कोरोनाकालमा धागो निर्यातमा उल्लेख्नीय वृद्धि, सबैभन्दा बढी निर्यात भारतमा



काठमाडौं । कोरोना भाइरसको महामारीले अधिकांश व्यापार व्यवसाय प्रभावित भए पनि नेपाली पोशाक उत्पादन उद्योगी र धागो उत्पादन गर्ने उद्योगीलाई भने नयाँ उर्जा थपिएको छ । लामो समयको बन्दाबन्दीले गर्दा यी उद्योगहरूले भने प्रत्यक्ष रुपमा नयाँ रेकर्ड कायम गरेको छ ।

नेपालको आयात निर्यातमा ठूलो हिस्सा रहेको तयारी पोशाक र धागोको निर्यात भारततर्फ कोरोनाको समयमा पनि उल्लेखनीय भएको छ । कोरोनाका कारण चीनबाट आयात हुने वस्तु तथा सेवा अझै सहज हुन नसक्दा गत वर्षको आयात तुलनामा घटेको छ । तर, यो अवधिमा भने नेपालबाट विभिन्न वस्तु तथा सेवामा नयाँ रेकर्ड कायम गरेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को पहिलो ५ महिनाको अवधिमा नेपालले ७३ करोड ३२ लाख बराबरको ३८ लाख ५ हजार केजी धागो निर्यात गरेको थियो । तर, चालु आवकोे सोही अवधिमा नेपालले १ अर्ब २५ करोड ७४ लाखको ७४ लाख ४६ हजार केजी धागो निर्यात गरेको छ । जुन अहिलेसम्मको उच्च हो । साथै, गत वर्षको तुलनामा ६० करोड ७४ लाख रुपैयाँ बढी हो ।

भारतमा सबैभन्दा बढी निर्यात
हरेक वर्ष भारत, टर्की, भियतनाममा बढी निर्यात हुँदै आएकोमा यो वर्ष पनि अधिकांश धागो भारतमा निर्यात भएको छ । चालु आवको पाँच महिनाको अवधिमा भारतमा मात्रै १ अर्ब २३ करोड २० लाख रुपैयाँ बराबरको ७३ लाख २७ हजार केजी धागो निर्यात भएको छ । त्यस्तै गत वर्ष सोही अवधिमा भारतमा मात्रै ५६ करोड २३ लाख रुपैयाँ बराबरको ३० लाख ३६ हजार केजी धागो निर्यात गरेको थियो ।

त्यस्तै, गत वर्ष टर्कीमा १७ करोड ८ लाख रुपैयाँ बराबरको ७ लाख ६८ हजार केजी निर्यात भएको थियो । तर, चालु आवमा त्यो संख्या घटेर २ करोड ५३ लाख रुपैयाँ बराबरको १ लाख १८ हजार केजी धागो निर्यात गरेको छ । जुन गत वर्षको तुलनामा चालु आवमा १४ करोड ५४ लाख रुपैयाँले कम निर्यात भएको छ ।

भारतमा धागोको अभाव
कोरोनाले अमेरिका पछि निकै प्रभावित भएको देश भारतमा पनि धागोको अभाव भएकाले निर्यात बढेको देखिन्छ । भारतमा मात्रै नभई यो वर्ष कोरोनाले गर्दा बंगलादेश र भियतनाममा पनि धागोको अभाव भएको छ ।

कोरोनाले भारतमा भएको धागो उत्पादन गर्ने उद्योगमा आबद्ध अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएकाले धागो उत्पादन गर्न निकै कठिनाइ भएकाले आयात बढेको हो ।

साथै, लामो समयदेखि विभिन्न देशमा धागो निर्यात गर्दै आएको भारत सरकारले कोरोनाले गर्दा धागो उत्पादन गर्न नसकेको बताइएको छ । साथै, उद्योग निकै प्रभावित भई धागोको मूल्य निकै बढेको जनाएको छ ।

साथै, बजारमा अत्यधिक मूल्यवृद्धि भएको अवस्थामा पनि कोरोनाले उत्पादन नभएकाले नेपालबाट निर्यातमा बढेको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेको छ । साथै, कोरोना उत्पादन ठप्प भएपछि धागोको मूल्य प्रतिकेजी २०५ बाट बढेर २२३ रुपैयाँ पुगेको जनाएको छ ।


क्लिकमान्डु