पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको प्रधानमन्त्रीद्वारा घोषणा



काठमाडौं । कृषि तथा पुशुपन्छी विकास मन्त्रालयले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा खाद्यवस्तुहरूको उत्पादनमा तीव्र वृद्धि गर्दै मुलुकलाई आत्मनिर्भर भएको घोषणा गरे ।

साथै, दूध ढुवानीको लागि प्रतिक(लोगो) चिन्हको समुद्घाटन, धुलो दूधको नयाँ प्याकेजको अनावरणको साथै पशुपन्छी तथा मत्स्य विकासका रणनीतिक कार्ययोजनाको लोकार्पण कार्यक्रम पनि भएको छ । त्यस्तै, प्रधानमन्त्रीबाट मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको र दुधमा आत्मनिर्भर उन्मुख रहेको घोषणा भएको छ ।

कार्यक्रममा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्दा देशमा अर्को महात्वपूर्ण उपलब्धि भएको प्रधानमन्त्री ओली बताए । ओलीले अनुसार यस कार्यक्रमले गर्दा एक क्षेत्रमा एक कदम अगाडि बढेको दावी गरे ।

त्यस्तै, प्रधानमन्त्रीले विभिन्न पशुपन्छीजन्य उत्पादनमा ठूलो परिणाममा उत्पादन गरी आत्मनिर्भर मात्रै नभई निर्यात गर्न पनि सक्ने वातावरण निर्माण गर्न सुझाए ।

साथै, मन्त्रालयले पनि यसबारे किसानहरूलाई सहज बनाउनका लागि सोही अनुसार कार्यक्रम अगाडि बढाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनको बिक्री वितरणमा पनि ध्यान दिनुपर्ने र विदेशबाट आयात गरेको वस्तुभन्दा स्वदेशमै उत्पादन भएको वस्तु तथा सेवा खपत गर्नुपर्नेमा जोड दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्यमा अर्यालले पशुपन्छीजन्य उत्पादनमा मात्रै आत्मनिर्भर नभएर आगामी दिनमा अन्य उत्पादनमा पनि क्रमशः विकास गरी मुलुक आत्मनिर्भर भएको घोषण गर्ने बताइन् ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत कृषिले योगदान गरेको जनाउँदै आगामी दिनमा उक्त कुल ग्राहस्थ उत्पादन वृद्धि गर्नको लागि मन्त्रालयले नयाँ खालको सोच, कार्यक्रम तथा योजना अगाडि बढाइरहेको उनले बताइन् ।

मन्त्रालयले अबको बजेट तथा नीति नियममा कृषिमा ५ वर्षको कार्ययोजना बनाई आत्मनिर्भर मात्रै नभई निर्यात समेत गर्न सक्ने वातावरण निर्माण गर्ने उल्लेख गरिन् । जसको लागि परम्परागत रुपमा कार्य नगरी नयाँ प्रविधि, कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने जिकिर गरिन् ।

मन्त्री अर्यालले निर्यात प्रबद्र्धनका लागि वाधक रहेको निश्चित पशुपन्छीका रोगहरु उन्मूलन तथा रोकथामका कार्यक्रममा मन्त्रालयले जोड दिइरहेको र अव निकट भविष्यमा नेपालका पशुपन्छीजन्य उत्पादनहरु निर्वाध विश्व बजारमा पुग्ने प्रतिबद्धता जनाइन् ।

हाल देशमा २३ लाख १ हजार मेट्रिक टन दूध, ५ लाख ४८ हजार मेट्रिक टन मासु, १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मेट्रिक टन माछा उत्पादन भएको मन्त्रालयले जनाएको छ । हालको प्रचलित बजार मूल्यको आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट, १७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैया बराबरको खाद्यबस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको मन्त्रालयले उल्लेख गरे ।

विश्व खाद्य तथा कृषि संगठनले प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध, १४ केजी मासु, ४८ गोटा अण्डा उपभोगका लागि सिफारिस गरेको सन्दर्भमा हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटर दूध, १८.१ केजी मासु र ६१ गोटा अण्डा उपलब्धता हासिल भएको मन्त्रालयले जनाएको छ ।

‘देश सम्पूर्ण रुपमानै रुपान्तरण हुने प्रयासमा छ । सबै नेपालीको एउटै सपना तीव्र गतिमा देशको आर्थिक सामाजिक रुपान्तरण गर्दै केही वर्षभित्रै समृद्ध नेपालका नागरिक बन्ने नै हो । प्रत्येक बर्ष ५ लाखदेखि ६ लाखको हाराहारीमा आयात हुने बाख्रा हाल ९७ प्रतिशतले घटेको छ । राँगा भैसीको आयात विगत २ वर्ष यता शुन्य भएको छ,’ मन्त्रालयका पशुपन्छी सचिव पेम नारायण कँडेलले भने ।

त्यस्तै सचिव कडेंलले औद्योगिकीकरण, बजारीकरणको लागि तथ्य स्वरुप उत्पादनमा जोड दिनुपर्ने बताए ।


क्लिकमान्डु