चन्द्रजी नै महासंघको स्वतः अध्यक्ष हो, हटाउने गेम खेल्दैनौंः मुरारका



हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनलाई व्यवसायीहरु नै चण्डीराज ढकाल भर्सेस पशुपति मुरारका भन्थे । उम्मेद्वारहरु बाहिर देखिए पनि चण्डीले एउटा समूहको र पशुपतिले अर्को समूहको डिजाइन गरेका थिए । आफूले समर्थन गरेका उम्मेद्वार जिताएर महासंघमा चण्डीले लामो समय रजगज गरेका थिए । तर, यो पटक चण्डीको पेवाजस्तै रहेको विशिष्ट पदमा मुरारका आएपछि व्यवसायीहरुले नै दोस्रो चण्डीका रुपमा महासंघमा मुरारकाको इन्ट्री भएको भन्न थालेका छन् । महासंघको अहिलेको समिकरणका डिजाइनर समेत रहेका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारकासँग क्लिकमाण्डूका लागि पुष्प दुलाल र कमलकुमार बस्नेतले गरेको कुराकानीः 

तपाईंहरु महासंघमा शुद्धिकरण गर्ने अभियानमा लाग्नु भएको थियो । पूर्वअध्यक्षहरु आएर फेरि सक्रिय हुने परम्परालाई अन्त्य गर्दै निर्वाचितहरुले मात्रै महासंघ चलाउनुपर्छ भन्नु हुन्थ्यो । तर तपाई चण्डीराज ढकाल बसेको कुर्सीमा बस्न आउनुभयो । अलिअलि पनि लाज लागेन ?

हाहाहा (लामो हाँसो) । महासंघमा जो निर्वाचित सदस्यहरु छन् । उनीहरु नै कार्यकारी हुन् । र, महासंघ चलाउने पनि उनीहरुले नै हो । यसमा दुईमत छैन । हामी अहिलेदेखि होइन पहिलेदेखि नै यो भन्दै आएका छौं ।

जहाँसम्म विशिष्ट सदस्य पदको कुरा गर्नु भयो । त्यसमा कुरा गर्दा विधान हेर्नुपर्छ । कार्यसमितिले एक जनालाई विशिष्ट सदस्यका रुपमा चयन गर्न सक्छ । र, उसले आमन्त्रित सदस्यका रुपमा काम गर्ने हो । उसको भोटिङ अधिकार पनि हुँदैन । यो भन्ने वित्तिकै अधिकार हुने कुरा भएन । तर, अहिलेसम्म यो पद बदनाम र गन्हाउने भइसकेको छ । मलाई यो पदमा बस्न मन थिएन । शेखरजीले मलाई नै नसोधी मनोनयन गर्नुभयो । यो मेरो रहरभन्दा पनि बाध्यता भयो । यो पद जति बदनाम र दुर्गन्धित भएको छ, त्यसलाई सुगन्धित पार्ने अबको प्रयास रहन्छ ।

पात्र फेरियो तर प्रवृत्ति भने फेरिएन, शुद्धीकरणको अभियान कुनै एक पात्रलाई पाखा लगाउनुमात्रै थियो ?

अहिलेको अवस्थामा प्रवृति फेरिएको र नफेरिएको कसरी भन्ने हो मलाई थाहा छैन । म प्रमाणित गर्न पनि सक्दैन, समयले प्रमाणित गर्ला । हिँजोमात्रै महासंघको नयाँ कार्यसमितिका सदस्यहरु अर्थमन्त्रीलाई भेट्न जानु भएको थियो । तर म गइँन । जानकारी त मलाई पनि आएको थियो । तर विशिष्ट सदस्यको पदमा बस्नेलाई कार्यकारी अधिकार छैन । उसले परेको बेलामा सल्लाहमात्रै दिने हो ।

कहिलेकाँही हिलो सफा गर्नका लागि हिलोमा पस्नुपर्छ । म हिलो सफा गर्ने उदेश्यले अहिले हिलोमा पसेको हुँ । भोलिका दिनमा मपछि यो पदमा बस्न आउनेले सम्मानित भएको महसुस गरोस् । आजका दिनमा यो पद त्यत्ति सम्मानित हुन सकेको छैन ।

विशिष्ट सदस्यको अवधारणा पूर्वअध्यक्षहरुलाई ल्याउने भन्दा पनि अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएको र महासंघलाई सैद्दान्तिकरुपमा अर्थतन्त्रको एजेन्डामा अघि बढाउन मद्दत गर्ने व्यक्तिका लागि होइन र ?

मेरो सोच पनि त्यही नै हो । एउटा विज्ञलाई राख्नु पर्ने ठाउँ हो । अब विधान संशोधन भयो भने यसैअनुसार राख्नुपर्छ जस्तो लाग्छ ।

महासंघको राजनीतिमा चण्डीलाई निकै शक्तिशाली व्यक्ति मानिन्थ्यो । त्यही शक्तिको आडमा विशिष्ट सदस्य बनेर उनी महासंघमा सक्रिय हुन्थे । यो पटक तपाईंले चण्डीको पेवाजस्तै बनेको विशिष्ट पद फुस्काइदिननुभयो । भनेपछि अब तपाईं शक्तिशाली हुनुभयो भनेर बुझ्नुपर्ने भयो होइन त ?

विशिष्ट पद मैले फुस्काएको होइन । विशिष्ट पदलाई दुरुपयोग गरिएको हो । अनावश्यकरुपमा ठूलो बनाइएको हो । विगतमा यो पदमा बसेर पदका नाममा राजनीति गरिएको हो ।

महासंघको निर्वाचनपछि मतगणना भइरहँदा वस्तुगत र जिल्लानगर उपाध्यक्षमा तपाईंहरुको समूहका उम्मेद्वार निर्वाचित भएपछि मध्यरातमा तपाईंलाई बधाईको ओइरो आइरहेको देखिन्थ्यो । त्यसको अर्थ तपाईं शक्तिशाली भएको संकेत होइन र ?

एउटा टीमलाई सर्मथन गर्दै जाँदा र त्यसले जित निकाल्दा समर्थन गर्ने सबै बधाईका पात्र बन्छन् । र, त्यो बधाई पाउने पात्रमध्ये म पनि एक हो । साथीहरुले जित्नु भएको छ । मैले जुन समूहलाई समर्थन गरेको छु त्यो टीमले जितेको अवस्थामा मलाई बधाई आउनु स्वभाविक हो । त्यो मलाई मात्रै आएको होइन सबैलाई आएको हो ।

तपाईंले राम्रैसँग आफ्नो प्रतिरक्षा गर्न खोजिरहनु भएको छ । तर, तपाईं इतरका सरोकारवालाहरुले मुरारकाले यो सब काम महासंघमा शक्तिकेन्द्र जमाउनका लागि गरेको भन्ने आरोप लगाइरहेका छन् । आखिरीमा आरोप त सत्य देखियो नि, होइन र ?

त्यो सत्य होइन । किनभने जुन मान्छे अध्यक्ष भइसकेको छ । उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र निर्वतमान अध्यक्षका रुपमा १० वर्षसम्म पदाधिकारीका रुपमा बसेर काम गरिसकेपछि फेरि बस्ने इच्छा हुन्छ र ? म त्यो पद पाएकोमा कुनै पनि खुसी छैन । र, त्यो पद पाउनका लागि गरेको पनि होइन ।

खुसी हुनुहुन्न भने त राजीनामा गरे भइहाल्यो नि ?

कतिपय बेलामा मजबुरी पनि हुन्छ । म राजीनामा दिनसक्छु, दिन नसक्ने पनि होइन । तर कतिपय अवस्थामा जिम्मेवारी लिनुपर्ने हुन्छ ।

विशिष्ट सदस्यको कुर्सी यसअघि गन्हाएको थियो भनेर तपाईंले नै भन्नुभयो । तपाईं आफू बस्दा मास्क लगाएकाले गन्हाएको पनि थाहा नपाएको पो हो कि ?

हाहाहाहा (लामो हाँसो) । अब म त्यसलाई सुगन्धित बनाउँछु ।

कसरी बनाउनुहुन्छ ?

त्यो पदमा बस्ने जो कोहीका लागि पनि सीमितता छन् । त्यो पदका नाममा हरेक ठाउँमा रुलिङ गर्ने, हरेक ठाउँमा मै सबैभन्दा माथि हो भन्ने प्रवृतिले न त्यो पद गन्हाएको हो । तर त्यो पद त केही पनि होइन । त्यो पदमा त एकजना विज्ञ, आफूलाई सरसल्ला दिन सक्ने, आफूले पत्याएको र क्षमता भएको मानिस नै राख्ने हो । र, महासंघमा पूर्वअध्यक्षहरुलाई राख्ने परम्परा अनुसार नै अहिले पनि राखेको हो ।

हामीहरुबीच के पनि सल्लाह भएको छ भने यदि विधान संशोधन हुन्छ भने या त त्यो पदलाई नै हटाइदिउँ वा केही त्यस्तै क्लजहरु राखौं ताकी पूर्वअध्यक्षहरु आउन नपाओस् भन्ने विषयमा पनि कुरा भइरहेको छ । र, म त्यो पदलाई जस्टिफाइ गर्छु भन्नेमा विश्वस्त छु । पहिलो कुरा त मैले हस्तक्षेप गर्दिन ।

तपाईंलाई मानिसहरुले के आरोप लगाइरहेका छन् भने शेखर गोल्छा राजनीतिक लप्पनछप्पन नजान्ने इमोशनल र इनोसेन्ट व्यक्ति हो । शेखरले पशुपति मुरारकारलाई नसोधी कुनै पनि निर्णय गर्दैनन् । बिजुलीबजारमा बसेर महासंघ चलाउन खोजेकै हो ?

यो कुराले मलाईभन्दा पनि शेखर गोल्छाको अपमान भएको जस्तो मलाई लाग्छ । शेखरजी एउटा घरानाबाट आएको मानिस हो । सफल उद्यमी । र, अर्को कुरा नेपालमा सबैभन्दा बढी यदि कुनै कम्पनीमा कर्पोरेट कल्चर छ भने त्यो शेखरकै कार्यालयमा छ । जुन किसिमले उहाँले व्यवस्थापन गर्नु भएको छ । उहाँलाई कसैले सिकाइ राख्नु पर्दैन ।

राजनीतिक जालबाजी जान्नै पर्छ भन्ने पनि जरुरी छैन । उहाँ अध्यक्ष भइसकेपछि विधि, विधान र प्रक्रिया अनुसार नै गर्ने हो । उहाँलाई आफ्नो काम गर्नका लागि अरु कसैको सल्लाह चाहिन्न ।

तर कतिपय अवस्थामा गहन निर्णय गर्नुपर्ने अवस्थामा एक्लैले गर्न सक्ने विषय नभएकाले अरुको सल्लाह र सुझाव चाहिन सक्छ । यस्तो अवस्थामा आँखा चिम्लेर विश्वास जसलाई विश्वास गर्न सकिन्छ, उसैलाई बढी विश्वास नै गर्ने हो । सल्लाह लिने हो ।

विगतमा विधान संशोधन गरेर शेखरलाई अध्यक्ष बन्न नदिने जुन किसिमका घटनाक्रम भए त्यसमा मैले सहयोग गरेको हो । र, अब पनि उहाँले सल्लाह÷सुझाव मागेका ठाउँमा निजी क्षेत्रको विकासका लागि मेरो विवेक र क्षमताले भ्याएसम्म सकरात्मक सल्लाह/सुझाव दिएर सहयोग गर्छु ।

निवर्तमान अध्यक्ष हुँदा बढाएको सक्रियता विशिष्ट हुँदैमा नियन्त्रण गर्न सकिएला र ?

तत्कालीन समयमा जुन घटनाक्रम विकास भयो । शेखरीलाई स्वतः अध्यक्ष बन्न नदिन विधान संशोधन गर्ने कुरा आएपछि त्यसमा हामी मिलेर लडेको हो । रोकेकै हो । त्यो समयमा शेखर गोल्छाबाहेक अरु व्यक्ति भएको भए पनि म त्यसैगरी लड्ने थिएँ । र, यदि अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भएका चन्द्र ढकालको विषयमा त्यही कुरा उठ्यो भने म त्यसैगरी लड्छु । चन्द्रजी यो विधान अनुसार २ कार्यकालका लागि निर्वाचित हुनु भएको छ । विधिको शासन हुनुपर्छ । हिँजोका दिनमा शेखर गोल्छालाई हटाउन खोजेका बेला यो तर्क दिने र भोलिका दिनमा चन्द्रजीलाई हटाउने खेल हुन्छ भने म मुखदर्शक भएर बस्नु त गलत हुन्छ ।

शेखरजीलाई स्वतः अध्यक्ष हुन नदिने षड्यन्त्रविरुद्ध तपाईं अग्रपंगीमा बसेर लड्नुभयो । अन्तिम समयमा तपाईंले कानूनी चुनौति दिएपछि विधान संशोधन गरेर शेखरजी हटाउन लागेको समूह पछि हट्यो । अब तपाईले भनेको कुरा शेखरजीले मान्नु पर्छ कि पर्दैन, तपाईंहरुबीच के कस्तो शर्त छ ?

पर्दैन । हिँजोका दिनमा समर्थन गरेको हो भन्दैमा मान्नुपर्छ भन्ने छैन । निर्वाचनमा एकजनाको झण्डा बोकेर पनि हिँड्छौं । म आफू त्यो ठाउँमा बस्नुपर्छ भनेर समर्थन गरेको पनि होइन । उहाँको नीति, काम गर्ने तरिका भन्ने आधारमा समर्थन गरेको हो । नेपालका हरेक नागरिकले प्रधानमन्त्रीलाई भोट दिएका होलान । तर सबै त्यहीँ ठाउँमा बस्नुपर्छ भन्ने हुँदैन । उहाँले आफ्नो तरिकाले काम गर्नुहुन्छ । मानिस अनुसारका तरिका पनि फरक हुन्छ । सोच पनि फरक हुन्छ । नयाँ व्यक्ति आएपछि नयाँ विचार पनि आउँछ । म अध्यक्ष हुँदा पनि कसैको दबाबमा काम गर्न चाहिँन । सल्लाह सुझाव लिएँ तर आफैले निर्णय गरेको हुँ । उहाँले मसँग सल्लाह लिन सक्नुहुन्छ त्यो पनि जरुरी छैन । अनुमति लिनु पर्दैन ।

लामो समयदेखि चुनावम आफूलाई ठेकेदार ठान्ने शक्तिसँग मतदाताहरु ‘इरिटेड’ भएका रहेछन् भन्ने प्रष्ट सन्देश त चुनावी परिणामले दियो नि !

म पूर्वअध्यक्ष भर्खरै भएको हुँ । अस्तीसम्म निवर्तमान अध्यक्ष थिएँ । भोटिङ अधिकार पनि थियो । त्यो समयमा मैले आफ्नो कुरा स्पष्टसँग राखेको हो । यसो गर्दा कसैले शक्तिकेन्द्रका रुपमा हेर्न पनि सक्छ । तर अब म पूर्वअध्यक्ष भइसकेको अवस्थामा भोलिका दिनमा कोही आएर समर्थन माग्छ भने समर्थन गर्ने हो । म सधैभरी महासंघमा बस्ने होइन ।

तपाईंले एसोशिएटमा गरेको राजनीतिक सिण्डिकेट पनि त मतदाताले मन पराएनन् नि । चन्द्रजी एक्लैले तपाईंको ‘पकेट एरिया’ भनिएको एसोशियटमा सानदार बिजयी हासिल गर्नु भनेको यसको प्रमाण होइन र ?

त्यो पनि हुनसक्छ । स्वीकार गर्छु । तर मैले भोट हाल्ने होइन । मैले कहिल्यै पनि एसोशियटमा म मात्रै हुँ भनेको छैन । यसपाली २ वटा प्यानलबाट गर्दा केही यताबाट र केही उताबाट आउनु भयो । हामीले समर्थन गरेको एसोसिएटको उपाध्यक्षले चुनाव जित्न सक्नु भएन । हारलाई स्वीकार गर्छु ।

तपाईंहरुको समूहमा एसोशियट त शतप्रतिशत जितिन्छ भन्ने ओभर कन्फिडेन्स थियो । उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योति युवा, स्मार्ट र निकै नै क्षमतावान पनि हुनुहुन्थ्यो । तर, जिताउन सक्नुभएन नि ?

हामीलाई कम मत आएको हो । सौभर ज्योति महासंघमा नुहुन भनेको महासंघलाई ठूलो घाटा हो । उहाँ सफल उद्यमीसँगै बौद्धिक व्यक्ति पनि हो । अरु कुरा भन्दा पनि हाम्रो उम्मेद्वारले हार्नु भएको छ, त्यो म स्वीकार गर्छु । तर अब हामी सबै एकजुट भएर जानुपर्छ । योभन्दा बढी टिप्पणी गर्न चाहन्न ।

सबैले चण्डीजस्ले हस्तक्षेप गरे भन्छन् । तपाईं अध्यक्ष र निवर्तमान अध्यक्ष भएर महासंघमा लामो समय विताउनु भयो । चण्डीराजले के कस्तो हस्तक्षेप गरे, भन्न सक्नुहुन्छ ?

उहाँले पदीय हैसियतभन्दा बढी खोज्नु भयो । जति अधिकार थियो । बढी भाग खोज्नु भयो । उहाँको भूमिका हस्तक्षेपकारी हुन्थ्यो ।

चण्डीजीले दावी गरे अनुसार तपाईं पहिले उहाँकै मान्छे हुनुहुन्थ्यो रे, के यो दावी सत्य हो ?

निर्वाचनको यो पनि राम्रो पक्ष हो । यो पनि सत्य हो । सुरज वैद्यका पालामा अध्यक्षको निर्वाचनमा हुँदा म उपाध्यक्षका लागि लडेको थिएँ । चण्डी दाई पनि सँगै हुनुहुन्थ्यो । एउटै टीममा थियौं । हिँजो किशोर प्रधान र शेखरजी लड्दा म र चण्डीदाई शेखरजीसँग थियौं ।

चन्द्रजीलाई एसोशियट उपाध्यक्षमा निर्विरोध बनाउँदा हामीसँगै थियौं । अहिले म किशोरजीसँग आएँ, उहाँको समर्थन चन्द्रजीलाई भयो । यो भइरहन्छ । निर्वाचनको समिकरण समयअनुसार परिवर्तन भइरहन्छ । यो पार्टीको राजीनित होइन । समयअनुसार जो मानिस चाहिन्छ त्यसैलाई ल्याउने हो । चण्डी दाईपछि कुशकुमार जोशी र सुरज वैद्य अध्यक्ष हुनुभयो । उहाँहरु सक्रिय हुनुहुन्न । म पनि अब सक्रिय हुँदैन । तर चण्डी दाईले विधान संशोधन गर्नुपर्छ र मलाई नै जिम्मेवारी दिनुपर्छ भन्ने कुरा त गलत भयो नि होइन र ?

शेखरजी पनि चण्डीजीकै समर्थनमा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनु भएको हो । चण्डीजीले पनि लामो समयदेखि आफूसँग रहेका किशोर प्रधानलाई समर्थन नगरेर शेखरजीलाई गर्नुभयो । कुरा कहाँ बिग्रियो र चण्डीजीले शेखरजीलाई जसरी पनि ६ महिनामा हटाउँछु भन्ने अवस्था आयो ?

मलाई यस विषयमा कुनै पनि कारण थाहा छैन । कारण नै छ भने पनि हटाउँछु भन्न त पाइँदैनन नि । विधानलाई नै मिचर हटाउछु भन्न पाइँदैन । सल्लाह सुझाव दिन्न भन्न पाइन्छ । सहयोग गर्दिन भन्न पाइन्छ । तर विधान मिच्न पाइँदैन ।

शेखरजीले चुनाव जित्न चण्डीको उपयोग गर्नुभयो । जितिसकेपछि चण्डीले भनेको मान्नु हुँदैन भनेर तपाईंले शेखरजीलाई भड्काउनु भयो भन्ने आरोप छ नि !

मैले त्यसो भनेको छैन । तर यदि कसैले राम्रो सल्लाह दिन्छ भन्ने मान्ने हो । सल्लाह दिन पाइन्छ । तर गलत भन्ने पाइँदैन । कुनै व्यक्ति ल्याउनका लागि विधान संशोधन गर्ने र कुनै व्यक्तिलाई हटाउन विधान संशोधन गर्ने भन्ने हुँदैन । विधान संशोधनबाट भवानी राणालाई फाइदा भयो होला तर हामीले व्यक्तिलाई हेरेर गरेको होइन । मुलुक संघीय संरचनामा गइसकेको थियो । प्रादेशिकस्तरमा पनि संरचना आवश्यक थियो । यसमा हामी सबैको स्वार्थ मिलेको हो । मेरो सोच कसैलाई ल्याउनका लागि भन्ने सोच थिएन । स्वतः अध्यक्ष बन्न लागेको व्यक्तिलाई हटाउँछु भन्दै हिँडेपछि विभाजित हुनु स्वभाविक नै हो ।

चण्डीजीले विधान संशोधनको कुरा ल्याउँदा रोक्न सक्छौं भन्ने विश्वास थियो ?

विश्वास थियो । रोक्न सक्छौं भन्ने थियो । किनभने सही कामलाई रोक्न गाह्रो हुन्छ । तर गलत कामलाई रोक्न गाह्रो हुन्न । विधान संशोध गर्नका लागि अनेक चरण पार गर्नुपर्ने थियो । हामीलाई एकपटक रोके पुथ्यो । उहाँहरुलाई ५ पटक जित्नुपर्ने अवस्था थियो । त्यसैले हामीले कुनै न कुनै ठाउँमा पछार्न सक्छौं भन्ने थियो ।

लामो समयसम्म चण्डीसँग रहेका व्यक्तिहरु छुटाएर आफ्नो समूहमा ल्याउन कसरी सफल हुनुभयो ?

वास्तवमा विधान संशोधन गर्ने सिलसिलामा भोलिका दिनमा भोटिङ मै गएको अवस्थामा हामीले बहुमत त पुर्याउनु पर्छ । त्यसका लागि म र शेखर भएर मात्रै पुग्दैन । स्पष्ट बहुमत चाहियो । ३ जना उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि हामीले एकजनालाई मात्रै मिलाउन सकियो भने सजिलो हुन्छ भन्ने अवस्था आयो । उहाँहरुलाई हामीले बुझायौं । उहाँहरुले पनि कुरा बुझ्नु भयो । त्यसकारण अहिले आएर निर्वाचनमा साथ दिएका हौं ।

तपाईंहरुले विगतमा निर्वाचनमा साथ दिनु भएका चन्द्र ढकालले त अहिले साथ छाड्नु भयो नि !

ठीक छ । त्यसलाई म गलत मान्दिन । उहाँले सँधैभरी साथ दिनुपर्छ भन्ने छैन । हिँजोका दिनमा साथ दिइएको हो । आजका दिनमा उहाँले साथ छाड्नु गलत होइन । यही त प्रजातान्त्रिक पद्धति हो । आज ३ जना उपाध्यक्ष हुनुहुन्छ । कसैले कसैलाई छाड्ने कुरा त भएन । निर्वाचनमै जाने हो । खेल हो । त्यही नियमअनुसार पालना गरेर खेल्ने हो । खेल सकिएपछि सबै सकियो । खेलको नियमअनुसार नै चल्ने हो । चण्डीजीको आफ्नो पकेटबाट यसपाली बहिस्कृत हुनु भएको छ । अति भयो भन्ने महसुस यसपालीको निर्वाचनले देखाएको छ ।

के अब महासंघमा चण्डीको शक्ति सकिएकै हो ?

त्यो मलाई थाहा छैन । भन्न पनि चाहन्न । तर मतदाताले दिएको मतको सम्मान गर्ने हो । निर्वाचित सदस्यले काम गर्न पाउनु पर्छ । अब समग्रमा भन्दा यो निजी क्षेत्रको जित हो । खेलाडीले खेल खेल्ने हो । उहाँहरुले नै जित्ने हो । मैदानमा लड्ने, कप उचाल्ने खेलाडी नै हो । हाम्रो संस्थाको राम्रो पक्ष के छ भने आइडियोलोजी एउटै छ । जुन प्यानलबाट लडे पनि उद्देश्य एउटै हो ।

अहिले तपाईं र अध्यक्ष गोल्छा एकै ठाउँमा हुनुहुन्छ । हरेक निर्णय सल्लाह गरेरै गर्नुहुन्छ । विधानमा रहेका धेरै व्यवस्था परिमार्जन गर्दै नयाँ कुराहरु पनि थप्नुपर्ने आवश्यकता देखिएको छ । फेरि शेखरजीले जस्तै चन्द्रजीले दुःख पाउने अवस्था आउँछ कि आउँदैन ?

विधान संशोधन गर्ने गराउने भनेको प्रक्रिया अगाडि बढाउने कार्यसमितिमार्फत् अध्यक्षको हो । पारित गर्ने काम साधारणसभाको हो । मलाई व्यक्तिगत रुपमा भन्ने हो भने म यही प्रणालीको पक्षमा छु । तर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने पहिलेको सोच अनुसार भएन । प्यानल बनाएर निर्वाचन नगरौं, राजनीति नगरौं भन्ने नै हो । विगतका इतिहासमा निर्वातमान अध्यक्ष र अध्यक्षको कुरा मिल्दैनथ्यो । त्यसैलाई हटाउने यो विधान संशोधन गरेका थियौं । तर अहिले विधान संशोधनको सोच अनुसार अहिले काम भएको पाइँदैन । त्यसैले अब साधारण सदस्यले जे भन्नुहुन्छ त्यही अनुसार नै गर्ने हो ।

पहिलो कार्यकारीणी बैठकमै अध्यक्ष शेखरजीले बरिष्ठ उपाध्यक्ष चन्द्रजीलाई आफूलाई जस्तो दुखको अवस्था कुनै पनि हालतमा आउन नदिने भनेर प्रतिवद्धता गर्नुभएको छ । हामीले हिँजो जुन विषयमा अन्याय भयो, विधिसंवत भएन भनेर लड्यौं भोलि त्यस्तोकाम गर्छौं होला भनेर सोच्नु पनि हुँदैन । अब चन्द्रजी नै स्वत अध्यक्ष हो ।

अहिले तपाईंहरुको बहुमत भएकाले साधारणसभाले उल्टाइदिने अवस्था पनि त छैन नि  !

कानून अनुसार चल्ने हो । कानून बनाउने विषयमा उल्टाउने भन्ने हुँदैन । त्यो कानून अनुसार ल्याउने कुरामा विमती हुन सक्ला । महासंघमा पनि विधान बनाउने विषयमा त सबैको सल्लाह र छलफल चाहिन्छ नै । त्यसमा छलफल हुने, संशोधन हुने भइहाल्छ । त्यसैले यो उल्टाउने भन्ने हुँदैन । विधान संशोधनको हकमा सबैको साथ र सहयोग चाहिन्छ । कार्यसमितिले लगेकै भरमा पारित गराउने भन्ने हुँदैन । साधारणसभाबाट पारित नै हुनुपर्छ । यसमा त मेरो र शेखरजीको मत नै फरक छ । शेखरजीले म प्रत्यक्ष निर्वाचित अध्यक्षको प्रस्ताव लिएर जान्छु भन्ने भएको छ । त्यो उहाँको अधिकारको कुरा हो । यसमा कार्यसमितिले जे प्रस्ताव लैजान्छ त्यही हुने हो । कार्यसमितिलाई प्रभावमा पार्ने काम मैले गर्दैन । त्यसैले मेरो व्यक्तिगत राय सल्लाह हुँदैन ।

फेरि विधान संशोधनको जिम्मेवारी पनि तपाईंलाई नै त दिइने होला नि ?

होइन । म त्यो जिम्मेवारी लिन्न । लिँदै लिन्न । म विगत १८ वर्षदेखि महासंघमा छु । प्रत्येक कुरालाई नजिकबाट हेरेको छु । मैले विधान सम्बन्धि यस्ता कुराहरु सुक्ष्मरुपमा हेरेको छु । त्यस्ता कुरामा कसैले सुझाव लिन्छन् भने त्यसलाई लिन सकिन्छ । र, विधान संशोधनको कुरामा कसले नेतृत्व लिन्छ भन्ने कुरा अध्यक्षको निर्णयमा भर पर्छ ।

विशिष्ट सदस्य पनि त बन्दिन भन्नुहुन्थ्यो नि ?

कतिपय कुरा मजबुरी हो । धेरै कुरा त भन्न पनि नमिल्ला । तर इच्छा नहुँदानहुँदै पनि विशिष्ट सदस्य हुन पुगेँ । मबाहेक अर्को व्यक्ति नभेट्टाइएको पनि होइन । तर विगतमा जे सिस्टम छ त्यसैलाई पालना गरेको हो कि जस्तो लाग्छ ।

निजी क्षेत्रको यति ठूलो संस्थाको निर्वाचनमा पनि मतदाता नै किनिन्छन् भन्ने कुरा सुनिन्छ, खास कुरा के हो ?

मतदाता नै किनिन्छन् भन्न त म भन्दिन् । केही विकृतिहरु छन् । त्यो विकृतिहरु हट्नुपर्छ । विधान संशोधन गरेर विकृतिलाई हटाउने प्रयास गर्नुपर्छ ।

महासंघ सबैभन्दा ठूलो संरचना भएको निजी क्षेत्रको एकमात्र संस्था हो । तर पछिल्ला समयमा हेर्दा गम्भीर बहसहरु गरेको देखिन्न नि । किन ?

महासंघ यसमा चुकेकै हो । म स्वीकार गर्छु । यो कुनै राजनीतिक पार्टीसँग जोडिएको संस्था होइन । तर राजनीतिक हिसाबले हेर्दा पनि गाह्रो समयमा कोही बोलिदिओस भन्ने हुन्छ नै । विगतमा ३ वर्षमा विधान संशोधन गर्ने कि नगर्ने कि भन्नेमै वित्यो । जबकी हामीले करका नीति, उद्योगका नीति, विदेशी लगानी, सरकारसँगको लविङका विषयमा हुनुपर्ने थियो । तर विधान संशोधनमै बहस गरेर बित्यो । यसमा हस्तक्षेप भन्न मिल्छ कि मिल्दैन त ? महासंघ जस्तो संस्थाले व्यवसायी, उद्योगका विषयमा छलफल र बहस बढी हुनुपर्ने हो ।

अब यस्तोमा निर्वाचित व्यक्ति आए भने, सरकोकारवाला व्यक्ति आएको अवस्थामा यी काम गर्न सकिन्छ । ३६ महिनाको कार्यकालमा ३४ महिना काम गर्नुहोस् । निर्वाचन आएको समयमा २ महिना राजनीति गर्नुस न । तर निर्वाचन सकिएको छैन अर्को निर्वाचनका लागि काम गर्न शुरु गर्ने होइन । उद्योग वाणिज्य महासंघमा विशुद्ध व्यवसायमा केन्द्रित हुनुपर्छ ।


क्लिकमान्डु