भूमिसुधार कार्यालयमा अनलाइनबाट फोटो र बायोमेट्रिक ल्याप्चे, फेरि फोटो टाँसी सहीछाप गर्न नपर्ने



काठमाडौं । भूमि, व्यवस्था तथा अभिलेख विभागले भूमि सूचना व्यवस्थापन प्रणालीमार्फत् कारोबार हुने कार्यालयहरूमा अनलाइन फोटो लिने र बायोमेट्रिक ल्याप्चे सहीछाप गराईसकेपछि पुनः फोटो टाँसी सहीछाप गर्न नपर्ने व्यवस्था सञ्चालनमा ल्याएको छ ।

भूमिसुधार/मालपोत कार्यालयहरूबाट प्रवाह हुने सेवालाई आधुनिक प्रविधिको माध्यमबाट छिटो, छरितो एवम् सरलीकृत गरी सुशासन कायम गर्ने उद्देश्यले उक्त व्यवस्था सञ्चालनमा ल्याएको हो ।

विभिन्न देशभरका कारोबार हुने मालपोत कार्यालयहरूबाट रजिष्ट्रेशन, लिखित पारित, नामसारी, दावी, खारेज हालसाविकलगायतका विषयमा दाखिल खारेज गरी नयाँ जग्गाधनी दर्ता श्रेस्ता र पूर्जा तयार गर्नुपर्ने प्रावधान थियो ।

साथै, हाल जग्गाधनीको अनलाइन फोटो लिने र बायोम्याट्रिक ल्याप्चे सहीछाप गराए पश्चात पुनः श्रेस्ता पूर्जामा अर्को फोटो टाँस गर्ने र ल्याप्चे सहीछाप गर्नुपर्ने थियो ।

उक्त कार्य अनलाइन प्रणालीको उद्देश्य विपरीत तथा दोहोरो प्रक्रिया भएकाले पुनः सहीछाप गर्न नपर्ने व्यवस्था ल्याएको विभागले जनाएको छ ।

हाल १०८ वटा कार्यालयहरूमा भू–अभिलेख सूचना व्यवास्थापन प्रणालीको माध्यमबाट सेवा प्रदान भइरहेको सन्दर्भमा हाल कार्यालयबाट भइरहेका सेवा प्रवाहका केही प्रक्रियालाई परिमार्जन गर्न आवश्यक देखिएकाले परिमार्जन गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार अब भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत कारोबार हुने कार्यालयमा अनलाइन फोटो लिने र बायोम्याट्रिक ल्याप्चे सहीछाप गराईसकेपछि पुनः फोटो टाँसी सहीछाप गराउने कामको अन्त्य भएको महानिर्देशक पौडेलले दावी गरे ।

साथै हालसम्म हस्तलिखित रुपमा बनाउने गरिएको श्रेस्ताको सट्टा नयाँ ढाँचा अनुसार कम्प्युटर प्रणालीमा कायम हुने श्रेस्तालाई नै एक प्रति प्रिन्ट गरी प्रमाणित गरी श्रेस्ता कायम गर्ने व्यवस्था मिलाउने भएको छ ।

त्यसैगरी, बैंक तथा वित्तिय संस्था, सहकारी लगायतका निकायहरूबाट धितो बन्धक पारित भएको, पत्रको आधारमा गरिने रोक्काहरू र व्यक्तिगत दृष्टि बन्धकहरूबाट गरिएका रोक्का प्रयोजन समाप्त भई फुकुवा गर्ने क्रममा सम्बन्धित जग्गाधनीको समेत सनाखत गराई फुकुवा गर्ने व्यवस्था थियो ।

तर, अव रोक्का राख्ने निकायबाट फुकुवा पत्र लिई आउने प्रतिनिधि र व्यक्तिगत दृष्टि बन्धकको हकमा धनीको मात्रै सनाखत गराई फुकुवा गराउने विभागको भनाइ छ ।

त्यस्तै, हाल सेवा प्रवाहको क्रममा सेवाग्राहीले बुझाउनु पर्ने राजश्व वापतको रकम बैंकमा जम्मा गरी सक्कलै बैंक भौचर पेश गर्नुपर्थ्यो।

पेश गरेपश्चात कार्यालयले सोही भौचरको आधारमा पुनः नगदी रसिद काट्ने व्यवस्था थियो । उक्त व्यवस्थाले काममा दोहोरो पर्न गई ढिलासुस्ती सकेत भएको हुँदा अब सेवाग्राहीले पेश गरेको सक्कलै बैंक भौचर नै सम्बन्धित लिखत÷मिसिलमा संलग्न गरी काम कारवाही गर्ने गराउने भएको छ ।

साथै, दैनिकरुपमा संकलन भएको राजश्व भौचर अनुसारको विवरण तयार गरी सम्बन्धित शाखाले लेखा शाखामा पठाउने व्यवस्था रहेको विभागले जनाएको छ ।

कोभिड–१९ को बढ्दो संक्रमण र यसबाट सेवाग्राही तथा कर्मचारीमा पर्नसक्ने स्वास्थ्य जोखिम एवम् सेवाग्राहीको सुविधा समेतलाई मध्यनजर गरी कार्यालय प्रमुखले प्रचलित कानूत विपरित नहुने गरी आवश्यकता अनुसार सेवा प्रवाहका प्रक्रियालाई थप सरल तथा सहज बनाई भिडभाड कम गर्न प्रयत्न गरिरहेको विभागले जनाएको छ ।


क्लिकमान्डु