बीमा समितिका अध्यक्ष चापागाईंविरुद्ध उजुरी: अर्थ मन्त्रालयले समितिलाई यस्तो पत्र पठायो
काठमाडौं । कार्यकाल सकिने समयावधि नजिकिँदै गर्दा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंविरुद्ध धमाधम उजुरी पर्न थालेका छन् ।
गत असोज ५ गते ९ वटा गंभीर आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीको छानविन भइरहेको अख्तियारले जनाएको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंमाथि ९ वटा गम्भीर आरोप लगाउँदै अख्तियारमा उजुरी
गत असोज २८ गते फेरि समिति अध्यक्ष चापागाईंविरुद्ध प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा उजुरी परेको थियो ।
उजुरीमा विभिन्न बीमा कम्पनीका सीइओहरुबाट आर्थिक लाभ लिइ बीमकको संस्थागत शुसाशन कार्यान्वयन नगरेको, विश्वव्यापी बीमाकोे सिद्दान्त विपरित कोरोना जस्तो महामारीको बीमालेख जारी गरेको र बीमा कम्पनीसँग साँठगाँठ गरी कोरोना बीमाको दाबी भुक्तानी १० प्रतिशत मात्रै फर्छ्योट गरेको आरोप लगाइएको छ ।
उक्त उजुरीका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले यो अर्थ मन्त्रालयसँग सम्बन्धित विषय भएकाले आवश्यक कारबाही गर्न अर्थ मन्त्रालयलाई गत कात्तिक ४ गते पत्राचार गर्यो । प्रधानमन्त्री कार्यालयको पत्र पाएको पर्सिपल्ट अर्थात कात्तिक ६ गते अर्थ मन्त्रालयले बीमा समितिलाई आवश्यक कार्य गर्न निर्देशन दिँदै पत्र पठायो ।
बीमा समितिको स्थलगत निरीक्षण प्रतिवेदनः सगरमाथा इन्स्योरेन्स जोखिममा, कारबाही भने गरिएन
अर्थ मन्त्रालयले बीमा समितिलाई लेखेको पत्रमा भनिएको छ, ‘प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय च.नं. म.बा ४११/१६६१ मिति २०७७/७/४ को पत्रसाथ प्राप्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्बोधन गरी बीमा समितिका क्रियाकलापबाट पीडित जनताहरुले दिनुभएको ज्ञापनपत्रको छायाँप्रति यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको ब्यहोरा आदेशानुसार अनुरोध छ ।’
पत्रमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका शाखा अधिकृत कोपिला आचार्यको हस्ताक्षर छ ।
त्यतिमात्रै होइन, कात्तिक १७ गते फेरि २ पृष्ठ लामो ३ बुँदे आरोप लगाउँदै अध्यक्ष चापागाईंविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
कानून विपरित सगरमाथा इन्स्योरेन्सले गरायो उधारो बीमा, बीमा समिति रमिते
उजुरीमा बीमा कम्पनीको स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा देखिएका कैफीयत कार्यान्वयन नगरी आर्थिक लाभ लिएको, केही बीमा कम्पनीका सीइओलाई प्रत्यक्ष फाइदा पुग्ने हिसाबले बीमकको संस्थागत शुसाशन कार्यान्वयन नगरी संशोधन गर्न लागेको र कोरोना बीमाको दाबी भुक्तानीमा बीमा ढिलाइ गरेको लगायतका आरोपहरु लगाइएको छ ।
चापागाईंको कार्यकाल आगामी पुस दोस्रो साता सकिँदैछ । कार्यकाल सकिनै लाग्दा किन यसरी उनीविरुद्ध धमाधम बेनामे उजुरीहरु परिरहेका छन् ? यस विषयमा सरोकारवाला निकायले आवश्यक छानविन गर्न जरुरी देखिन्छ ।
समिति अध्यक्ष चापागाईंले भने आफूले गरेको काम देख्न नसक्ने र आगामी कार्यकालका लागि अध्यक्ष बन्ने दौडमा रहेका व्यक्तिहरुले आफ्नो इज्जतमा कालो दाग लागोस् भन्ने उद्देश्यले आफूविरुद्ध नियोजित हमला गरेको बताउँदै आएका छन् ।