हाइड्रोको आइपीओबाट अन्डरराइटर मालामाल, लगानीकर्तालाई पछुतो



काठमाडौं । झण्डै २ वर्ष पहिलेसम्म जलविद्युृत कम्पनीको सेयर भनेपछि सर्वसाधारण लगानीकर्ता मात्रै होइन स्थानीय प्रभावितले समेत आवेदन दिन हिच्किचाउँथे ।

त्यसअघि जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको राम्रै आकर्षण थियो । चिलिमेलगायतका जलविद्युत् कम्पनीका कारण सेयर लगानीकर्ता लगानीका लागि प्रोत्साहित भएका थिए ।
समय बदलियो, सरकार बदलियो ।

अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडा अर्थतन्त्रको कमान सम्हाल्न आइपुगे । उनले पदबहाली गरेकै दिनदेखि सेयर बजार ओरालो लाग्न थाल्यो । बजार ओरालो लाग्दा अरु उपसमूह जस्तै जलविद्युत् उपसमूह पनि नराम्ररी प्रभावित भयो ।

तर, सबैभन्दा नराम्रो मारमा परे जलविद्युत् उपसमूह । सोही कारण जलविद्युत् कम्पनीको सेयर बिक्री हुन छाड्यो । सर्वसाधारणले त रुचाएन नै स्थानीय समेत अनिच्छुक देखिए ।
आयोजना प्रभावितले नकिनेको सेयर सर्वसाधारण लगानीकर्तालाई थपेर आईपीओ निष्काशन गर्ने प्रचलन नै हो । त्यसो गर्दा केही जलविद्युत कम्पनीको सेयर जेनतेन बिक्री हुने गरेको थियो । तर धेरै कम्पनीको सेयरमा मागअनुसार आवेदन नपरेर अन्डरराइटरहरुले सेयर सकार्नु परेको थियो ।

त्यो बेला अन्डरराइटरहरुलाई नबिकेको सेयर सकार्न निकै सकस पर्ने गरेको थियो । त्यस्ता कम्पनीहरुमा हिमाल दोलखा हाईड्रोपावर, शिवश्री हाइड्रो पावर कम्पनी, युनिभर्सल पावर कम्पनीलगायतका थिए ।

यी कम्पनीले जारी गरेको आईपीओमा सर्वसाधारण मात्रै नभएर स्थानीय आयोजना प्रभावितले पनि जारी गरे अनुरुपको आवेदन दिएनन् ।

स्थानीयले नकिनी बाँकी रहेको सेयर सर्वसाधारणलाई थपेर निष्काशन गर्दा सेयर माग अनुसार आवेदन नपरेर अन्डरराइटरले बाध्यताले उठाउने गरेका थिए । त्यो बेला बाध्यताले अन्डराइटरले सेयर उठाए पनि अहिले भने मालामाल बनेका छन् ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता सेयर निष्काशन गरेको थियो । वि.स. २०७६ असार २५ गतेदेखि साउन २५ गतेसम्म सो कम्पनीले सेयर बिक्री गरेको थियो ।
उक्त सेयरमा १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई २५ हजार कित्ता म्युचुअल फन्डलाई र बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने थिए ।

कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर पनि थप गरी सर्वसाधारणलाई जारी गर्न लागेको हो । त्यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल थियो ।

सो कम्पनीको सेयरमा मागअनुसार आवेदन परेन । सबै सेयर बिकेन । सेयर नबिकेपछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत आवेदन दिन लगाइयो ।

हिमाल दोलखा हाइड्रोपावरले संस्थापक सेयरधनी, सञ्चालक वा निजका एकाघर परिवार, कम्पनीका कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, कम्पनी व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिहरुलाई पनि आइपीओ भर्ने अवसर दिइयो । त्यो बेला आवेदन दिने समय पनि थप्नु परेको थियो । उनीहरुले पनि सबै सेयर नकिनेपछि बाँकी सेयर अन्डरराइटरले स्वीकारे ।

हिमाल दोलखाले इलाम जिल्लामा दुई वटा आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । जसमा माई खोला साना जलविद्युत ४.५ मेगावाट र माई खोला क्यास्केड जलविद्युत आयोजना ८ मेगावाट क्षमताको छ ।

यो कम्पनीको पनि आधाभन्दा बढी सेयर बिक्री प्रबन्धकले सकार्नु परेको थियो । अहिले हिमाल दोलखाको सेयर मूल्य प्रति कित्ता १३२ रुपैयाँ छ ।

त्यस्तै शिवश्री हाइड्रो पावर कम्पनीले पनि निष्काशन गरेको सेयरमा माग अनुसार आवेदन परेन । आईपीओ नै बिक्री नभएपछि आइपीओको प्रत्याभूति लिन प्रत्याभूतिकर्ता (अन्डरराइटर) ले आनाकानी गरेपछि विवाद निकै बढेको थियो । कम्पनीको सेयर सर्वसाधारणले मात्रै नभएर आयोजना प्रभावितले पनि किनेनन् । सो कम्पनीले २०७६ असोज १९ देखि कात्तिक १५ गतेसम्म सेयर बिक्रीको समय तोकेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्तासहित ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ खुला गरेको थियो । उक्त सेयरमा माग अनुसार आवेदन परेन ।

त्यसपछि संस्थापक तथा सञ्चालक वा निजका एकाघरका परिवार, कम्पनीका कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, कम्पनी व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिहरुलाई पनि आइपीओ भर्ने अवसर दिइयो । तर पनि मागअनुसार आवेदन परेन । बाँकी रहेमा सबै सेयर अन्डरराइटरले सकार्नुपर्यो ।

यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल थियो । उक्त कम्पनीको २४ लाख हाराहारी कित्ता सेयरमा आवेदन परेको थिएन ।

उक्त सेयर प्रत्याभुतिकर्ताले सकार्नु परेको थियो । त्यो समयमा अन्डरराइटरले पनि सेयर सकार्न नमानेपछि धितोपत्र बोर्डलाई पनि केही समय टाउको दुखाईको विषय बनेको थियो ।

शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको माथिल्लो चाकु ‘ए’ जालविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको प्रत्याभुतिकर्तामा सीबीआइएल क्यापिटल र मुक्तिनाथ क्यापिटल थिए । यी दुई सरंस्थाले ५० प्रतिशतका दरले सेयर प्रत्याभूति गर्ने सम्झौता गरेका थिए ।

सो कम्पनीको सेयरमा प्रत्याभुतिकर्ताले नसकार्नुको कारण कम्पनीले दिने सूचनालाई आधार मानेको थियो । सेयर निष्कासन गरेको दुई महिनापछि आयोजनामा बाढीले क्षति पुर्याएको थियो । तर क्षतिको बारेका कम्पनीले समयमै जानकारी नदिएको अन्डरराइटरको गुनासो थियो ।

लामो समयको विवादपछि उक्त सेयर अन्डरराइटरले सकारे । उक्त सेयर बाँडफाँट भएको सेयर १ वर्षपछि मात्रै सूचीकृत भयो । यति मात्रै नभएर सेयर नबिकेको बुटवल पावर कम्पनीको पनि हो ।
त्योबेला आईपीओमा लगानीकर्ताको ध्यान नगएको समयमा बुटवल पावर कम्पनीले एफपीओ ल्याएको थियो । त्यो पनि बिक्न सकेन । शिवश्रीको सेयर मूल्य अहिले प्रति कित्ता १५४ रुपैयाँ रहेको छ ।

सेयर नबिकेका कारण अन्डरराइटरले सकार्नु परेको अर्को कम्पनी हो युनिभर्सल पावर । यूनिभर्सल पावरले स्थानीयलाई निष्काशन गरेको सेयरमा माग अुनसार आवेदन नपरेर तीन पटकसम्म समय थपेर निष्काशन गर्नु परेको थियो । कम्पनीले २०७५ माघ २५ गतेदेखि फागुन २५ गतेसम्म सेयर बिक्रीको समयसीमा तोको थियो ।

सो कम्पनीको सेयर निश्कासनमा पनि माग अनुसार आवेदन परेन । स्थानीयले नकिनेको सेयर सर्वसाधारणलाई त धेरै कम्पनीले बिक्री गरेका छन् ।

आईपीओ मात्रै होइन, जलविद्युत् कम्पनीको एफपीओ पनि नबिकेर कम्पनीहरु हैरान परेका थिए । बुटवल पावर कम्पनीले जारी गरेको २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँको ४० लाख ८१ हजार कित्ता एफपीओ माग अनुसार बिक्री भएन । बिक्री नभएपछि एक महिनासम्म समय थपियो । तै पनि बिकेन । पटक–पटक समय थप्दापनि नबिकेपछि संस्थागतलाई पनि खुला गरियो ।

संस्थागत लगानीकर्ताले पनि माग अनुसार आवेदन दिन नसकेपछि ११ लाख ६१ हजार कित्ता सेयर प्रत्याभूतिकर्ता कम्पनीहरु किन्न बाध्य भएका थिए । एफपीओको मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ थियो । ५०१ रुपैयाँ एफपीओ किनेको लगानीकर्ता तथा प्रत्याभूतिकर्ताले उक्त सेयर अहिले प्रतिकित्ता ३९८ रुपैयाँ छ ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले पहिला सेयर बजार वियरिस ट्रेन्डमा रहेको जलविद्युत क्षेत्रलाई नियमन गर्ने नियमका नभएको कारण बजारमा सुधार आउन नसकेको टिप्पणी गरे ।

उनका अनुसार जुन बेला बजार वियरिस टे«न्डमा थियो त्यो बेला जलविद्युत क्षेत्रलाई लगानीकर्ताले रुचाएका थिएनन् ।

कतिपय जलविद्युत कम्पनी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका थिएनन्, आईपीओ आएपनि लाभांश खानको लागि तीन चार वर्ष लाग्ने जस्ता कारण लगानीकर्ताको ध्यान जान नसकेको अध्यक्ष रौनियारको तर्क छ ।

त्यो बेलामा झण्डै १८ वटा कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम थियो । त्यसले गर्दा पनि लगानीकर्ताले जलविद्युत कम्पनीको आईपीओमा आवेदन नदिँदा अन्डरराइटरले सकार्नु परेको उनको भनाइ छ ।

त्यो बेला सय रुपैयाँ भन्दा कम मूल्य रहेको कम्पनीको सेयर अहिले डेढ सय भन्दा माथि पुगेको र कतिपय कम्पनी राष्ट्रिय प्रसारण लाइनमा जोडिएकाले पनि लगानीकर्ताको ध्यान बढी गएको उनको भनाइ छ ।


क्लिकमान्डु