चालु आवको ५ महिनामा १८ अर्बको चामल आयात, गत वर्षभन्दा ६५% बढी



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनाको अवधिमा ६५.३ प्रतिशतले धान आयात बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा चामल आयात उल्लेख्यरुपमा बढेको हो ।

राष्ट्र बैंकले नेपालमा आयात भएका मूख्य २० वस्तु तथा सेवाको सूचीमा चामल पाँचौं नम्बरमा छ ।

नेपालको करिब ६० प्रतिशत जनसंख्या कृषिमा आश्रित भएको आँकडा छ । तर चामलका लागि छिमेकी मुलुक भारतमा निर्भर हुनुपर्ने बाध्यता तथ्यांकले देखाउँछ ।

आव २०७६/७७ को पहिलो पाँच महिनामा नेपालमा १० अर्ब ९९ करोड ९५ लाख बराबरको चामल आयात गरेको थियो । चालु आवको सोही अवधिमा भने नेपालले १८ अर्ब १७ करोड ८६ लाखको चामल आयात भएको छ । जुन गत वर्षको तुलनामा ७ अर्ब १७ करोड ९१ लाख रुपैयाँले बढी हो । चामल सबै भारतबाट आयात भएको छ ।

एकातिर यो वर्ष सरकारी तथ्याङ्कले धान उत्पादन बढेको देखाएको छ भने उसैगरी चामल आयात पनि बढेको छ ।

कृषि तथा धान विज्ञ भोलामान सिंह बस्नेतका अनुसार यसपटक वर्षा राम्रो भए पनि मल पाएको अवस्था थिएन । साथै मानिसहरुको आम्दानी पनि बढेको देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा विगत ७ वर्षयता कै सबैभन्दा बढी ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आवमा धानको उत्पादन ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

नेपालमा चैते धान र वर्षे धान उत्पादन हुन्छ । उनका अनुसार अब हामीले उत्पादन बढाउनका लागि चैते धानमा बढी जोड दिनुपर्छ । अहिले वर्षाको समयमा अधिकांश किसानहरूले धान लगाउने प्रचलन छ । तर, चैतमा उत्पादन गरेको धानमा वर्षाको समयमा भन्दा बढी उत्पादन हुने भएकाले किसानले त्यसतर्फ ध्यान दिनु जरुरी भएको उनको भनाइ छ ।

‘वर्षेभन्दा चैते धानको उत्पाकत्व प्रतिहेक्टर २५ प्रतिशतसम्म बढी उत्पादन हुन्छ । नेपालमा सबै गरेर १५ लाख हेक्टरमा धान रोपिन्छ । तर, चैत धान फल्ने जम्मा डेढ लाख हेक्टर छ । साथै, ७० प्रतिशत तराईमा उत्पादन हुने गर्दछ । त्यसले गर्दा चैते धानमा जोड दिनुपर्दछ,’ उनले भने ।

सरकारले पनि किसानका लागि सहजताको वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिए ।

‘सरकारले किसान, प्रविधि र विज्ञहरूसँग सहकार्य गरी कसरी उत्पादन बढाउन सक्ने विषयमा अध्ययन गरेमा नेपालमा उत्पादनले नै बजार धान्न सकिन्छ,’ उनले भने, ‘तर अहिलेसम्म किसान र सरकारले दुबैले विज्ञलाई खोजी गरेर राय सुझाव लिएका छैनन् ।’ यसले गर्दा कृषकहरूले निकै समस्या भोग्नुपरेको बाध्यता सुनाए ।

उत्पादनको यकिन तथ्याङ्क नहुँदा समस्याः कृषि मन्त्रालय
चालु आवमा सरकारी तथ्याङ्क अनुसार धानको उत्पादन बढे पनि चामलको आयात निकै बढेको छ । यस विषयमा गहन अध्ययन गर्नुपर्ने कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए । हालसम्म यस विषयमा कुनै पनि अनुसन्धान भएको छैन । तर, सामान्य अनुमान गर्दा तराईमा जति पनि धान उत्पादन हुन्छ त्यसबाट भारतले पनि खरिद गरेर लैजाने गरेको पाइन्छ ।

‘नेपालका व्यवसायीले किसानले उत्पादन गरी बिक्री गर्ने समयमा व्यापारी र सहकारीले मूल्य तोके पनि त्यो मूल्यमा खरिद गर्न सकेका छैनौं,’ उकले भने, ‘किसानहरूले पनि दूई, चार रुपैयाँ बढी दिने वित्तिकै जो व्यवसायी आएपनि बिक्री गर्ने प्रचलन छ । यसले गर्दा भारतीय व्यवसायीहरू तराईका भू–भागका धान खरिद गरी भारततर्फ निर्यात गरिरहेको प्रशस्तै रहेको छ ।’

त्यस्तै, नेपालमा उत्पादन भएको धान मोटो र माध्यम खालको भएकाले उक्त चामल आम उपभोक्ताले खाना नरुचाउने भएकाले मिलिङका लागि भारततर्फ निकासी हुने उनको भनाइ छ ।

‘उपभोगमा सामान्यरुपमा हेर्दा औसत तथा माध्यम खालको परिवारको उपभोक्ताहरूले विस्तारै मध्यम खालको धानबाट बास्नादार र मसिनो चामल खाने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘त्यसैले नेपालमा उत्पादित धान भारतमा निर्यात भई मिलिङ गरेर मसिनो र प्याकिङ गरेर आयात गर्दा धेरै आयात भएको हो ।’

तर, नेपालबाट निर्यात र आयातको तुलना गर्दा धेरै मात्रामा आयात नभएको उनको अनुमान छ । साथै, भारततर्फ बिक्री गरेको र आयात गरेकोमा फरक नरहेको उनको दाबी छ ।


क्लिकमान्डु