बुध्द एयरले भगिनी संस्था ‘यशोधा’मार्फत् दुर्गममा उडान शुरु गर्ने, २ विमान किन्दै



काठमाडौं । आन्तरिक उडानमा अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले दुर्गम (स्टोल) रुटका लागि भगिनी संस्था ‘यशोधा’ सञ्चालन गर्ने भएको छ । कम्पनीले केही समयभित्रै ‘यशोधा’ नाममा वायुुसेवा कम्पनी शुरु गर्ने भएको बुध्द एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

२३ वर्षअघि सन् १९९७ अक्टोबर १ तारिखदेखि सेवा शुरु गरेको बुध्द एयरले बिकट क्षेत्रमा भगिनी संस्थामार्फत उडान गर्ने योजना बनाए अनुसार काम अगाडि बढाइसकेको छ ।

‘आन्तरिक बजारमा हामी अग्रणी नै छौं, बिजनेस ग्रोथका लागि हालको क्षेत्र सीमित बन्दै गएको अवस्था छ । यस्तो अवस्थामा हामी दुर्गम क्षेत्रको उडानमै बढी केन्द्रित खोजिएको हो,’ बस्नेतले क्लिकमाण्डूसँग भने ।

बस्नेतका अनुसार सन् २०२२ को सेप्टेम्बरदेखि उडान शुरु गर्ने गरी अहिले आन्तरिक तयारी शुरु भइसकेको छ । शुरुमा यसको आधार क्षेत्र रामेछापको मन्थली बनाइनेछ । जसका लागि २० रोपनी जग्गा खरिद भइसकेको उनले जानकारी दिए ।

‘यसअघि हामीले अन्तर्राष्ट्रिय उडानमा पनि अभ्यास नगरेको होइन, तर यसका लागि विभिन्न फ्याक्टरहरुले गर्दा हामीले अपेक्षाकृत रुपमा सफलता हासिल गर्न सकेनौं । फलस्वरुप भारतको कलकता, लखनउ, बनारसलगायतका स्थानमा १० देखि १२ करोड रुपैयाँ घाटा भइसकेको छ । त्यसैले अब हाम्रो रणनीति दुर्गम क्षेत्रमा छ,’ उनले भने ।

बस्नेतका अनुसार सन् २०२२ सम्ममा विदेशी पर्यटकको आगमन पहिले जस्तो हुने अवस्था छैन । कोरोनाको महामारीका कारण अहिले पनि विदेशी पर्यटक आउन सकेका छैनन् ।

‘अन्तर्राष्ट्रिय उडान गर्दा विभिन्न समस्या आए, एउटा स्लट पाउने तर अर्को स्लट नपाउने अवस्था आयो । जसले गर्दा सञ्चालक खर्च र मार्केटिङ खर्च बढ्ने तर सो अनुसार आम्दानी हुन सकेन । त्यसैले अब अन्तर्राष्ट्रिय उडानमा हामीले सम्भावना देखेनौं,’ उनले भने ।

कम्पनीले यसका लागि २ वटा विमान खरिद गर्ने योजना बनाएको बस्नेतको भनाइ छ । उनका अनुसार हालसम्म बुध्द एयरबाटै गर्ने वा यशोधा नाममा कम्पनी दर्ता गरेर उडान शुरु गर्ने भन्नेमा आन्तरिक तयारी भइरहेको छ ।

आन्तरिक तयारी सकिएपछि मात्रै नागरिक उड्डयन प्राधिकरण नेपालमा दर्ता र अनुमतिको प्रक्रिया अगाडि बढ्नेछ ।

हाल दुर्गम क्षेत्रमा ३९ वटा विमानस्थल सञ्चालनमा छन् । ती गन्तव्यमा उडान गर्दा राम्रो ग्रोथ हासिल हुने सम्भावना भएकै कारणले कम्पनीले दुर्गम क्षेत्रमा उडान गर्ने तयारी गरेको हो ।

क्यानको पछिल्लो नीति अनुसार आन्तरिक उडानका कम्पनीलाई न्यूनतम २५ करोड रुपैयाँ चुक्तापुँजी आवश्यक पर्छ । अनुमति पाइसकेपछि ६ महिनाभित्रमा उडान शुरु गरिसक्नुपर्छ ।

बस्नेतका अनुसार रामेछापको मन्थली आधार बनाएर लुक्ला, ताप्लेजुङ र भोजपुर विमानस्थलमा शुरुवाती उडान गर्ने लक्ष्य लिइएको छ । त्यसका साथै सुकेटार विमानस्थलमा पनि उत्तिकै सम्भावना छ ।


पुष्प दुलाल