कार्टेलिङ गरी निर्माण सामग्रीको मूल्य बढाउँदा ६ हजार परियोजना प्रभावित



काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा लामो समयसम्म ठप्प भएको निर्माण आयोजनाको काम अगाडि बढेको छ । तर, परियोजनाको काम गर्ने समयमै निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि निर्माण व्यवसायीहरू चिन्तित बनेका छन् ।

कोरोनाले गर्दा आयोजना रोकिएको र आर्थिक मन्दी खेपिरहेको अवस्थामा निर्माण सामग्री उत्पादन गर्ने उद्योगले कार्टेलिङ गर्दै मूल्य बढाएको व्यवसायीहरू बताउँछन् ।

पछिल्लो समय अत्यधिक मूल्य बढ्ने निर्माण सामग्री हो, ग्रील तथा स्टिल । तिहारसम्ममा करिब १५ रुपैयाँसम्म वृद्धि भएको मूल्य माघमा आइपुग्दा करिब ६० रुपैयाँसम्म बढाएर बिक्री गरिरहेका छन् । यसले गर्दा बजार नै तरंगित बनाएको छ ।

केही महिना अगाडिसम्म छडको अधिकतम मूल्य ९५ रुपैयाँ थियो । जुन अहिले बढेर १०५ रुपैयाँसम्म पुगेको छ । यसले गर्दा आफूहरु मारमा परेको व्यवसायीहरूको भनाइ छ ।

साउन र भदौ महिनादेखि निर्माण परियोजनाको शुरु हुने समय हो । सोही अवधिलाई मध्यनजर गर्दै हरेक वर्ष निर्माण सामग्रीको मूल्य बढाउने प्रवृत्ति पुरानै हो । तर, यो वर्ष पनि बिना कारण विभिन्न समस्या देखाएर अत्यधिक मूल्य बढाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ।

उनका अनुसार निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएकाले ठूलो परियोजनामा कुनै ठूलो असर नपरे पनि साना तथा मझौला निर्माण व्यवसायीलाई भने निकै प्रभाव पारेको बताए ।

६ हजार परियोजना प्रभावित
निर्माण सामग्रीमा अत्यधिक मूल्य बढेसँगै करिब ६ हजार निजी तथा सरकारी परियोजना प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । जसमा साना तथा मझौला अर्थात् १२ महिनाभन्दा कम अवधि भएका परियोजना नै ठप्प भएको महासंघका अध्यक्ष सिंह बताउँछन् ।

१२ महिनाको अवधिका परियोजनामा कुनै पनि म्याद थप नहुने व्यवस्था छ भने एक वर्षभन्दा बढीको परियोजनामा म्याद थप गर्न सकिन्छ । यसले गर्दा एकातिर साना तथा मझौला परियोजनाले तोकेको समयसीमा काम सकाउनुपर्ने बाध्यता छ भने अर्कोतिर अत्यधिक मूल्यवृद्धिले परियोजनाका लागि आवश्यक सामग्री किन्न नसकेर व्यवसायी मारमा परेको उनले बताए ।

‘सरकारका ठूला परियोजनामा काम गर्ने निर्माण व्यवसायीलाई कुनै असर परेको छैन । साथै, बालुवा, गिट्टी, ढुङ्गाको पनि कुनै समस्या छैन्,’ उनले भने, ‘तर, साना आयोजनामा काम गर्ने व्यवसायीलाई अत्यधिक मूल्यवृद्धिले मर्न न बाँच्नु परेको अवस्था छ ।’

अहिले ८ खर्ब रुपैयाँलागतको परियोजना अलपत्र परिरहेको उनको भनाइ छ । यसले गर्दा मूल्यवृद्धि भएकोमा सरकारले गम्भीर ध्यानमा राखी अनुगमन गर्नुपर्ने बताए ।

मिलेमतोमा ग्रील तथा स्टिलको मूल्यवृद्धिः मोहन कटुवाल
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै नेपालका उद्योगीहरूले मौजदातमा रहेको सामग्रीलाई नै मूल्य बढाएर बिक्री गरेको ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारबाट जुन मूल्यमा कच्चा पदार्थमा आयात गरेको छ । त्यही अनुरुपमा मूल्य बढाउनुपर्ने उनको धारणा छ ।

तर, अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर करिब एक महिनामा उत्पादन गरेको मूल्यमा पनि विदेशको नयाँ मूल्य कायम गर्ने प्रवृतिले अत्यधिक मूल्य बढेको उनको गुनासो छ । जसले गर्दा नेपालका अत्यधिक साना उद्योग तथा व्यवसायी धरासायीमा बनेको उनले बताए । साथै, मूल्यवृद्धिमा उद्योग र राजनैतिक दलको नै मिलेमतोमा मूल्य बढाएको व्यवसायीहरूले निष्कर्ष निकालेका छन् ।

‘अहिले प्रतिनिधिसभा विघटनपछि चुनावका तयारी गरिरहेका छन् । यस अवधिमा पनि अधिकांश व्यवसायीले कालोबजारी र मूल्यवृद्धि गर्ने काम भइरहेको छ,’ उनले भने, ‘आगामी दिनमा चुनावका लागि यीनै व्यवसायीहरूले सहयोग गर्ने हुँदा समयको मौका उठाउँदै व्यवसायीले मूल्य बढाए पनि कुनै अनुगमन नै गरेको छैन ।’

साथै, अनुगमनको नाममा अनुगमन मात्रै र कुनै कारबाही नभएको उनको आरोप छ ।

‘८/९ महिना उद्योग बन्द थिए । अहिले बल्ल शुरु भएका छन् । तर, अत्यधिक मूल्यवृद्धिले गर्दा काम ठप्प भएको छ । त्यति मात्रै नभई कर्मचारी, बैंकको ऋण र घरभाडा कसरी तिर्ने भन्ने बढी पिरोल्न थालेको छ,’ उनले भने ।

उनका अनुसार सीमित व्यक्तिले असीमित व्यक्तिलाई असर गर्ने हुँदा कारबाही हुनपर्ने उनको माग छ ।

त्यस्तै, व्यवसायीहरूले पनि उद्योगहरूले जस्तै एउटै आवाज बोलिरहेको हुनाले कुनै पनि तथ्य बाहिर आउन सकेको छैन । त्यसमा सरकारले विशेष ध्यान दिनुपर्ने समयमै सरकारले आँखा चिम्लेर बसेको उनको भनाइ छ ।

कोभिडपछि विकास निर्माणका काम शुरु भएसँगै निर्माण सामग्रीमा अस्वभाविक मूल्यवृद्धि भएकाले आम उपभोक्ता र व्यवसायी मारमा पर्दा सबै धारासायी बनेको उनले बताए ।

सरकारले विशेष अनुगमन गर्नुपर्छः अचुतम कटुवाल
नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंका अध्यक्ष अचुतम कट्वालले निर्माण सामग्रीमा उद्योगीहरुले अस्वभाविक मूल्यवृद्धि गरेको हुनाले यसमा सरकारले सुक्ष्म ढङ्गले अध्ययन गरी अनुगमन गर्नुपर्ने बताए ।

‘कोभिडपछि विकास निर्माण र घर निर्माणको काम भइरहेको छ । तर उद्योगीहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि गराएका छन् । कोभिडपछि माग त बढ्ने भइहाल्यो । जसमा उद्योगीहरुले सिमेन्ट, छडलगायतमा मूल्य बढाएका छन्,’ उनले भने ।

उनले उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको हवला दिँदै यति बढ्यो उति बढ्यो भन्दै अत्यधिक मूल्यवृद्धि गराइरहेको आरोप लगाए ।

‘हामी त बीचमा बसेर सेवा उपलब्ध गराएवापत नाफा खाने व्यक्ति हो । यहाँ उद्योगीहरुले धमिलो पानीमा माछा मार्न थाले,’ उनले भने ।

उनका अनुसार यसअघि ६७/६८ रुपैयाँ केजी पर्ने स्टिल अहिले १ सय रुपैयाँभन्दा माथि छ भने सिमेन्टमा पनि सिमेन्टमा पनि ५० देखि ६० रुपैयाँसम्म बढेको छ ।

बजारमा निर्माण सामग्रीमा यसरी मूल्यवृद्धि हुँदा समेत सरकार निदाएर बसेको उनको भनाइ छ ।

सिमेन्टको मूल्य बढेको छैनः अध्यक्ष थापा
बजारमा सिमेन्टको मूल्य बढेको भनिए पनि वास्तविकता भने त्यो नरहको सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले जानकारी दिए । उनका अनुसार खुल्ला बजारमा ५/१० रुपैयाँ घट्ने बढ्ने भइरहन्छ । तर, कोभिडपछि सिमेन्टको मूल्य नबढेर उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

विगतको दिनमा करिब १ सयसम्म घटेर बेचेको हुनाले माग आएसँगै ५,१० रुपैयाँले बढेको उनको भनाइ छ । तर, माघमा भने सिमेन्टका माग बढ्ने उनको अनुमान छ ।

‘गत असारबाट ५०, ६० रुपैयाँसम्म घट्यो । यस अवधिमा १० रुपैयाँले बढ्दा बढेको भन्न मिल्दैन । साथै, माग नहुँदा ६० रुपैयाँ घाटा खाएर बेच्यो । तर, माघमा १० रुपैयाँले बढ्यो भन्दा किन बढाएको भन्न मिल्दैन,’ उनले भने ।

बजारमा माग र आपूर्तिले बजारको मूल्य तय गर्ने भएकाले माघमा माग आउने अनुमानका साथ मूल्य बढ्ने उनको विश्वास छ ।

तर, माघबाट सिमेन्टको मूल्य नबढ्ने हो भने अधिकांश सिमेन्ट उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुग्ने उनको भनाइ छ ।

साथै, सिमेन्ट उद्योगले गत असारबाट उधारो दिने बन्द गरेसँगै सहजता भएको बताए । अहिले बिना उधारो सामान बिक्री हुँदा उद्योगीले करिब ४० रुपैयाँसम्म मूल्य कम गरेर बेचेको बताए । यसले गर्दा उपभोक्तालाई सस्तो मूल्यमा बिक्री गर्न सक्ने वातावरण सिर्जना भएको उनको भनाइ छ ।

मूल्यवृद्धि नियन्त्रण नगरे आन्दोलनमा उत्रिन्छौंः व्यवसायी
निर्माण सामग्रीको सरकारले अत्यधिक मूल्यवृद्धि नियन्त्रण नगरे आन्दोलनामा उत्रिने व्यवसायीहरूको भनाइ छ । नेपाल निर्माण व्यवसायी महासंघ, ग्रील तथा स्टिल व्यवसायी महासंघ, नेपाल निर्माण सामम्री व्यापार संघलगायत अन्य यस सम्बद्ध व्यवसायीहरूले सरकारले मूल्य नियन्त्रण नगरे सडकमा उत्रिने बताउँदै आएका छन् ।

व्यवसायीहरूले सरकारका सबै निकायमा गुनासो र माग गर्दा पनि कुनै सम्बोधन भएको छैन । अझै पनि सरकारले यसरी नै कान थुनेर बसेमा सबै व्यवसायी सडकमा उत्रिन धेरै समय नलाग्ने उनीहरूको भनाइ छ ।

व्यवसायीले उद्योगबाट ल्याएको बिल नदेखाउँदा समस्याः विभाग
व्यवसायीहरूले निर्माण सामग्रीको मूल्य बढाएको भन्दै अनुगमनका लागि विभिन्न ज्ञापनपत्र बुझाए पनि अनुगमन नगरेको व्यवसायीहरूको गुनासो छ । तर, उद्योग मन्त्रालयको मातहतमा रहेको वाणिज्य तथा आपूर्ति संरक्षण विभागले भने तीव्ररुपमा अनुगमन भइरहेको दावी गरे । साथै, दैनिकरुपमा व्यवसायी कारबाहीमा परेको विभागका निर्देशक एवम् प्रवक्ता शिवराज सेडाइले जानकारी दिए ।

तर, अनुगमनको क्रममा व्यवसायीहरू कारबाहीमा परे पनि विभागलाई स्पष्टरुपमा सहयोग नगरेको उनको गुनासो छ ।

‘हामीले हरेक दिन अनुगमनको क्रममा सबै व्यवसायीलाई कहाँबाट सामान ल्याएको हो त्यसको विवरण माग गर्छौ । तर व्यवसायीहरूले उद्योगीको बारेमा केही पनि खुलाउन चाहँदैनन्,’ उनले भने ।

व्यवसायीहरू ठूलो उद्योगीलाई पट्टयाउन चाहन्छन । यसले गर्दा कुन उद्योगको सामान हो भने पत्र काटेर निर्देशन दिइरहेको बताए । साथै, अत्यधिक मूल्यवृद्धिमा कृत्रिम हो वा आयातमा हो त्यसलाई अध्ययन गरेर कारबाहीको दायरमा ल्याउने उनको भनाइ छ ।

व्यवसायीहरूले अनुगमनको नाममा अनुगमन मात्रै गरेको आरोप लगाए पनि विभागको दैनिकरुपमा भएको तथ्याङ्कलाई आधार मानेर बोल्नुपर्ने उनी बताउँछन् । साथै, सरकारको ऐन कानून अनुसार सबै व्यवसायीलाई निर्देशन तथा कारबाहीको लागि कागज माग गरेको उनले बताए ।

उनका अनुसार विभागले मात्रै अनुगमन गरेर नपुग्ने बताउँछन् । यसका लागि उपभोक्ता, व्यवसायी सबै सचेत भएर लाग्नुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु