नेप्से परिसूचकले रेकर्ड राख्दा १६ वाणिज्य बैंकका लगानीकर्ता अझै घाटामा



काठमाडौं । अहिले निकै बजारमा चर्चा सेयर बजारको छ । नेप्से परिसूचक र कारोबारमा भएको रेकर्डले सबैलाई सेयर बजारमा चासो बढाएको छ ।

नेप्से परिसूचक २५ सय अंकमाथि गएपनि वाणिज्य बैंकका लगानीकर्ताहरु भने अझै घाटामा देखिएका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २६ वटा बैंक नेप्सेमा सूचिकृत छन् ।

२६ वटा वाणिज्य बैंकमा १६ वटा बैंकका लगानीकर्ताहरुले अघिल्लो पटक सेयर बजार बुल हुँदा खरिद गरेको लागत नै उठाउन नसकेको देखिन्छ ।

सेयर बजारले २०७३ साल साउन १२ गते १८८१ को रेकर्ड कायम गरेको थियो । त्यसपछि नेप्से परिसूचक ११ सय बिन्दुबाट समेत तल झरेको नेप्से परिसूचक अहिले २५२६ अंकमा छ । सबैतिर सेयर बजार बढेको र कमाएको चर्चा चलेपनि २०७३ बुलमा वाणिज्य बैंकको सेयर किन्नेहरु अझै घाटामा रहेका छन् ।

औसतमा हेर्दा वाणिज्य बैंकका लगानीकर्तालाई अहिले १२.६० प्रतिशत घाटा अझै भएको देखिन्छ । २७ वटा वाणिज्य बैंकमा सबैभन्दा बढी घाटा २०७३ सालको बुलमा नेपाल एसबीआई बैंकको सेयर किन्नेलाई भएको छ ।

२०७३ को बुलमा स्ट्याण्डर्ड चाटर्डको सेयर किन्ने लगानीकर्ता अहिलेको बुलमा पनि ५०% घाटामा

नेपाल एसबीआई बैंकको सेयर २०७३ सालको साउन १२ गते सेयर मूल्य प्रतिकित्ता १९८० रुपैयाँ थियो । त्यो दिन १०० कित्ता सेयर किन्नको लागि लगानीकर्तालाई १ लाख ९८ हजार रुपैयाँ लागत लागेको थियो । एसबीआई बैंकका लगानीकर्ताले त्यसपछि पाएको बोनस हिसाब गर्दा २०७३ सालको बुलको दिन १०० कित्ता सेयर किनेको व्यक्तिसँग अहिले १७३ कित्ता सेयर छ । बिहीबारको कारोबार अनुसार यसको मूल्य ७५ हजार २५५ रुपैयाँ हो । पाएको नगद लाभांशलाई नजोड्ने हो भने एसबीआई बैंकका लगानीकर्ताहरु अहिले ६१.९९ प्रतिशतले घाटामा छन् ।

नेप्से परिसूचक बढेपनि सेयर बजार अझै बढेको छैन,  वाणिज्य बैंकका लगानीकर्ता घाटामा छन्  :अम्बिका पौडेल-महासंघ पूँजी बजार संयोजक

त्यसपछिको घाटा स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्तालाई छ । अघिल्लो पटक बुलमा किनेका लगानीकर्तालाई स्ट्याण्डर्ड चार्टर्ड बैंकमा बिहीबारको कारोबार अनुसार ५३.४६ प्रतिशत घाटा देखिएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्तालाई लागेको घाटाको विषयमा क्लिकमाण्डूले यसअघि नै समाचार प्रकाशित गरिसकेको छ ।

२०७३ को बुलमा स्ट्याण्डर्ड चाटर्डको सेयर किन्ने लगानीकर्ता अहिलेको बुलमा पनि ५०% घाटामा

स्ट्याण्डर्ड चार्टर्ड बैंकपछि एभरेष्ट बैंकका लगानीकर्ताको घाटालाई हेरौं । एभरेष्ट बैंकका लगानीकर्ताले अघिल्लो पटक सेयर बजार बुल भएको बेला १०० कित्ता सेयर खरिद गर्न ३ लाख ५४ हजार ७०० रुपैयाँ लागेको थियो । १०० कित्ता सेयर हुनेसँग अहिले २४९ कित्ता सेयर छ । बिहीबारको कारोबारको आधारमा जसको मूल्य १ लाख ९३ हजार ९७१ रुपैयाँ छ । ४५ प्रतिशत घाटा एभरेष्ट बैंकको सेयर २०७३ सालको बुलमा किन्नेलाई लागेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा महासंघको पूँजी बजार फोरमका संयोजक अम्बिकाप्रसाद पौडेल नेप्से परिसूचक बढेपनि सेयर बजार अझै नबढेको बताउँछन् ।

‘परिसूचक बढ्नु र सेयर बजार बढ्नु फरक कुरा हो, अहिले बजार बढेको चर्चा भएपनि वास्तविक रुपमा बजार बढेको देखिएको छैन,’पौडेलले क्लिकमाण्डूसँग भने । नयाँ आएका कम्पनीले इन्डेक्स बढाएपनि २०७३ सालमा लगानी गर्नेहरु अझै घाटामा रहेको पौडेल बताउँछन् ।

‘ब्याजदरलाई जोड्ने हो भने  वाणिज्य बैंकमा ६/७ वटामा मात्र फाइदा देखिन्छ,’ पौडेलले भने ।

नेप्से परिसूचक बढ्दैमा लगानीकर्ताको सम्पत्ति बढ्ने ग्यारेन्टी हुँदैन: प्रकाश तिवारी- सेयर बजार विश्लेषक एव्म युवा उद्यमी

सेयर बजारमा सबैभन्दा ठूलो आपूर्ति वाणिज्य बैंकहरुको छ । नेप्से परिसूचकलाई २५ बिन्दुमा पुर्याउन पछिल्लो समयमा आएका नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, माथिल्लो तामाकोशी लगायत २०७३ को बुलपछि थपिएका कम्पनीको कारण नेप्से परिसूचक बढेको हो । अझ गतवर्ष चैतमा सेयर निष्कासन गरेको पुनर्बीमा र शिवम् सिमेन्टले बजारको पूँजीकरणलाई ह्वातै बढाए । जसले गर्दा नेप्से परिसूचक र इन्डेक्सले नयाँ रेकर्ड कायम गर्यो ।

सेयर बजारका विश्लेषक तथा उद्यमि प्रकाश तिवारी नेप्से परिसूचक बढ्दैमा लगानीकर्ताको सम्पत्ति बढ्ने ग्यारेन्टी नहुने बताउँछन् ।

‘बियरिस इन्डेक्स हुँदापनि कतिपय लगानीकर्ताले कमाएका हुन्छन्, २५ सयको इन्डेक्स पार गर्दापनि २०७३ सालको बुलमा वाणिज्य बैंकको सेयर किन्नेहरु अझै घाटामा छन्,’ तिवारीले क्लिकमाण्डूसँग भने ।

२७ वटा वाणिज्य बैंकमा २०७३ सालको बुलमा एनआईसी एशिया किन्नेहरु भने अहिले सबैभन्दा बढी फाइदामा छन् । एनआईसी एशिया बैंकको सेयर २०७३ को बुलमा किन्नेहरुले १३२ प्रतिशत फाइदा गरेका छन् । त्यसपछिको फाइदा ग्लोबल आइएमई बैंकका सेयर किन्नेले उठाएको देखिन्छ । ग्लोबल आइएमई बैंकका लगानीकर्ता ७७ प्रतिशतले फाइदामा छन् । प्रभु बैंकको सेयर किन्नेहरु ५२ प्रतिशतले फाइदामा छन् । प्राइम बैंकको सेयर किन्नेहरु ३९ प्रतिशतले फाइदामा छन् ।

हकप्रद सेयर दिने भयो भनेर प्रतिफल नहेरी दोस्रो बजारबाट सेयर किन्दा घाटा हुने कुरा वाणिज्य बैंकको सेयरले देखाएको छः दिलीपकुमार मुनंकर्मी सेयर बजारका जानकार

सेयर बजारका जानकार दिलीपकुमार मुनंकर्मी नेप्से परिसूचकभन्दा पनि आफ्नो सम्पत्ति कति बढ्यो भनेर लगानीकर्ताले हेर्नुपर्ने बताउँछन् ।

‘ठूला कम्पनी सेयर बजारमा सूचिकृत भएपछि परिसूचक बढेको छ,’ मुनकर्मीले भने,‘ लगानीकर्ताको सम्पत्ति नेप्से परिसूचकले रेकर्ड कायम गर्दापनि बढ्न सकेको छैन,’ मुनकर्मीले भने ।

२७ वटा वाणिज्य बैंकको सेयर मूल्य र प्रतिफल हेर्दा लगानीकर्ताले अघिल्लो बुलमा उठाएका राम्रा भनिएका बैंकबाट बढी घाटा खाएका छन् ।

विदेशी लगानीमा स्थापित भएका नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकका लगानीकर्तालाई बढी घाटा छ । २ अर्बबाट ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने नीतिले बोनस सेयर दिएका ती बैंकले त्यसपछि नगद लाभांशमा बढी जोड दिए ।

जसका कारण २०७३ को बुलमा सेयर किन्ने लगानीकर्तालाई घाटा भयो । अर्को भने चुक्ता पूँजीको नीतिको कारण प्रतिफलको आकलन नगरेर हकप्रद पाइने आशमा सेयर किनेका लगानीकर्तालाई घाटा छ । त्यसमा एनबी, एनसीसी, सेन्चुरी, एनसीसी बैंकका लगानीकर्ता देखिन्छन् ।

‘हकप्रद सेयर दिने भयो भनेर प्रतिफल नहेरी दोस्रो बजारबाट सेयर किन्दा घाटा हुने कुरा बैंकको सेयरले देखाएको छ,अरु कम्पनीको हकप्रदको आधारमा बढेको मूल्यमा सेयर किन्ने र हकप्रद जारी पछि व्यवसाय नबढेमा मूल्य नबढ्दा लगानीकर्तालाई घाटा हुने देखियो,’ मुनकर्मीले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु