कमोडिटी मार्केट सञ्चालनको नीतिगत व्यवस्था छिट्टै, न्यूनतम पुँजी १ अर्ब हुनुपर्ने, के हुन्छ फाइदा ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ महिनाभित्रै कमोडिटी मार्केट सञ्चालनका लागि लाइसेन्स वितरणको प्रक्रिया शुरु गर्ने भएको छ । यसअघि २ पटकसम्म कमोडिटी मार्केट सञ्चालनका लागि लाइसेन्स वितरणका प्रक्रिया शुरु भएर रद्द भएको थियो ।

यसपकट भने प्रक्रियालाई अन्तिमरुप दिएर लाइसेन्स वितरण गरी कमोडिटी मार्केट सञ्चालन नै गरिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । जसका लागि हाल बोर्डले नीतिगत र प्रक्रियागत व्यवस्था निर्माणका लागि कमिटि गठन गरेर आवश्यक काम अघि बढाइएकोे उनले जानकारी दिए ।

‘कमोडिटी मार्केट सञ्चालनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था तय गर्न एक महिनाअघि बोर्डका एकजना सञ्चालकको संयोजकत्वमा कमिटी गठन भएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘कमिटीले एक साताभित्रै प्रतिवेदन पेश गर्छ । र, त्यसलाई सञ्चालक समितिमा पेश गरेर तुरुन्तै प्रक्रिया अघि बढाउँछौं ।’

यसअघि ६ वटा कम्पनी लाइसेन्सको प्रक्रियामा थिए । प्रक्रियामा आइसकेपछि आवश्यक प्रक्रिया पूरा गरेर ऐनअनुसार बोर्डले ३० दिन पुर्वस्वीकृति दिनुपर्ने थियो । तर बोर्डले ऐनअनुसारको काम गर्न नसकेको अध्यक्ष ढुंगाना स्वीकार गर्छन् ।

‘यसअघि बोर्डले आफ्नो तर्फबाट गर्नु पर्ने कामहरु गर्न चुकेकै हो, तर लाइसेन्सको प्रत्रियामा आएका कम्पनीहरुले समेत आफ्नो अपडेट गराउन आएको देखिन्न,’ उनले थपे, ‘प्रक्रियामा गएपछि सो कामलाई निरन्तरता दिएर टुंगो लगाउनु पर्यो, बीचमा छोड्यो भने गाह्रो हुन्छ त्यसकारण यसपछि भने शुरु गरेपछि बीचमा नछोडी टुंगो लगाउने हो ।’

पहिलो बोडले आफ्नो तर्फबाट पुरा गर्नु पर्ने कामलाई अन्तिमरुप दिन नसक्दा पुराना निवेदनहरु खारेज भएको उनको भनाइ छ । तर अब पुरानालाई पनि समेट्दै लाइसेन्सको लागि नयाँ आवेदन दिने व्यवस्था गरिने ढुंगानाले जानकारी दिए ।

कसले कति पुँजीमा पाउँछन् लाइसेन्स ?

कमोडिटी मार्केट सञ्चालनका लागि लाइसेन्स लिन बोर्डमा पब्लिक कम्पनी, बैंक, बीमा कम्पनी, निजी कम्पनीहरुका साथै व्यक्तिगत तबरबाट समेत आवेदन दिन सक्नेछन् । लाइसेन्सका लागि आवेदन दिन ऐनमा न्यूनतम ५० करोड रुपैयाँ तोकिए पनि सोको सीमा बढ्ने अध्यक्ष ढुंगानाको भनाइ छ ।

‘५० करोड रुपैयाँले सफ्टवेयर मात्र किन्न पुग्छ,’ उनले थपे, ‘त्यसकारणले गर्दा नीतिगत व्यवस्था गर्दा पुँजी १ अर्ब रुपैयाँभन्दा माथि तोकिएर आउँछ ।’

बोर्डले कमोडिटी मार्केट सञ्चालनका लागि कार्यविधि जारी गर्दा न्यूनतम १ अर्ब र अधिकतम आवश्यकताअनुसार कम्पनीहरुको अनुकुलताअनुसार तोकिने भनाइ छ । कमोडिटी मार्केट सञ्चालनका सम्पुर्ण प्रक्रिया बोर्डले करिब २ महिनाभित्र पूरा गरी लाइसेन्स वितरणका आवेदन खुलाउने सम्भावना रहेको उनले जानकारी दिए ।

कमोडिटी मार्केट भनेको के हो ?

कुनैपनि वस्तु निश्चित मूल्य निर्धारण गरी विनिमय गर्ने प्रक्रियालाई कमोडिटी मार्केट भनिन्छ । कमोडिटी मार्केटमा कृषिउपच, पशुपंछी, धातुमा सुन, चाँदी, तामा आदि कपास, कफी, कच्चा तेललगायत बस्तुको कारोबार हुन्छ । यी वस्तुहरु मूल्य दिनहूँजसो परिवर्तन हुने भएकाले उत्पादनकर्तालाई निश्चित आम्दानी र लगानीकर्ता नाफा सिर्जना गराउने उदेश्यले कमोडिटी मार्केट सञ्चालनमा आएको हो ।

उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले अहिले विश्वको कतिपय मुलुकमा यस्ता वस्तुहरूको व्यवस्थिततवरले स्टक एक्सचेञ्जमार्फत् कारोबार हुन्छ ।

कसरी हुन्छ कारोबार ?

यस्ता बस्तुको मूल्य घटबढ भइरहँदा लगानीकर्तालाई नाफा सिर्जना गराउने तथा यो प्रणालीमा वस्तुहरूको कारोबार करारपत्र बनाइ गरिन्छ । यस्तो करार सूचीकरण गरी कारोबार गर्ने गराउने एक्सचेञ्जहरूलाई कमोडिटीज एक्सचेञ्ज भनिन्छ ।

यसमा वस्तु किन्ने वा बेच्नेहरु दलाल कम्पनीहरुमार्फत् खरितकर्ता र बिक्रेताबीच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी वस्तुको करार गरिन्छ । दलालले नै कारोबारको फास्र्यौट गर्दछ । दलालले वस्तु कारोबारको रकम, वस्तु तोकिएकै समयमा सम्बन्धित पक्षलाई बुझाउनु पर्ने हुन्छ ।

वस्तुहरूको माग र आपूर्तिको आधारमा मूल्य निर्धारण गरी गरिन्छ । यस्तो कमोडिटी मार्केट भौतिक रुपमै बस्तु खरिद वा बिक्री पनि गर्न सकिन्छ ।

फाइदा के ?

कमोडिटी मार्केट सञ्चालनमा आएपछि लगानीकर्तालाई विभिन्न किसिमका डेरिभेटिभ प्रोडक्टहरुको मूल्य निर्धारण र त्यसको घटबढबाट आम्दानी, नाफा/घाटा हुन्छ ।

नेपालमा उत्पादन भएका वस्तुहरु विश्व बजारमा जानुका साथै त्यसबाट मुलकको व्यापार विश्वभर फैलिने बोर्डका अध्यक्षको भनाइ छ । तर यसकालागि मूल्य निर्धाणका आवश्यक प्रक्रिया नेपालले गर्न नसकेको उनले बताए ।

‘अहिलेसम्म नेपालले आफ्नो वस्तुलाई कमोडिटी मार्केटमार्फत् बिक्री गर्न प्राइज फर्मेसन तय गर्न सकेको छैन,’ अध्यक्ष ढुंगानाले थपे, ‘तर अब बोर्डले प्राइज फर्मेसन पनि गर्ने प्रक्रिया गर्छ ।’

कमोडिटी मार्केट सञ्चालनमा आएपछि लगानीकर्तालाई नयाँ लगानीको अवसर सिर्जना हुने, स्वदेशी उत्पादनका मूल्य निर्धारण गर्न सहयोग हुने, व्यापार व्यवसाय बढी रोजगार बढ्ने उनको भनाइ छ ।


पुष्प दुलाल