कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै सांसदहरुको आपत्ति, कसले के भने ?



काठमाडौं । सरकारले अध्यादेशमार्फत कृषि क्षेत्रमा विदेशी लगानी भित्राउन लागेको भन्दै सांसद र सरोकारवालाले आपत्ति जनाएका छन् ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद तथा सरोकारवालाले कृषिमा वैदेशिक लगानी भित्राउन सरकारले अध्यादेशको साहारा लिन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा बोल्दै सांसद सोमप्रसाद पाण्डेले यस अघि नै कृषिमा विदेशी लगानी भित्राउनुहुन्न भनेर विभागिय मन्त्रीसहित बसेको बैठकले निर्णय गरिएको भएपनि सरकारले अध्यादेशमार्फत् विदेशी लगानी भित्र्याउन लागेको बताए । सानो प्वालबाट ठुलो छिद्र बनाएर छिर्ने प्रयत्न गरिएको भन्दै उनले कृषिमा विदेशी लगानी स्वीकार्न नसकिने बताए ।

सांसद देवेन्द्र पौडेलले कृषिमा विदेशी लगानी ल्याउनु नहुने बताए । कृषिमा विदेशी लगानी भित्रिए परम्परागत कृषि प्रणालीको अन्त्य हुने र कृषकको रोजगारी गुम्ने उनको भनाइ छ ।

लगानी भित्रिँदा नेपालका किसानको लगानी डुब्ने तथा व्यापार घाटा पनि बढ्ने उनको भनाइ थियो ।

सांसद प्रकाश रसाईलीले देशलाई आत्मनिर्भर हुने बाटोमा लानुपर्ने बताए । कृषिमा विदेशी लगानी नभित्र्याने भनिएको भएपनि सरकारले किन ल्याउने प्रयास गरेको हो यस सम्बन्धमा विभागिय मन्त्री र सचिवहरुसँगको छलफल आवश्यक रहेको उनको भनाइ छ ।

सांसद अमृता अग्रहरीले साना उद्योग सञ्चालनमा देश र उद्योगीहरु सक्षम रहेको बताए । जनताको मर्म विपरित कृषिमा वैदेशिक लगानी भित्र्याउन लागिएको भन्दै उनले आपत्ति प्रकट गरे।

सांसद बृजेश गुप्ताले विदेशी लगानीलाई निषेध गरेर देश अगाडी बढ्न नसक्ने धारणा राखे । जति प्रतिस्पर्धा बढ्छ उति जनतालाई फाइदा हुने भन्दै उनले कृषिमा विदेशी लगानीलाई मापदण्डको आधारमा भित्र्याउनुपर्ने बताए ।

राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले विदेशी लगानी सँगसँगै प्रविधी, प्राविधिक, मल, बिऊबिजन पनि सँगै भित्रिने भएकाले लाखौँ कृषकहरुले कृषि पेशाबाट हात धुनुपर्ने अवस्था आउने बताए । विदेशीलाई जमिन दिँदा खेतीयोग्य भूमि कृषि बाहेकको प्रयोजनको लागि पनि प्रयोग हुनसक्ने उनको भनाइ छ ।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले विदेशी पुजिँसँग नेपाली कृषकले प्रतिस्पर्धा गर्न नसक्ने र रोजगारी गुम्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुमित केडियाले नेपालमा लगानीको कमी नभएको बताउनुभयो । देशका उद्योगी, वित्तिय संस्थासँग लगानी गर्न आवश्यक रकम रहेको उनको भनाइ छ ।

नेपाल डेरी एशोसिएसनका महासचिव प्रलाद दाहालले स्वदेशी कम्पनीहरुलाई लगानीको वातावरण बनाउनुपर्ने बताए । प्रविधिको प्रयोग गरी नेपाली लगानीमै कृषि गर्नुपर्ने उनको भनाइ छ । कृषिमा आत्मनिर्भरताको बाटोमा हिड्नुपर्ने उनको भनाइ छ ।


पुष्प दुलाल