लगानी दोब्बरसम्म हुने ‘म्यूचुअल फण्ड’ के हो, कसरी गर्ने कारोबार ?



काठमाडौं । यतिबेला सेयर बजारमा चासो राख्ने र लगानी गर्नेहरुको संख्या ठूलो छ । अझ पछिल्लो एक वर्षमा त आइपीओको आकर्षणका कारण सेयर बजारको चासो बढेर गएको छ ।

हालसम्म १५ लाखभन्दा बढीले आइपीओ भर्न थालेका छन् भने ५ लाखभन्दा बढीले दोस्रो बजारमा सेयर कारोबारसमेत गर्न थालेका छन् । त्यसमध्ये करिब ४ लाखले अनलाइनमाध्यमबाट सेयर कारोबार गर्न थालेका छन् ।

आइपीओ जारी गरेपछि कुनै पनि कम्पनीको सेयर कारोबार दोस्रो बजारमा हुन्छ । तर दोस्रो बजारमा आइपीओको तुलनामा कैयन गुणा बढी जोखिम पनि हुन्छ ।

त्यसैले दोस्रो बजारमा सेयर कारोबार गर्न चाहनेका लागि म्यूचुअल फण्ड विकल्प राम्रो मानिन्छ । म्यूचुअल फण्ड भनेको सामूहिक लगानी कोष हो ।

धेरै जनाको लगानीलाई एकै ठाउँमा ल्याएर राम्रोसँग व्यवस्थापन गरी लगानी गर्नु नै म्यूचुअल फण्डको काम हो । यस्ता म्यूचुअल फण्डहरु नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरु ल्याउँछन् ।

म्यूचुअल फण्डमा काम गर्नेहरु फ्रोफेसनल व्यक्तिहरु हुन्छन् । जसले सामूहिकरुपमा उठाएको पैसा कहाँ लगानी गर्ने भन्ने योजनाबद्ध रुपमा लगानी गर्छन् । यिनीहरुले डिभेञ्चर, मुद्दति निक्षेप, बचत पत्र तथा दोस्रो बजारमा समेत लगानी गरेका हुन्छन् ।

उनीहरुले त्यहाँबाट गरेको आम्दानीबाट सञ्चालन खर्च र नाफाबाट केही हिस्सा आफूले राखेर बाँकी रकम लगानीकर्तालाई फिर्ता गर्छन् ।

त्यसैले दोस्रो बजारमा कारोबार गर्न खोज्ने, कम्पनीबारे कम जानकार, ठूलो जोखिम बहन गर्न नसक्ने र पर्याप्त समय नहुनेहरुका लागि म्यूचुअल फण्डहरु राम्रो विकल्प बन्न सक्छन् । जसमा छोटोभन्दा छोटो लगानीमा समेत कारोबार गर्न सक्छन् । जसमा लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँ लगानी गरेर पनि शुरुवात गर्न सक्छन् । दोस्रो बजारमा सेयर कारोबार गर्न चाहनेका लागि पनि मध्यस्तकर्ताको भूमिका म्यूचुअल फण्डको हुन्छ ।

म्युचुअल फण्ड भनेको के हो ? कसरी हुन्छ आम्दानी ?

धेरै व्यक्तिगत वा संस्थागतरुपमा स-साना लगानीकर्ताबाट रकम संकलन गरी कुनै एक क्षेत्रमा लगानी गर्ने कोषलाई सामूहिक लगानी कोष (म्युचुअल फण्ड) भन्निछ । जुन पोर्टफोलियो म्यानेजरद्वारा (मर्चेन्ट बैंकर) व्यवस्थापन तथा संचालन गरिन्छ । यसको निष्कासनको स्वीकृति र नियमन तथा सुपरिवेक्षणको काम नेपाल धितोपत्र बोर्डले गर्छ ।

म्युचुअल फण्ड नियमावली-२०६७ ले निर्धारण गरे अनुसार, म्युचुअल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड र ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स्ड डिपोजिटमा लगानी गर्ने गर्छन् । यसमा लगानीकर्ताले न्यूनतम १००० रुपैयाँबाट लगानीको शुरुवात गर्न सकिन्छ ।

यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाईधारीलाई वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ । एकजना औषत लगानीकर्तालाई म्युचल फण्ड स्मार्ट र लागत प्रभावी लगानी हुनसक्छ भने यसमा लगानी गर्न ठूलो लगानी पनि आवश्यक पर्दैन । कोष प्रबन्धकहरूले म्युचल फण्डको वार्षिकरुपमा प्रतिफल वितरण गर्छन् ।

म्युचुअल फण्डका प्रकार

म्युचुअल फण्डका विशेष गरेर खुल्ला समाप्ती कोष र बन्द समाप्ती कोष गरी दुई प्रकारका छन् । जसलाई ओपन इन्डेड र क्लोज इन्डेड म्यूचुअल फण्ड भनिन्छ ।

क्लोज इन्डेड म्यूचुअल फण्डको निश्चित म्याचुरिटी मिति हुन्छ । उक्त मितिपछि लगानीकर्ताको लगानी फिर्ता आउँछ । यस प्रकारको कोष वर्षभरी किनबेचका लागि उपलब्ध हुन्छ । यो निश्चित रकम र अवधि तोकी लगानीकर्ताहरुलाई इकाईहरु बिक्री गरिने सामूहिक लगानी योजनालाई बन्दमुखी योजना भनिन्छ । बन्द समाप्ति कोषले निश्चित पुँजी आइपीओद्वारा संकलन गर्छन् । र, संकलित कोषलाई धितोपत्र बोर्डमा सुचिकृत गरिन्छ । बन्दमुखी योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार समेत हुन्छ ।

त्यसैगरी ओपन इन्डेड म्यूअल फण्ड स्टक मार्केटमा सूचिकृत हुँदैन । यसमा समय निश्चित गरिएको हुँदैन । त्यसैगरी युनिटहरु पनि मागका आधारमा बढाउन सकिन्छ । नेपालको पहिलो ओपन इन्डेड म्यूचुल फण्ड एनआइबीएलको सहभागिता कोष हो । यो २०७६ सालको जेठमा आएको थियो । यो खरिद बिक्री कम्पनीमै गएर गर्न सकिन्छ ।

बजारमा २० अर्ब रुपैयाँको म्युचअल फण्ड

बजारमा ११ वटा मर्चेन्ट बैंकरले २१ वटा सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्काशन गरेका छन् । यी मर्चेन्ट बैंकरले ५ वर्षदेखि १० वर्षसम्मका करिब २० अर्ब रुपैयाँ बराबरको म्युचअल फण्ड निष्काशन गरेका हुन् ।

निष्काशितमध्ये ५ वटा म्युचअल फण्ड परिपक्क भएर लगानी कर्ताले पैसा फिर्ता समेत पाइसकेका छन् । जसमा नबिल इन्भेष्टमेण्टको एउटा, लक्ष्मी क्यापिटलको एउटा, एनएमबी क्यापिटलको एउटा, र सिद्धार्थ क्यापिटलको २ वटा म्युचअल फण्ड परिपक्क भइसकेका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार निष्कासित ११ वटा मर्चेन्ट बैंकर १९ अर्ब ८० करोड ३६ लाख २३ हजार ६ सय रुपैयाँ बराबरको म्युचअल फण्डमा सानिमा क्यापिटलको १ अर्ब रुपैयाँ बराबरको सानिमा लार्ज क्याप फण्ड र ८० करोड रुपैयाँ बराबरको कुमारी इक्युटी फण्ड बिक्री खुल्ला गरिएको छ ।

लगानीमा रहेका म्युचअल फण्ड कुन मर्चेन्टको कति ?

सीबीआइएल क्यापिटले ८२ करोड रुपैयाँ र ५६ करोड रुपैयाँ गरी २ वटा सिटिजन्स फण्ड ७ वर्षका लागि निष्कासन गरेको छ । साथै, १ अर्ब रुपैयाँ बराबरको ग्लोबल आईएमई फण्ड ७ वर्षका लागि ग्लोबल आइएमई क्यापिटले निष्कासन गरेको छ ।

लक्ष्मी क्यापिटलले ३ वटा लक्ष्मी म्युचुअल फण्ड निष्कासन गरेको थियो । जसमा लक्ष्मी भ्याल्लु फण्ड परिपक्क भइसकेको छ भने १ अर्ब २५ करोड रुपैयाँको लक्ष्मी इक्युटी र ६५ करोड ३६ लाख २३ हजार रुपैयाँ बराबरको लक्ष्मी उन्नती कोष लगानीमा रहेको छ ।

साथै, नबिल इन्भेष्टमेन्ट बैंकिङले ३ वटा म्युचुअल फण्ड निष्कासन गरेकोमा नबिल ब्यालेन्स फण्ड-१ परिपक्क भइसकेको छ भने, १ अर्ब २५ करोड रुपैयाँको नबिल इक्युटी र १ अर्ब १२ करोड रुपैयाँको नबिल ब्यालेन्स फण्ड–२ लगानीमा रहेको छ ।

यसैगरी, एनआइबीएल एस क्यापिटलले ३ वटा म्युचुअल फण्डहरु निष्कासन गरेको थियो । जसमा ७५ करोड रुपैयाँको एनआइबीएल प्रगति फण्ड, १ अर्ब रुपैयाँको एनआइबीएल समृद्धि फण्ड–१, ५० करोड रुपैयाँ बराबरको एनआइबीएल समृद्धि फण्ड-२ हुन् ।

साथै, एनआएसी एशिया क्यापिटलले समेत ३ वटा म्युचुअल फण्ड निष्काशन गरिसकेको छ । जसमा १ अर्ब २५ करोड रुपैयाँको एनआएसी एशिया ब्यालेन्स फण्ड, १ अर्ब रुपैयाँको एनआएसी एशिया ग्रोथ फण्ड र ५० करोड रुपैयाँको एनआएसी एशिया डाइनामिक डेबिट फण्ड हुन् ।

एनएमबि क्यापिटलले ३ वटा म्युचुअल फण्ड निष्काशन गरेकामा एनएमबि सुलभ इन्भेष्टमेण्ट म्याच्योर्ड भइसकेको छ । लगानीमा १ अर्ब रुपैयाँ बराबरको एनएमबि हाइड्रो र १ अर्ब २५ करोड रुपैयाँ बराबरको एनएमबि ५० छन् ।

त्यसैगरी, सानिमा क्यापिटलले २ वटा फण्ट निष्कासन गरेको छ । जसमा १ अर्ब ३० करोड रुपैयाँको सानिमा इक्युटी फण्ड र १ अर्ब रुपैयाँको सानिमा लार्ज क्याप फण्ड हुन् ।

यस्तै, सिद्धार्थ क्यापिटलले ४ वटा म्युचुअल फण्ड निष्काशन गरेको थियो । जसमा सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम-१ र सिद्धार्थ इक्युटी ओरिन्टेड परिपक्क भइसकेको छ । हाल १ अर्ब ५० करोड रुपैयाँको सिद्धार्थ इक्युटी फण्ड र १ अर्ब २० करोड रुपैयाँको सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम-२ लगानीमा छन् ।

त्यसैगरी, सनराइज क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको सनराइज फस्ट म्युचुअल फण्ड निष्काशन गरेको छ ।


पुष्प दुलाल