चेम्बरले चिनाएका राजेशकाजी राजनीति गर्ने सोचमा: व्यवसाय गर्नेलाई आफुजस्तै नहुन सुझाव



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले चिनाएका व्यवसायी हुन् राजेशकाजी श्रेष्ठ । नेपाल चेम्बर र राजेशकाजी एउटा सिक्काका दुई पाटा भने जस्तै छ ।

नेपालको सबैभन्दा पुरानो व्यवसायी संस्था नेपाल चेम्बर अफ कमर्समा उनले चार कार्यकाल अध्यक्षको रुपमा बिताए ।

आगामी सातादेखि चेम्बरबाट बिदा लिन लागेका राजेशकाजी अब भने चेम्बर अभियानमा सक्रिय नहुने बताउँछन् । चेम्बर भनेको राजेशकाजी र राजेशकाजी भनेको चेम्बर अफ कमर्शजस्तै परिचित छ भन्दा अर्को अर्थ नलाग्ला ।

पारिवारिक व्यवसायमा संलग्न भएका राजेशकाजी श्रेष्ठ २०३६ सालमा चेम्बरको सदस्यता लिएका थिए । त्यो बेला व्यापार गर्नको लागि चेम्बरको सदस्य चाहिने हिसाबले उनको परिवारले नै चेम्बरको सदस्य लिएको थियो । चेम्बरमा आफुलाई सक्रिय बनाउन व्यवसायी सुरेन्द्रवीर मालाकारको योगदान रहेको श्रेष्ठ स्मरण गर्छन् ।

‘चेम्बरमा सक्रियरुपमा लाग्ने मेरो सोच थिएन, सुरेन्द्रको करले सदस्यको रुपमा प्रवेश गरियो महासचिव, उपाध्यक्ष तथा चार कार्यकाल अध्यक्ष बनियो,’ उनले चेम्बरमा आफनो प्रवेश दिन सम्झदै भने ।

विसं. २०४५ मा चेम्बरमा प्रवेश गर्दा संस्था आफैंमा ठूलो भएको हुँदा यसमा जोडिन संकोच लागेको श्रेष्ठको अनुभव छ ।

चेम्बर बाबु बाजे जोडिने संस्थाजस्तो लाग्ने र त्यो बेला आफु बच्चा जस्तो लागेको श्रेष्ठ बताउँछन् ।

श्रेष्ठ सदस्यको रुपमा जोडिँदै गर्दा चेम्बरको चुनावमा निकै कडा प्रतिस्पर्धा हुन्थ्यो । प्रहरीसमेत आएर व्यापारीको झगडा मिलाउनु पथ्र्यो । श्रेष्ठको प्रवेशसँगै चेम्बरमा नेतृत्व चयन निर्विरोध हुन थाल्यो ।

चेम्बरले दिएको परिचयले राजेशकाजीलाई मन्त्रीसमेत बनायो । राजा ज्ञानेन्द्रले शासन व्यवस्था हातमा लिएको बेला उनलाई उद्योग वाणिज्य तथा आपूर्ति सहायक कम्पनीमा नियुक्त गरे ।

राजाले शासन लिएको बेला आफुलाई मन्त्री पदमा नजानेकी भन्ने सोच भएपनि साथीभाइको सुझावको आधारमा मन्त्री बनेको श्रेष्ठ बताउँछन् ।

सधै मन्त्रीसँग माग राख्ने व्यक्ति आफैं मन्त्री बन्दा व्यवसायीका लागि के काम गर्नुभयो भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘कार्पेट आयातकर्तालाई ५ वर्षको मल्टिपल भिसा दिने निर्णय गरियो, अरु पनि छन् व्यवसायीको लागि सम्झने एउटा काम त्यो हो ।

श्रेष्ठको अर्को विशेषता भनेको जनसम्पर्क हो । सामान्य व्यक्तिदेखि लिएर शक्तिशाली नेतासँग उनको राम्रो सम्बन्ध छ । जुन उनलाई चेम्बरले नै दिएको हो । विद्यालयमा हुँदा धेरै साथीभाई बनाउने लक्ष्य राखेका उनले चेम्बरको अध्यक्षका रुपमा अझै विस्तार गर्ने मौका पाए ।

विसं २०५६ मा ३८ वर्षको उमेरमा राजेशकाजी चेम्बरको अध्यक्ष बनेका थिए । त्यो बेला उनले दुई कार्यकाल २०६२ सालसम्म अध्यक्ष ।

राजेशकाजीपछि उनलाई चेम्बरमा ल्याएका सुरेन्द्रवीर मालाकार अध्यक्ष बने । पछिल्लो ६ वर्षदेखि चेम्बरमा राजेशकाजी अध्यक्ष छन् । ३८ वर्षको उमेरमा अध्यक्ष बनेका उनले आफैंले मात्र पद ओगटेको आरोप बेलाबेलामा लाग्छ । तर, त्यसलाई उनी स्विकार गर्दैनन् ।

‘२०६२ सालमा चेम्बरबाट बिदा भएपछि पुनः सक्रिय हुने योजना थिएन,चेम्बरमा विवाद देखियो र व्यवसायीको आग्रहमा आफू पुनः जोडिन आए’ श्रेष्ठले भने ।

दोस्रो जनआन्दोलनपछि २०६२ मा नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्षको निर्वाचन लड्ने प्रस्ताव आएपनि त्यसलाई स्विकार नगरेको श्रेष्ठ बताउँछन् ।

श्रेष्ठले पछिल्लो तीनवर्षे कार्यकालमा धेरैजसो सार्वजनिक कार्यक्रममा उपाध्यक्षहरुलाई पठाउने गरेको बताउँछन् । नेतृत्व हस्तान्तरण अन्तर्गत चेम्बरमा अर्को सातादेखि राजेन्द्र मल्लले नेतृत्व गर्दैछन् । चेम्बरमा नेतृत्व चयन पनि सर्वसम्मत रुपले हुने छ ।

श्रेष्ठको कार्यकालमा नै नेपाल चेम्बर अफ कमर्र्स आफैं संस्थापक भएको नेपाल उद्योग वाणिज्य महासंघबाट बाहिरियो । जिल्ला जिल्लासम्म सञ्जाल विस्तार गर्न सफल भयो । धेरैले यसलाई राजेशकाजीको ठूलो नेता बन्ने लालसाले महासंघबाट चेम्बर बाहिरिएको घटनाका रुपमा लिन्छन् ।

राजेशकाजी स्वयं भने चेम्बर पुरानो संस्था भएको र संघीयताअनुसार प्रदेश अन्तर्गतको सानो संस्थामा नबस्ने सोचले देशभर सञ्जाल विस्तार गरेको बताउँछन् ।

विसं २०५४/५५ मा मूल्य अभिवृद्धि कर(भ्याट)को आन्दोलन हुँदा नै चेम्बरलाई देशभर सञ्जाल विस्तार गर्ने दवाव थियो ।

तर, चेम्बरका अग्रजहरुको धारणाको आधारमा त्यो योजना स्थगित हुन पुग्यो । विसं. २०७२ मा देश संघीयतामा गएपछि भने चेम्बरले महासंघबाट अलग भएर देशभर सञ्जाल विस्तार गर्ने निर्णय लियो । अहिले ६० भन्दा बढी जिल्लामा चेम्बरले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।

आफुजस्तै सक्रिय नहुन सुझाव

चेम्बरमा ४ कार्यकाल अध्यक्ष भएका राजेशकाजीको अनुभवमा व्यवसायीलाई आफुजस्तो चेम्बरजस्ता संस्थामा सक्रिय नहुँन सुझाव दिन्छन् ।

‘चेम्बरमा सक्रिय हुँदा आफ्नो व्यवसाय र परिवारलाई नै ध्यान दिन पाइन, मेरोजस्तो तरिकाले चेम्बरमा अरु सक्रिय नहुँदा राम्रो,’ श्रेष्ठले आफ्नो अनुभवका आधारमा नयाँ व्यवसायीलाई सुझाव दिदै भने ।

चेम्बरजस्ता व्यवसायिक संस्थामा थोरै समयमात्र केन्द्रित गरेको भए व्यवसायलाई बढाउन सकिने अनुभव उनको छ ।

चेम्बरजस्ता संस्थामा सचिवालयलाई बलियो बनाएमा अध्यक्ष तथा पदाधिकारीले कम समय दिएमा पनि संस्थाले राम्रो काम गर्न सक्ने उनको अनुभव छ ।

राजेशकाजीको व्यवसाय अहिले उनका छोराले हेर्छन् । तीन दशक चेम्बरमा र चार कार्यकाल अध्यक्ष भएका श्रेष्ठलाई व्यवसायमा ध्यान दिन नसकेको पछुतो छ । अब चेम्बरबाट निस्केपछि व्यवसायको काममा केन्द्रित हुने उनको योजना छ ।

सोचमा राजनीति कायमै

एक पटक सहायकमन्त्री भएका राजेशकाजीलाई राजनीति गर्ने सोच छ । विभिन्न राजनीतिक दलबाट श्रेष्ठलाई अफर नआएको भने होइन । यद्यपी, राजनीति गर्ने सोच भएपनि त्यो व्यवसायीको लागि जटिल हुने श्रेष्ठ बताउँछन् ।

‘राजनीति गर्ने सोच हुनु नराम्रो होइन तर व्यवसायीको लागि त्यो जटिल हो,’ श्रेष्ठले आफ्नो चिरपरिचित हसिलो मुस्कानका साथ कुराकानीलाई बिट मार्दै भने ।


पुष्प दुलाल