२०७३ को बुलमा स्ट्याण्डर्ड चाटर्डको सेयर किन्ने लगानीकर्ता अहिलेको बुलमा पनि ५०% घाटामा



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार र परिसूचकमा हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बजार पूँजीकरण जीडीपी आकारको नजिक पुगेको छ ।

अधिकांश लगानीकर्ताहरुलाई मालामाल भएको छ । नाफा कमाइरहेका छन् । सम्पत्ति बढेको बढ्यै छ ।

तर लामो समय ब्लूचिप कम्पनी रहेको र लगानीकर्ता मालामाल भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानी कर्ता भने अहिले हिस्स परेका छन् । खासगरी अघिल्लो बुलमा प्रवेश गरेका लगानीकर्ता यो बुलमा पनि घाटामै छन् ।

सेयर बजार २०७३ साल साउन १२  गते १८८१.४५ बिन्दुको रेकर्डमा पुगेको थियो । अहिले नेप्से परिसूचक बढेर २५६१.४७ बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचक १८८१ बिन्दुबाट २५६१ मा आएपनि स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ता भने फाइदामा छैनन् ।

नेप्से १८८१.४५ बिन्दुमा पुगेको दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता सेयर ३८४० रुपैयाँसम्ममा किनबेच भएको थियो ।

२०७३ सालमा पनि लगानीकर्तामा सेयर बजारप्रति निकै ठूलो चासो थियो । किनभने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ देखि २५ गुणासम्मले बढाएको थियो । जसकारण बोनस सेयरको आशामा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य आकाशिएको थियो । त्यो बेला वाणिज्य बैंकहरुमा सबैभन्दा बढी मूल्य स्ट्याण्डर्ड चार्टर्ड बैंकको थियो ।

२०७३ सालको साउन १२  गते १०० कित्ता स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर खरिद गर्नका लागि ३ लाख ८४ हजार रुपैयाँ लागत परेको थियो ।

अब स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले पाएको प्रतिफललाई हेरौं ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर तथा १.७५ प्रतिशत नगद लाभांश दियो । १०० कित्ता किनेको सेयरधनीसँग १३३.३३ कित्ता सेयर भयो ।

आर्थिक वर्ष २०७३/७४ स्ट्याण्डर्ड चार्टर्ड बैंकले इतिहासमा कहिल्यै नदिएको १०० प्रतिशत बोनस सेयर दियो । त्यसपछि सेयरधनीसँग २६६ कित्ता सेयर पुग्यो । चुक्ता पूँजी ८ अर्ब पुर्याउन बैंकले थप हकप्रद सेयर निष्कासन (एफपीओ) जारी गरेको थियो ।

त्यसपछिको २ वर्षमा बैंकले बोनस सेयर दिएन । स्ट्याण्डर्ड चार्टर्डले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १७.५ प्रतिशत नगद लाभांश दियो । यस्तै आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई २२.५ प्रतिशत नगद लाभांश दियो । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई बैंकले ७ प्रतिशत बोनस सेयर तथा ४.८४ नगद लाभांश दियो ।

२०७३ सालको साउन १२ गते १०० कित्ता सेयर हुनेसँग अहिले २८५ कित्ता सेयर छ । उसले ११ हजार ९५६ रुपैयाँ नगद लाभांश बुझेको छ । सोमबार सेयर बजार कारोबार बन्द हुँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य प्रतिकित्ता ६३० रुपैयाँ छ । अर्थात् १ लाख ७९ हजार ५५० रुपैयाँ पर्छ ।

जबकी २०७३ साल साउन २७ गते १०० कित्ता स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर खरिद गर्नका लागि ३ लाख ८४ हजार रुपैयाँ लागत परेको थियो ।

यसलाई आधार मानेर हेर्ने हो भने २०७३ साल साउन १२ गते सेयर किन्नेलाई आजको दिनमा २ लाख ४ हजार ४५० रुपैयाँ घाटा भएको छ । पाएको नगद लाभांशसहित हिसाब गर्दा पनि घाटा रकम १ लाख ९२ हजार हुन्छ । अर्थात् ५० प्रतिशतले घाटामा छन् ।

नगद लाभांशको नीतिले लगानीकर्तालाई घाटा

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ७० प्रतिशत विदेशी लगानी छ । स्थापनादेखि नै स्ट्याण्डर्ड चार्टर्ड बैंकको रणनीति बोनस सेयरभन्दा नगद लाभांश नै दिने थियो ।

तर, राष्ट्र बैंकले चुक्ता पूँजी बढाउने बेला भने बोनस सेयर दिएको छ । २ अर्बबाट ८ अर्ब रुपैयाँ चुक्ता पुँजी बढाउने नीतिले बैंकले व्यवसाय बढाउन सकेन । सिमित शाखा र सिमित व्यवसायका भरमा कम चुक्ता पूँजी हुँदा नाफा बढी गरेको चाटर्डले पूँजीबृद्धिपछि त्यो अनुसार व्यवसाय बढाउन सकेन । जसको कारण २०७३ बुलमा सेयर किनेका स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ता अहिले पनि घाटामा गए ।

एफपीओ किन्नेको लगानी उठ्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८ अर्ब चुक्ता पूँजी पुर्याउनको लागि २०७३ सालको चैतमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरेको थियो । जसमा धेरै लगानीकर्ताले १० कित्ता नै एफपीओ पाएका थिए ।

बैंकले प्रतिकित्ता १२१० रुपैयाँका दरले एफपीओ जारी गरेको थियो । बैंकमा १० कित्ता एफपीओ लिनका लागि लगानीकर्ताले १२ हजार ९०० रुपैयाँ लगानी गरेका थिए ।

अहिले ती लगानीकर्तासँग २१ कित्ता सेयर छ । जसको आजको दिनमा सेयर मूल्य १३ हजार २३० रुपैयाँ हो । नगद लाभांशको रुपमा भने ८९६ रुपैयाँ १० कित्ता एफपीओ किन्नेले पाएका छन् । यस हिसाबले हेर्दा १० कित्ता एफपीओ पाउनेको पनि स्ट्याण्डर्ड चार्टड बैंकबाट लागतमात्र उठाएको देखिन्छ ।


पुष्प दुलाल