नियम उल्लंघन गर्ने ४ बैंकलाई राष्ट्र बैंकको कारबाही, स्ट्याण्डर्ड चार्टर्ड २ पटक कारबाहीमा



काठमाडौं । राष्ट्र बैंकको नियमन उल्लघंन गर्ने ४ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् । गत असार मसान्तदेखि पुस मसान्तसम्म दिएको निर्देशनअनुसार बैंकिङ कारोबार नगर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंक हुन् । जसमा लक्ष्मी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई राष्ट्र बैंकले निर्देशन उल्लंघन गरे वापत जरिवाना रकमसमेत असुल गरेको छ ।

ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पत्रमार्फत् सचेत गराउनुका साथै आवश्यकताअनुसार बैंकका प्रमुख कार्यकारी निर्देशकलाई बोलाएर सचेत गराएको छ । जसमा स्ट्यान्डर्ड चार्टर्ड बैंक भने राष्ट्र बैंकको कारवाहीमा २ पटक परेको छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार स्ट्यान्डर्ड चाटर्डले पुस मसान्तसम्म प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेमा ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ २४ पैसा जरिवाना तिरेको छ ।

बैंकलाई राष्ट्र बैंकले पुनः कर्जा प्रवाह गर्दा आवश्यक कागजात पुरा नलिएर कर्जा प्रवाह गरेकोमा सचेतसमेत गराएको राष्ट्र बैंक सुपरिवेक्षणका एक अधिकारीले जानकारी दिए ।

त्यसैगरी लक्ष्मी बैंकले सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) सम्बन्धी ऐन उल्लंघन गरेको वापत चालु आवको पहिलो त्रैमासमा २० लाख रुपैयाँ जरिवाना तिरेको छ ।

यस्तै, राष्ट्र वाणिज्य बैंकले सरकारको खातामा पठाउनु पर्ने पैसा समयमा नै नपाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई राष्ट्र बैंकले सचेत गराएको राष्ट्र बैंक सुपरिवेक्षणका ती अधिकारीले जानकारी दिए ।

‘बैंकको खातामा जम्मा भएको राजश्व संकलनको पैसा २ महिनासम्म सरकारको खातामा पठाएको थिए,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘राजश्व वापत संकलन भएको रकम भोलिपल्ट नै सरकारको खातामा पठाउनु पर्ने हुन्छ तर बैंकले २ महिनासम्म बैंकमा नै होल्ड गरेको थियो ।’

बैंकले नियतवस राजश्वको रकम होल्ड नगरी कर्मचारीको गल्तीका कारण खातामा पैसा नपठाएको पाइएपछि बैंकका सीइओलाई बोलाएर सचेत गराइएको ती अधिकारीले जानकारी दिए ।

साथै, ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकले तोकेअनुसार कर्जा प्रवाह गर्दा कर चुक्ता गरेको प्रमाणपत्र नलिइकनै कर्जा प्रवाह गरेको पाइएपछि बैंकलाई आगामी दिनमा सो कार्य नगर्न सचेत गराइएको उनले जानकारी दिए ।

यसैगरी, राष्ट्र बैंकले कोभिड–१९ को कारणले लामो समयसम्म स्थलगत सुपरिवेक्षण गर्न सकेको थिएन । तर कोभिडको प्रभाव सामान्य हुँदै गएपछि स्थलगत सुपरिभिजन फेरि शुरु गरेको छ ।

प्रभु बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक र नेपाल बंगलादेश बैंकको फिल्ड सुपरिवेक्षण सकिएको छ भने ग्लोबल आइएमई बैंक र सेञ्चुरी बैंकको सुपरिवेक्ष भइरहेको छ ।

सुपरिवेक्षण गरिएका बैंकहरुमा देखिएका केही संकास्पद बुँदामा राष्ट्र बैंकले लिखित जवाफ माग गरेको ती अधिकारीले जानकारी दिए ।


क्लिकमान्डु