कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् अहिलेका मूख्य सूचक



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ४ चार महिना अर्थात् कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.०५ प्रतिशत छ ।

आयात १०.६ प्रतिशतले घटेको छ भने निर्यात १०.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.२ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोड रुपैयाँले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च २ खर्ब ५० अर्ब ४१ करोड रुपैयाँ र राजस्व परिचालन २ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ छ ।

विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २१.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ५.४ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.८ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १२.३ प्रतिशत छ ।

उपभोक्ता मुद्रास्फीतिः २०७७ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.७६ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीतिः २०७७ कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५७ प्रतिशत रहेको थियो ।

तलव तथा ज्यालादर सूचकाङ्कः २०७७ कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ०.८५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १०.४६ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क १.१० प्रतिशतले बढेको छ ।

निर्यातः आर्थिक वर्ष २०७७/७८ को चार महिनामा कुल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई ४० अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १४.९ प्रतिशत र ६.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५९.२ प्रतिशतले घटेको छ ।

आयातः आर्थिक वर्ष २०७७/७८ को चार महिनामा कुल वस्तु आयात १०.६ प्रतिशतले घटेर ४०२ अर्ब ४९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.१ प्रतिशत, २५.० प्रतिशत र १९.८ प्रतिशतले घटेको छ ।

विप्रेषण आप्रवाहः समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३३७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।

चालु खाता: समीक्षा अवधिमा चालु खाता २० अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिः २०७७ असार मसान्तमा १ हजार ४ सय १ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा १ हजार ५ सय ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको छ ।

वित्त घाटा/बचतः आर्थिक वर्ष २०७७/७८ को चार महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति १० अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ६५ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको थियो ।

खर्च तथा राजस्वः समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च २ खर्ब ५० अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २ खर्ब १९ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन २ खर्ब ७५ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।

नगद मौज्दातः २०७७ कात्तिक मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब २० अर्ब ९८ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।

सरकारी वित्त स्थिति प्रदेश सरकारः आर्थिक वर्ष २०७७/७८ को चार महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति ४० अर्ब ९० करोड रुपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी २९ अर्ब ९० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट १० अर्ब ९९ करोड रुपैयाँ परिचालन गरेका छन्

मौद्रिक स्थितिः आर्थिक वर्ष २०७७/७८ को चार महिनामा विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय २१.९ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जाः आर्थिक वर्ष २०७७÷७८ को चार महिनामा कुल आन्तरिक कर्जा ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा यस्तो कर्जा १५.७ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालनः समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ ।

कर्जा प्रवाहः समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापनः आर्थिक वर्ष २०७७/७८ को चार महिनामा रिभर्स रिपोमार्फत्६० अर्ब रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत् ३० अर्ब रुपैयाँ गरी कुल ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत् ३९ अर्ब ५२ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ५० अर्ब ५५ करोड रुपैयाँ गरी कुल ९० अर्ब ७ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

ब्याजदरः २०७६ कात्तिकमा ९१-दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.८३ प्रतिशत रहेकोमा २०७७ कात्तिकमा ०.७९ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ कात्तिकमा २.५९ प्रतिशत रहेकोमा २०७७ कात्तिकमा ०.१४ प्रतिशत कायम भएको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर-बैंक ब्याजदर २०७७ कात्तिकमा ०.१६ प्रतिशत कायम भएको छ ।

मर्जर/प्राप्तिः वत्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात २०७७ कात्तिक मसान्तसम्म कुल २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५७ संस्थाहरुको इजाजत खारेज हुन गई ५० संस्था कायम भएका छन् ।

वित्तीय पहुँचः कुल ७५३ स्थानीय तहमध्ये २०७७ कात्तिकसम्म ७४८ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ कात्तिकसम्म ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।


पुष्प दुलाल