकमा प्राप्त हुँदैन ।’

केन्द्रीय बैंकले ग्राहक ऋणीअनुसार वितरण भएको पुनरकर्जाको विवरण मात्र प्रदेश अनुसार क्षेत्रगतरुपमा राख्ने उनको भनाइ छ । पर्यटन क्षेत्रका व्यवसायीको स्वीकृत पुनरकर्जामा सबै कोरोना प्रभावित व्यवसायीको मात्र पुनःकर्जा माग स्वीकृत गरिएको उनले जानकारी दिए ।

राष्ट्र बैंकले पुनरकर्जा कोभिड १९ ले प्रभावित क्षेत्रको वर्णिकरण गरेर सोहीअनुसार वितरण गरेको जानकारी दिएको छ । केन्द्रिय बैंकले वर्गिकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनरकर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुुदानमा उपयोग गर्न पाउँछन् ।

हाल पुनःकर्जाकोषमा ४२ अर्ब ५० करोड रुपैयाँ उपलब्ध छ । राष्ट्र बैंकले कोषमा उपलब्ध रकमभन्दा ५ गुना बढीसम्म अर्थात् २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रयोग गर्न मिल्ने गरी पुनःकर्जा कार्यविधि जारी गरेको छ । जसमध्ये ७० प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई पुनरकर्जा प्रवाह गर्न सक्ने अवस्था रहेको प्रवक्ता ढकालले बताए ।

साथै, पुनःकर्जा कोषबाट २० प्रतिशत अर्थात् ४२ अर्ब ५० करोड रुपैयाँ ग्राहक ऋणीअनुसार र १० प्रतिशत अर्थात् २१ अर्ब २० करोड रुपैयाँ लघुवित्त संस्थालाई छुट्याइएको छ ।

कुन प्रदेशका पर्यटन क्षेत्रका व्यवसायीलाई कति पुनःकर्जा ?

ग्राहक ऋणीअनुसार हालसम्म स्वीकृत पुनःकर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५४.२२ प्रतिशत अर्थात् १२ अर्ब ८३ करोड २ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । जसमध्ये ११ अर्ब ५ करोड ९८ लाख रुपैयाँ यो प्रदेशका पर्यटन व्यवसायीको पुनःकर्जा स्वीकृत भएको हो ।

यसैगरी, लुम्बिनी प्रदेशमा ग्राहक ऋणीअनुसार स्वीकृत कुल कर्जाको १७.१४ प्रतिशत अर्थात् ७ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुनःकर्जा स्वीकृत भएको छ । जसमध्ये ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ पर्यटन क्षेत्रका व्यवसायीको पुनःकर्जा स्वीकृत भएको हो ।

प्रदेश नम्बर १ मा राष्ट्र बैंकका अनुसार ग्राहकऋणी अनुसार स्वीकृत कुल पुनरकर्जाको ११.७५ प्रतिशत अर्थात् ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । जसमध्ये १ अर्ब २० करोड ३६ लाख रुपैयाँ पर्यटन क्षेत्रका व्यवसायीको पुनःकर्जा स्वीकृत भएको हो ।

गण्डकी प्रदेशमा स्वीकृत ग्राहक ऋणीअनुसार कुल पुनःकर्जामध्ये हालसम्म १०.९७ प्रतिशत अर्थात् ४ अर्ब ६२ करोड ११ लाख रुपैयाँ स्वीकृत भएको छ । जसमध्ये २ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ पर्यटन क्षेत्रका व्यवसायीको पुनःकर्जा स्वीकृत भएको हो ।

प्रदेश २ नम्बरमा स्वीकृत ग्राहक ऋणीअनुसार कुल पुनःकर्जामध्ये हालसम्म ४.३५ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड १८ लाख रुपैयाँ स्वीकृत भएको छ । जसमध्ये ४३ करोड ३३ लाख रुपैयाँ पर्यटन क्षेत्रका व्यवसायीको पुनःकर्जा स्वीकृत भएको हो ।

सुदुरपश्चिम प्रदेशमा प्रदेशमा स्वीकृत ग्राहक ऋणीअनुसार कुल पुनरकर्जामध्ये हालसम्म १.३९ प्रतिशत अर्थात् ५८ करोड ५१ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । जसमध्ये २८ करोड ५६ लाख रुपैयाँ पर्यटन क्षेत्रका व्यवसायीको पुनःकर्जा स्वीकृत भएको हो ।

ग्राहकऋणी अनुसार सबैभन्दा थोरै कर्णली प्रदेशमा हालसम्म ०.१८ प्रतिशत अर्थात् ७ करोड ७० लाख रुपैयाँ पुनःकर्जा स्वीकृत भएको छ । जसमध्ये ७ करोड ७० लाख रुपैयाँ पर्यटन क्षेत्रका व्यवसायीको पुनःकर्जा स्वीकृत भएको हो ।


पुष्प दुलाल