मंसिरसम्म बैंकहरुको प्रोभिजनिङ पौने ८४ अर्ब, पुसमा १०% ले बढ्न सक्ने



काठमाडौं । कोभिडको असरमा बैंक तथा वित्त संस्थाका ऋणीहरुले समयमा नै बुझाउनु पर्ने साँवा ब्याज भुक्तानी गर्न सकेका छैनन् । जसकारण बैंक तथा वित्तीय संस्थाहरुको कर्जा नोक्सानी बढ्दो छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल ३४ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा प्रवाहित कर्जामा बैंक तथा वित्त कम्पनीले ८३ अर्ब ७७ करोड रुपैयाँ बढी कर्जा नोक्सानीवापत प्रोभिजन गरेका छन् ।

राष्ट्र बैंकले कोभिड प्रभावित ऋणीको मुल्यांकन गरी पुनरसंरचना तथा पुनरतालिकिकरण गर्न निर्देशन दिएको हुँदा पुस मसान्तमा कार्जामा प्रोभिजन थप बढ्ने बैंकरहरु बताउँछन् ।

चालु आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तको तुलनामा मंसिर मसान्तसम्म आइपुग्दा वाणिज्य बैंक कर्जा नोक्सानी वापतको प्रोभिजन बढेको छ भने विकास बैंक र पाइनान्स कम्पनीहरुको प्रोभिजन भने घटेको छ ।

संचालनमा रहेका २७ वाणिज्य बैंकले मंसिर मसान्तसम्म ३० खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थियो । जसमा ७१ अर्ब ३४ करोड रुपैयाँ बढी प्रोभिजन थियो । यस्तो प्रोभिजन गत असोज मसान्तमा ७१ अर्ब २३ करोड रुपैयाँ बढी थियो ।

त्यसैगरी, मंसिर मसान्तसम्म विकास बैंकहरुले ३ खर्ब २१ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । सो अवधिमा प्रवाहित कर्जामा विकास बैंकहरुले ५ अर्ब ७१ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । गत असोजमा यस्तो प्रोभिजन ५ अर्ब ७४ करोड रुपैयाँ थियो ।

साथै, सो अवधिमा वित्त कम्पनीहरुले ७६ अर्ब ९२ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । जसमा ६ अर्ब ७९ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । गत असोज मसान्तमा वित्त कम्पनीहरुले ६ अर्ब ७९ करोड रुपैयाँ बढी कर्जामा प्रोभिजन गरेका थिए ।

बैंकहरुले कोभिड प्रभावितको ऋणीको मुल्यांकन गरी पुनरसंरचना तथा पुनरतालिकीकरण गर्दा खराब कर्जा अनुपात बढेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुमा सहुलियत उपयोग गर्न पुनरसंरचना तथा पुनरतालिकीकरणको आग्रह आइरहेको छ, जस अनुसार बैंकहरुले गरिरहेका छन्’ दाहालले क्लिकमाण्डूसँग भने, ‘ पुनरसंरचना तथा पुनरतालिकीकरण हुने र एनपीएल गरेर झन्डै १० प्रतिशतको हाराहारीमा भयो भने आश्चर्य नमान्दा हुन्छ ।’

भुक्तानी गर्नु पर्ने कुल ब्याजमा ऋणीले १० प्रतिशत दिएपनि कर्जामा ५ प्रतिशत प्रोभिजन गर्नु पर्ने हुँदा बैंकहरुको खराब कर्जा अनुपात बढ्नुको साथै प्रोभिजन समेत करिब १० प्रतिशतले बढ्ने उनको भनाइ छ ।

सामान्यतया, बैंकबाट कर्जा लिएका ऋणीले कर्जा लिएपछि प्रवाहित कर्जालाई असल वर्गमा राखि त्यसमा बैंकले कर्जाको १ प्रतिशत प्रोभिजन गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तै, ऋणी र बैंकबीच भएको कर्जा सम्झौताअनुसार कर्जाको साँवा ब्याज भुक्तानी नगरेको ३ महिना त्यस्तो कर्जालाई सुक्ष्म निगरानीमा राखी गरी ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । ऋणीले ६ महिनासम्म साँवा ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जालाई कमसल कर्जामा वर्गिकरण गरी ५० प्रतिशत प्रोभिजन गर्नु पर्छ ।

ऋणीले ९ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जालाई शंकास्पद वर्गमा राखी ५० प्रतिशत र १ वर्षसम्म साँवा ब्याज भुक्तानी नभएको कर्जाको सत प्रतिशत प्रोभिजन बैंकहरुले गर्नु पर्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म बैंकिङ क्षेत्रको खराब कर्जा अनुपात औषतमा १.७३ प्रतिशत छ । जसमा वाणिज्य बैंकहरुको औषतमा १.६३ प्रतिशत, विकास बैंकहरुको खराब कर्जा १.६७ प्रतिशत र वित्त कम्पनीहरुको ६.२१ प्रतिशत खराब कर्जा अनुपात छ ।

विकास बैंकहरुको असोज मसान्तदेखि हालसम्म रिटर्न राम्रो भएपनि पुसमा प्रोभिजन र खराब कर्जा अनुपात सहुलियतको कारणले बढ्ने डेभलपमेन्ट बैंकर्स एसोशियसनका अध्यक्ष गोविन्द ढकालले बताए ।

‘अहिले असहज परिस्थिति पनि सामान्य हुँदै गएको छ जसकारण प्रतिफल राम्रो हुने अपेक्षा हामीले गरेका छौँ,’ उनले क्लिकमाण्डूसँग भने, ‘छुट सहुलियत पाइन्छ भने पनि सक्ने ऋणीहरु पनि त्यसको उपयोग गर्नतर्फ लागेका छन्, जसले गर्दा प्रोभिजन र खराब कर्जा बढ्ने निश्चित छ ।’

ऋणीले आज भएपनि भोलि भएपनि बैंकको साँवा ब्याज तिर्नु नै पर्ने हुँदा सहुलियत खोजेर ऋण बढाउनुभन्दा सक्नेले समयमा नै भुक्तानी गर्नु पर्ने उनको भनाइ छ ।


पुष्प दुलाल