अन्तर बैंक एटिएममा नयाँ शुल्क निर्धारण हुँदै, डिजिटल कारोबारको शुल्क घट्ने



काठमाडौं । डिजिटल कारोबारको शुल्क घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले एटिएम बाहेकका अन्य विद्युतीय कारोबारको शुल्क घटाउने तयारी गरेको हो ।

केन्द्रीय बैंकले गत बिहिबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गर्दै ‘बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने’ उल्लेख गरेको छ ।

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक अनुसन्धान विभाग र व्यवस्थापन कमिटीले विद्युतीय भुक्तानी कारोबारको शुल्कका विषयमा नीतिगत व्यवस्था गरेपनि त्यसको कार्यविधि बनाएर लागू भने सम्बन्धीत विभागले नै गर्नेछ ।

जसका लागि राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले अध्ययन तथा छलफल शुरु गरिसकेको छ । हाल निःशुल्क गरिएको अन्तर बैंक एटिएम कारोबारमा पुनः शुल्क लगाउने र अन्य विद्युतीय कारोबारको शुल्क केही घटाउने बारेमा हाल छलफल भइरहेको विभागका एक अधिकारीले बताए ।

‘अन्तर बैंक एटिएम कारोबार नयाँ शुल्क लगाउने र अन्य केही विद्युतीय कारोबारका शुल्क भने घटाउने हो कि भनेर त्यसमा छलफल भइरहेको छ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘विषेशगरी इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यू आरमा आधारित, पिओएस, बालेट र इकर्मश कारोबारको शुल्क घटाउने बारे अध्ययन तथा छलफल अहिले भएको हो ।’

अहिले परिस्थीति अनुसार अन्तरबैंक एटीएम शुल्क तय गर्ने अधिकार बैंकलाई नै दिने र यस बाहेक अन्य नगद रहित विद्युतिय कारोबारको शुल्कमा पनि पुनरावलोकन गरिने उनले बताए ।

‘अब २÷३ दिनमा नै कार्यविधि बनाएर सार्वजनिक गर्ने तयारीमा विभाग जुटेको छ,’ ती अधिकारीले भने, ‘अहिले केही बैंकहरुले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङमा चर्को शुल्क लिरहेका छन् भन्ने गुनासो छ, त्यसलाई नजिकबाट बुझिरहेका छौँ ।’

अबको नयाँ कार्यविधि अनुसार आवश्यकता भन्दा बढी शुल्क लिने बैंकलाई राष्ट्र बैंकले सुपरिवेक्षण गरी कारबारी समेत गर्ने उनले जानकारी दिए ।

अब भने राष्ट्र बैंकले शुल्कमार्फत् नगद कारोबारलाई निरुत्साहित गर्ने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंक स्रोतले बताएको छ ।

नगद भिक्ने प्रयोजनका लागिमात्र ग्राहकको भीड बैंकमा हुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने हुँदा राष्ट्र बैंकले गत साउनदेखि अन्तर बैंक एटिएम कारोबार अर्को निर्देशन नहुँदा सम्म निःशुल्क गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।

तर केही बैंकहरुले केही बैंकहरुले आफ्ना एटीएम नै खाली राख्दा ग्राहक समस्यामा पर्नुका साथै केही बैंकहरुको एटीएमको कष्ट बढेको समेत गुनासो राष्ट्र बैंकमा परेको थियो ।

बैंकहरुले लक डाउन बीचमा स्यमः अन्तर बैंक एटीएम कारोबार निःशुल्क बनाएका थिए । सरकारले लकडाउन खुल्ला गरेसँगै बैंकहरुले पुन शुल्क लिन थालेका थिए । तर राष्ट्र बैंकले त्यसलाई अर्को निर्देशन नहुँदा सम्मको लागि निःशुल्क बनाएको हो ।

राष्ट्र बैंक नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । साथै कोरोनाको संक्रमण नेपालमा बढेसँगै बैंक तथा वित्त कम्पनीहरुले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न स्कीमहरु ल्याएका छन् ।

नेपालका कोरोना संक्रमण बढेपछि डिजिटल कारोबारमा सकारात्मक सुधार आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोज मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरुले आर टिजिएसमार्फत् १४ खर्ब ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ, एटीएममार्फत् ४६ अर्ब ७८ करोड ५० लाख रुपैयाँ, ६ अर्ब ३१ करोड ४० लाख रुपैयाँ, मोबाइल बैंकिङमार्फत् २८ अर्ब ८० करोड ४० लाख रुपैयाँ, वालेटमार्फत् ९ अर्ब ८८ करोड ३० लाख रुपैयाँ, पिओएसमार्फत् २ अर्ब ३४ करोड ९० लाख रुपैयाँ र ई-कर्मशमार्फत् ७९ करोड ४० लाख रुपैयाँको कारोबार गरेका छन् ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएपनि एटीएम शुल्क निःशुल्क बनाएर नगद कारोबारलाई प्रोत्साहन गरेको आरोप लाग्दै आएको छ ।

बैंकहरुले शुल्क लिँदा समेत मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको कारोबार बढेको हँदा राष्ट्र बैंकले शुल्कमार्फत् डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु पर्ने नेपाल बैंकिर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

‘इन्टरनेट, मोबाइल बैंकिङको कारोबार पछिल्लो समय धेरै बढेको छ, यसलाई राष्ट्र बैंकले शुल्कमार्फत् अझ प्रोत्साहन गरेर बढाउन प्रयास गर्नु पर्छ,’ शर्माले क्लिकमाण्डूसँग भने, ‘अहिले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने भनिरहँदा अन्तर बैंक एटीएम कारोबार निःशुल्क हुँदा यसले नगद कारोबारलाई नै प्रोत्साहन गरेको छ ।’

नेपालमा साच्चै नै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने हो भने राष्ट्र बैंकले विद्युतिय कारोबारको शुल्क पुनरावलोकान गर्दा एटीएम शुल्क लगाएर डिजिटल कारोबारलाई निःशुल्क गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय बैंकहरुले डिजिटल बैंकिङ कारोबारमा राम्रो गरिरहेको हुँदा यसलाई बढाउन नगद कारोबारलाई निरुत्साहित गर्दै गद कारोबारमा शुल्क लगाउनेदेखी यसको कारोबारमा समेत सीमा लगाउनु पर्ने उनले बताए ।

अन्तर बैंक एटीएम कारोबार निःशुल्कले एटीएम व्यवस्थापनमा लापरवाही हुनुका साथै, यसले नगद कारोबारलाई प्रोत्साहन गरेको बैंकर्सहरुले राष्ट्र बैंकमा गुनासो गर्दै आएका थिए ।


पुष्प दुलाल