बैदेशिक रोजगारीमा हुनेलाई ५० करोड लगानीको अवसर, १० प्रतिशत ब्याजदर



काठमाडौं । तपाईं बैदेशिक रोजगारीमा हुनुहुन्छ ? त्यसोभए विदेशको भूमिमै काम गरिरहेकाहरुले नेपालमा सुरक्षित लगानी गर्न पाउने अबसर आएको छ ।

नेपाल राष्ट्र बैंकले आकर्षक अर्थात् १० प्रतिशत व्याज दिनेगरी ५० करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०८२’ जारी गरिरहेको छ ।

यही माघ ९ गतेदेखि बिक्री खुल्ला भएको बचतपत्र फागुन २ गतेसम्म किन्न पाइनेछ ।

बैदेशिक रोजगार बचतपत्रमा सरकारले दिने यो व्याज हाल बैंकहरुले निक्षेपमा दिने व्याजभन्दा बढी हो । सरकारले आन्तरिक ऋणमा दिएको सबैभन्दा बढी व्याजदर पनि हो ।

त्यसैले बैदेशिक रोजगारीमा रहेकाहरुका लागि यो आकर्षक र सुरक्षित लगानीको अवसर हो । यो बचतपत्र नेपाल सरकारको प्रमिसनरी नोट भएकाले यसमा गरिएको लगानी शतप्रतिशत सुरक्षित हुन्छ ।

छरिएर रहेको पुँजीलाई एकत्रित गरि विकास निर्माणका काममा लगाउने उदेश्यले सरकारले बचतपत्र निस्काशन गर्न लागिएको हो ।

यो पैसा सरकारले पनि विकास निर्माणका काममा खर्च गर्छ । रेमिटान्सको अधिकांस रकम उपभोगमा खर्च भएको र त्यसलाई एकत्रित गरी उत्पादनशील क्षेत्र तथा देश विकासमा लगानी गर्नका लागि बचतपत्र निष्काशन गरिएको हो ।

प्रत्येक ६/६ महिनामा व्याज भुक्तानी गरिने यो बचतपत्रमा लगानी गर्नेले ५ वर्षपछि सावाँ रकम फिर्ता पाउनेछन् । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले कम्तीमा ५ हजार रुपैयाँदेखि बढीमा ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउने छन् ।

परिवारले पनि किन्न पाउँछन्

बैदेशिक रोजगारीमा बहाल रहेको, बैदेशिक रोजगारबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक वा एनआरएनले आफू वा आफ्नो परिवारका नाममा यो बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

जग्गा, सुन वा सेयरजस्तै हो बचतपत्र

बचतपत्रमा गरिएको लगानी जग्गा, सुन वा सेयरमा गरिएको लगानी जस्तै हो । अझ जग्गा, सुन र सेयरको मूल्य घटबढ हुने भएकाले प्रतिफल बढी वा कम पनि हुन सक्छ । तर, बचतपत्रमा गरिएको लगानीमा भने तोकिएको व्याजदर हरेक ६र६ महिनामा पाइन्छ ।

बचतपत्र खरिदकर्तालाई पैसाको आवश्क परेको खण्डमा बचतपत्रको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन पाइन्छ ।

के-के चाहिन्छ ?

बचतपत्र खरिदकर्ताले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको समयावधि ननाघेको भिषाको फोटोकपी, दुईप्रति पासपोर्ट साइजका फोटा, विदेशी मुद्रा सटहीको कागजात, बैंक खाताको विवरणसमेत पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । आवेदन फारम लिँदा वा भरेर बुझाउँदा कुनैपनि अतिरक्त शुल्क लाग्दैन ।

कहाँ सम्पर्क गर्ने ?


पुष्प दुलाल