गेमचेञ्जर भनिएको मध्यपहाडी राजमार्गको निर्माण कछुवा गतिमा, १३ वर्षमा प्रगति ५०% पनि पुगेन
काठमाडौं । मध्यपहाडी क्षेत्रको जीवनस्तर सुधार गर्न शुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको निर्माण प्रक्रिया सुस्त देखिएको छ ।
मध्यपहाडी राजमार्ग निर्माण शुरु भएको एक दशकभन्दा लामो समय बित्दा पनि आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पनि हासिल हुन सकेको छैन ।
मध्यपहाडी राजमार्ग आर्थिक वर्ष २०६४/६५ देखि निर्माण शुरु गरिएको हो । मध्यपहाडी राजमार्गको भौतिक प्रगति २०७७ पुस मसान्तसम्म ४९.३१ प्रतिशत रहेको मध्यपहाडी राजमार्गका इन्जिनियर सुरज अधिकारीले जानकारी दिए ।
यसको लम्बाइ १ हजार ८७९ किलोमिटर छ जसमध्ये ९१४ किमी सडक कालोपत्रे गरिएको छ । जसमा ४५२ किमी मध्यपहाडी राजमार्ग आयोजनाबाट र बाँकी ४६२ किमी सडक विभागका अन्य आयोजना तथा डिभिजनबाट कालोपत्रे भएको हो । मध्यपहाडी राजमार्ग १ सय २९ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये ८४ वटा पुल निर्माण भएका छन् ।
मध्यपहाडी राजमार्ग आयोजना २०७४÷७५ मा सम्पन्न गर्नेगरी अघि बढाइएको थियो । नयाँ संशोधित कार्यतालिकाअनुसार २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यो आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रुपैयाँ थियो । हाल यो लागत बढेर करिब ८४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ४७ अर्ब ८४ करोड २१ लाख रुपैयाँ खर्च भइसकेको छ ।
कोभिड–१९ ले आयोजनालाई तोकिएको अवधिभन्दा पछि धकेलेको छ । यस्तै आयोजनाका केही स्थानमा मुआब्जा र रेखांकनको विवाद कायमै छ ।
बुढीगण्डकी जलविद्युत् र सुनकोसी जलविद्युत् परियोजना पनि यो मार्गभित्र पर्ने देखिएको छ । रेखांकन र मुआब्जाको विषय सुल्झाउन ढिला गरिए तोकिएको समयमा आयोजना सम्पन्न गर्न असहज हुने निर्देशनालयले जनाएको छ ।
बिस्तार प्रक्रियालाई सहजीकरण गर्न निर्देशनालयअन्तर्गत ५ वटा योजना कार्यालय छन् । कोभिड–१९ का कारण सरकारले जारी गरेको लकडाउनले कालोपत्रे गर्न समस्या भएको निर्देशनालयका अधिकारी बताउँछन् ।
किन ढिलो भइरहेको छ ?
यो राजमार्ग पाँचथरको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट शुरु भई बैतडीको झुलाघाटमा गएर टुंगिन्छ । चियोभञ्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २६ जिल्ला पार गर्छ ।
मध्यपहाडी क्षेत्रको जीवनस्तर सुधार गर्न सरकारले मध्यपहाडी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत गरेको छ । राष्ट्रिय गौरवको आयोजनामा मध्यपहाडी राजमार्ग सूचिकृत भए पनि सञ्चालन गर्ने छुट्टै कानून नहुँदा आयोजनाको कार्यान्वय पक्ष कमजोर रहेको पूर्वभौतिक सचिव तुलसी सिटौला बताउँछन् ।
आयोजना निर्माण गर्ने मोडालिटी, कुल लागत, समयावधि, जग्गा प्राप्ति÷मुआब्जा, क्षतिपूर्ति, पुनर्वास र विस्तृत आयेजना प्रतिवेदन लगायत आधारभूत विषयहरु यकिन नभई मध्यपहाडी राजमार्ग अघि बढाउँदा निर्माण कार्य सुस्त देखिएको सिटौलाको भनाइ छ ।
साथै आयोजनाको रेखांकन निश्चित नहुँदा लागत र निर्माण अवधि अनिश्चित हुन गएको छ । जग्गा हकभोग सम्बन्धी निश्चित मापदण्ड नहुँदा पनि व्यक्तिगत जग्गा उपयोग गरेर सडक निर्माण गर्न कठिन छ ।
साथै जग्गाको क्षतपूर्ति र घर टहराको मूल्यांकन उच्च हुँदा आयोजनाको लागत बढिरहेको छ । आयोजना निर्माण पूर्व सम्पन्न गर्नुपर्ने कार्य नहुँदै ठेक्का सम्झौता गरिने कारणले निर्माण व्यवसायीले नियमित रुपमा काम गर्न नपाउँदा पटक–पटक ठेक्काको म्याद थप गरी भेरिएसन समेत गर्नुपर्ने अवस्थाका कारण आयोजनाको लगात बढ्दै गहिरहेको पनि उनी बताउँछन् ।
मध्यपहाडको गेमचन्जर आयोजना
निर्माणाधीन मध्यपहाडी राजमार्ग मध्यपहाडको गेमचेन्जर परियोजनको रुपमा रहेको छ । यो राजमार्ग निर्माण भएसँगै मध्यपहाडका २६ जिल्लालाई एक अर्कासँग सडकबाट जोड्ने छ ।
सडक नै विकासको पहिलो स्तम्भ भएको पूर्वसचिव सिटौला बताउँछन् । सडक, यातायातको पहुँचले नै विकासका गतिविधि बढाउँछ । सडक नभएका स्थानमा विकासका गतिविधि अगाडि बढाउन समस्या हुने सिटौला बताउँछन् ।
‘सडक नभएमा निर्माण सामग्री तथा खाद्यवस्तु हवाईमार्ग वा मानिसले बोकेर ढुवानी गर्नुपर्छ’, सिटौलाले भने, ‘सडक तथा यातायात नपुगेको स्थानमा हरेक वस्तु महँगो हुन्छ ।’
सडकले महँगी घटाउनेसम्मको काम गर्ने सिटौलाको भनाइ छ । राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएमा ती भेगमा उत्पादन हुने तरकारी, जडीबुटी, फलफूल अन्य स्थानमा सहज रूपमा निर्यात हुन सकेको छ । स्थानीय उत्पादनले बजार पाइरहेका छन् ।
‘सडक पुगेको स्थानै धेरै विकास भएका छन्’, सिटौलाले भने, ‘नयाँ विकासोन्मुख सहरहरू पनि राजमार्ग आसपासकै क्षेत्रमा छन् ।’
साथै सरकारले पनि नयाँ सहरहरू मध्यपहाडी राजमार्गमा निर्माण गर्न गइरहेको छ । मध्यपहाडी राजमार्ग निर्माणसँगै त्यस आसपासबाट अन्यत्र हुने बसाइँसराइमा कमी आउनेछ ।
स्थानीय कृषि उपजले बजार पाउनुका साथै स्कुल, कलेज, हस्पिटल, बिजुली, खानेपानी, टेलिफोनलगायत सुविधा थप हुनुका साथै रोजगारीको अवसर सिर्जना भइरहेको छ ।
मध्यपहाडी क्षेत्रमा सडक विस्तारसँगै ठूला–ठूला जलविद्युत् परियोजना शुरु भएका छन् । साथै आन्तरिक तथा बाह्य पर्यटक पनि भित्रिने क्रम बढ्दो छ । सडकका माध्यमबाट आर्थिक तथा सामाजिक गतिविधि बढिरहेको छ । तर राजमार्ग निर्माण भएको ढिलाई मध्यपहाडी आसपास बस्ने बासिन्दाले पर्याप्त लाभ उपभोग गर्न नसक्ने उनको भनाइ छ ।
‘पछिल्लो दशकदेखि सहरी तथा तराईमा पहाडी क्षेत्रबाट बसाइसराइको बढ्दो क्रममा छ’, सिटौलाले भने, ‘मध्यपहाडी राजमार्ग निर्माण भएसँगै यातायातसँगै मध्यपहाडी क्षेत्रमा विकास र रोजगारीका अवसर सिर्जना हुनेछन् ।’
शिक्षा, स्वास्थ्य र रोजगारीका लागि मानिसहरु एक स्थानबाट अर्को स्थानमा बसाइ सर्ने गर्छन् । मध्यपहाडका स्थानीयलाई आफ्नै ठाउँमा राख्न पनि मध्यपहाडी सडक निर्माण प्रक्रियालाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।