एमएस बिलेट उत्पादनमा डण्डी उद्योग फोकस, साढे ६ अर्बको लगानीको सर्वोत्तम स्टिलले बिलेट उत्पादन गर्ने



काठमाडौं । निर्माण क्षेत्रको उद्योगमा अग्रणी मानिएको सौरभ ग्रुपको लगानीमा एमएस बिलेट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।

बाराको परवानीपुरमा रहेको उद्योगले बैशाखदेखि व्यवसायिक रुपमा स्टिल र एमएस बिलेटको उत्पादन शुरु गर्नेछ । सौरभ ग्रुपले साढे ६ अर्बको लगानीमा वार्षिक ३ लाख मेट्रिक टन एमएस बिलेट उत्पादन गर्ने जनाएको छ । जसमा १ लाख टन उद्योग आफैले खपत गर्नेछ भने २ लाख टन बिक्री गर्ने छ ।

नेपालमा अहिले केही उद्योग आन्तरिक खपतका लागि मात्र एमएस बिलेट उत्पादन गर्ने गरेपनि सर्वोत्तम स्टिलले स्टिल उद्योगलाई एमएस बिलेट बिक्री गर्ने गरेर उद्योग स्थापना गरेको हो ।

सौरभ ग्रुपका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले नेपालमा अहिलेसम्मकै ठूलो वार्षिकरुपमा ३३ लाख मेट्रिक टन एमएस बिलेट उत्पादन गर्ने उद्योग हुने बताए ।

‘अहिले भारतबाट एमएस बिलेटको आयात भएर फलामे डण्डी आयात हुन्छ, एमएस बिलेटको उत्पादन भएपछि नेपाललाई चाहिने एमएस बिलेटको उत्पादन नेपालमा नै हुन्छ,’ न्यौपानेले क्लिकमाण्डूसँग भने ।

अहिले नेपालमा रहेका स्टिल उद्योगहरुमा सबैभन्दा बढी जगदम्बा स्टिलले एमएस बिलेटको उत्पादन गर्दै आएको थियो ।

गदम्बाले २ लाख मेट्रिक टन, लक्ष्मीले ५० हजार मेट्रिक टन , अम्बेले ५० हजार मेट्रिक टन, अशोक स्टिलले ५० हजार मेट्रिक टन तथा नारायणी स्टिलले ४८ हजार मेट्रिक टन एमएस बिलेटको उत्पादन गर्दै आएका थिए । जसमा जगदम्बाले केही प्रतिशत बिक्री गरेपनि बाँकी एमएस बिलेट आफ्नै उद्योगको लागि खपत गर्ने गरेको थियो ।

सर्वोत्तमले ठूलो लगानीमा एमएस बिलेट उद्योग सञ्चालन गरेपछि अरु उद्योगले एमएस बिलेट लगाउने तयारी थालेका छन् ।

भैरहवा–परासी सडकखण्डमा रहेको श्री स्टिलले पनि आगामी वर्षदेखि एमएस बिलेटको उत्पादन थाल्ने तयारी गरेको छ । श्री स्टिलका प्रवन्ध निर्देशक शोमेश अग्रवाल एसएस बिलेटको उत्पादन थाल्ने तयारी गरेको बताए ।

‘अहिले ६ मेगावाट विजुली उपयोग गरेर फलामे डण्डी उत्पादन गरेका छौं, एमएस बिलेटका लागि कम्तीमा पनि ३० मेगावाट विजुली चाहिन्छ,’ अग्रवालले थपे ।

श्री स्टिलले बिलेट उत्पादनको लागि करिब २ अर्ब लगानी थप्ने योजना बनाएको छ । अन्य स्टिल उद्योग पनि बिस्तारै नेपालमा नै एमएस बिलेटतर्फ आकर्षित हुने क्रम देखिन्छ ।

एमएस बिलेटको उत्पादनको लागि स्पञ्ज आइरन ल्याउनुपर्छ । स्पञ्ज आइरन हेर्दा गिट्टी जस्तो देखिन्छ । यसका लागि चाहिने भने ठूलो परिमाणको विजुली हो । सर्वोत्तम स्टिलले उत्पादन गर्ने एमएस बिलेटका लागि ४२ मेगावाट विजुली चाहिने सौरभ ग्रुपका अध्यक्ष न्यौपाने बताउँछन् ।

‘२५ मेगावाट विजुली उद्योगमा विद्युत् प्राधिकरणले जोडिसकेको छ, थप १७ मेगावाट विजुली जोड्न बाँकी छ,’ न्यौपानले क्लिकमाण्डूसँग भने ।

नेपालमा पनि फलाम खानीको सम्भावना छ । सरकारले सरकारले पूर्वीनवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड नै गठन गरेको छ ।

नेपालमा अहिले वार्षिक ७० अर्बभन्दा बढीको एमएस बिलेट आयात हुने गरेको छ । एमएस बिलेट उत्पादन गर्नका लागि स्पञ्ज आइरनको आवश्यक्ता पर्छ । स्पञ्ज आइरनको आयात गरेर एमएस बिलेट बनाउँदा ७० प्रतिशतभन्दा बढी आयात घटाउन सकिने सर्वोत्तम स्टिलका अध्यक्ष न्यौपाने बताउँछन् ।

‘बिलेट बनाएर डण्डी बनाउदा १० प्रतिशत भ्यालुएड हुने, स्पञ्ज आइरन आयात गरेर एमएस बिलेट बनाउदा ५० प्रतिशत भ्यालु एड हुन्छ,’ न्यौपानले भने ।

यसबाहेक बिलेट उद्योगले विजुलीको खपत बढी गर्छ । जुन नेपालका लागि नै फाइदाजनक हुन्छ ।

एमएस बिलेटले फलामे डण्डीभन्दा १० गुणा बढी विजुली खपत गर्छ भने यसबाट हुने रोजगारी समेत बढी सिर्जना हुन्छ । सर्वोत्तम स्टिलमा नै साढे ६ सय जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । अप्रत्यक्ष रुपमा ४ सयजनाले रोजगारी पाउने छन् ।


क्लिकमान्डु