माग प्रमाणीकरण नभएपछि धमाधम भिजिट भिसामा विदेश जाँदै श्रमिक



काठमाडौं । कोरोना महामारीले गर्दा करिब ९ महिना बन्द भएका म्यानपावर कम्पनीले हाल विभिन्न गन्तव्य मुलुकमा श्रमिक पठाउन थालेका छन् ।

लामो समयको बन्दाबन्दी र नियमित उडान हुन नसक्दा म्यानपावर कम्पनीले गत भदौबाट भने थोरै मात्रामा भएपनि श्रमिक पठाउन शुरू गरेको हो ।

गत भदौ १४ गते मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारको लागि पूर्व श्रम स्वीकृति लिएका र विदामा आएका श्रमिकको अन्तिम श्रम स्वीकृति खोलेको निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर गत भदौबाट विभिन्न म्यानपावर कम्पनीले नेपालीहरूको गन्तव्य मुलुकमा श्रमिक पठाइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले जनाएको छ ।

हालसम्म श्रम स्वीकृति लिएका २१ हजारभन्दा बढीलाई विभिन्न गन्तव्य मुलुकमा रोजगारीमा पठाइसकेको महासंघका महासचिव सुजित श्रेष्ठ बताउँछन् ।

तर, गत चैतबाट बन्द भएको नयाँ माग प्रमाणीकरण भने अझै हुन सकेको छैन । कुनै पनि रोजगारीमा जाने श्रमिकलाई पठाउनका लागि विदेशस्थित नेपाली राजदूतावासले माग प्रमाणीकरण गर्नुपर्ने हुन्छ । तर, लामो समय वितिसक्दा पनि माग प्रमाणीकरण हुन नसक्दा व्यवसायीहरू मारमा परेको व्यवसायीहरूले बताएका छन् ।

अहिले सबैभन्दा बढी कामदार भारतले पठाइरहेको छ । साथै, अन्य देश बंगलदेश, श्रीलंकाबाट खाडी मुलुकमा नयाँ माग प्रमाणीकरण पठाई श्रमिक लगिरहेका छन । तर, नेपालले कामदारको लागि हालसम्म कुनै माग प्रमाणीकरण नखुलाएको र कहिलेदेखि खुलाउने भन्नेबारे पनि अनविज्ञ रहेको श्रेष्ठले बताए ।

‘अन्य देशले माग प्रमाणीकरण गर्दा नेपालको राजदूतावासहरूले माग प्रमाणीकरण नगर्नुको कारण के हो हामीले बुझ्न सकेको छैन,’ उनले क्लिकमान्डूसँग भने, ‘महासंघले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय विभिन्न निकायमा अनुरोध गरिरहेको अवस्था छ । तर, कुनै निकायले वास्ता गरेको छैन ।’ यस विषयमा प्रत्यक्ष राजनैतिक दल तथा अन्य मानिसको चलखेल रहेको महासंघले आरोप लगाएका छन् ।

भिजिट भिसामा भन्दै विदेशिए श्रमिक
महासंघले विभिन्न निकायसँग कुराकानी तथा छलफल गरे पनि माग प्रमाणीकरण हुन नसकेपछि केही म्यानपावर कम्पनीले भिजिट भिसामा भन्दै श्रमिक पठाइरहेको महासंघको भनाइ छ ।

पछिल्लो समय भदौदेखि हालसम्ममा करिब ७ हजार भिजिट भिसामा पठाएको तथ्याङ्क महासंघले प्राप्त गरेको महासचिव श्रेष्ठले बताए ।

‘भिजिट भिसामा गएका श्रमिकहरूमा करिब १९ वर्ष देखि ३० वर्ष उमेरमा छन्,’ उनले भने, ‘आर्थिक मन्दि भएको बेलामा यी श्रमिकहरू घुम्न गएका होइनन् । भिजिट भिसामा राम्रो कमाई हुने प्रलोभन देखाउँदै मानव तस्करहरू ठूलो रकम असुलेर विदेश पठाएको हो ।’

त्यति मात्रै नभई दुबईमा भिजिट भिसामा गएर अन्य देशमा ट्रान्जिट भएर जाने श्रमिक पनि उल्लेखनीय रहेको श्रेष्ठको भनाइ छ ।

ठूलै व्यक्तिको संलग्न भएको महासंघको आशंका
माग प्रमाणीकरण गर्न नदिने तर भिजिट भिसामा श्रमिकहरू पठाइरहेको प्रवृत्तिलाई नियाल्दा ठूला–ठूला व्यक्तिको नै संलग्न रहेको महासंघले आशंका गरेका छन् ।

कामदारको भिसालाई रोकेर भिजिट भिसालाई प्रोत्साहन गरेको र केही सिमित म्यानपावरले मात्रै भिजिट भिसामा लगिरहेको हुनाले यसमा ठुलै चलखेख रहेको श्रेष्ठले बताए ।

यसैगरी, हाल दुबइका लागि उडान भएको सम्पूर्ण नेपाल एयरलाइन्समा पूर्ण सिटमा श्रमिक लगिरहेको उनले बताए । यसको बारेमा विभागलाई जानकारी दिई विशेष कारबाही र छानविन गर्न महासंघले माग गरेको छ ।

भिजिट भिसामा श्रमिक पठाउने म्यानपावरलाई कारबाहीमा ल्याउन माग

यसैगरी अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी भिजिट भिसामार्फत कामदारहरु विदेश प्रस्थान गर्ने म्यानपावर कम्पनीहरूलाई नेपाल लोकत्रान्त्रिक बैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

अन्तिम श्रम स्वीकृति र बैदेशिक रोजगार बीमा प्राप्त नगरी विदेश जादा र पठाउदा कामदारहरुलाई भविष्यमा केही भएको अवस्थामा क्षतिपूर्ती पाउने कानूनी प्राबधान छैन ।

साथै, ठगीमा पर्ने अधिक सम्भावना हुनेहुँदा नियम बिपरितका कार्यलाई निरुत्साहित गरी त्यस्ता कार्यहरुलाई प्रोत्साहन गरेको पाएमा व्यवसायीलाई एसोसियसनको सदस्य रहन नदिने चेतावानी दिएका छन् ।

एकातिर अन्तिम श्रम स्वीकृति सुचारु गर्ने अर्कोतिर सम्बन्धित स्रोत मुलुककको नियम पूरा गरी मागपत्र प्रमरिकरण नहुने द्विविधायुक्त निर्णयले दिनानुदिन बढ्दै गएका बेरोजगारहरुको संख्याले व्यवसायी हरुको मनोबल खस्कदै गएको उनीहरूको भनाइ छ ।

यसका लागि मन्त्रालय र बैदेशिक रोजगार विभाग संग अबिलम्ब छलफल गरि उचित निकाश निकाल्नको लागि नेपाल संघले माग गरेको छ ।

भिजिट भिसामा श्रमिक पठाएको जानकारी आएको छैन– विभाग
हाल सिमित म्यानपावर कम्पनीले मात्रै दुबईमा उडान गरिरहेको अवस्थामा भिजिट भिसामा जाने कामदारको संख्या उल्लेखनीय रहेको छ । तर, श्रम मन्त्रालयको मातहतामा रहेको वैदेशिक रोजगार विभागमा भने भिजिट भिसामा भनि कामको लागि श्रमिक पठाइरहेको जानकारी प्राप्त नभएको विभागका सुचना अधिकारी टिकामणी नेउपानेले बताए ।

उनका अनुसार हालसम्म श्रमिकहरू भिजिट भिसामा भनेर गइरहेका छन् । तर, रोजगारको लागि गएका हुन् वा घुम्न गएका हुन् त्यसबारे विभागमा उजुरी आए मात्रै विभागले छानविन गर्ने बताए । यसका साथै, यदि व्यवसायी महासंघलाई थाहा भएको अवस्थामा महासंघले पनि आफ्ना व्यवसायीलाई पनि चेतावनी दिनुपर्ने बताए ।


क्लिकमान्डु