साढे ३ करोड लागतमा निर्माण भएको पाल्पाकै ठूलो शीतभण्डार अन्तिम चरणमा



File photo

पाल्पा । पाल्पामा सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई भण्डारण गर्न ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्दैछ ।

कृषि तथा पशु सेवा शाखा कार्यालय परिसरमा करिब १ रोपनी क्षेत्रफलमा एक तले चार कोठासहितको शीतभण्डारको भवन निर्माणकार्य करिब ८० प्रतिशत सकिएको छ । शीतभण्डारसहित प्राविधिक कक्ष, दुईतले आवासगृह र शौचालय निर्माण हुनेछ ।

रबिना र अभिसा जेभी कन्स्ट्रक्शनले संयुक्तरूपमा ३ करोड ५२ लाख लागतमा गत असार ५ गतेबाट निर्माणकार्य थालनी गरेको नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेले जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ बुटवलको सःशर्त अनुदानमा शीतभण्डार निर्माण थालनी गरिएको हो । आर्थिक वर्ष २०७५/७६ मा डिपिआर तयार गरी आव २०७६/७७ मा ठेक्का सम्झौता गरिएको थियो ।

शीतभण्डार नहुँदा कृषकले अन्यत्र शीतभण्डारमा कृषि उपज भण्डारण गर्न लैजानु पर्दा ढुवानी खर्च, बिउ लैजान ल्याउन समस्या थियो । रामपुरमा ठूलो क्षमताको शीतभण्डार निर्माण शुरु भएपछि यो वर्ष कृषकले हौसिँदै कृषि उपज उत्पादनमा जोड दिएका छन् । रामपुर नगरपालिकामा शीतभण्डार नहुँदा यहाँ उत्पादन भएका तरकारी तथा फलफूल, बिउबीजन भण्डारण गर्न भैरहवा, स्याङ्जालगायतका ठाउँमा लैजानुपर्ने बाध्यता छ ।

यहाँ उत्पादन हुने आलु, केरा, तरकारी बालीलगायतका विभिन्न कृषि उपज शीतभण्डारमा राख्न पाइने भएपछि कृषकलाई अन्यत्र लैजाने समस्या अब हट्ने भएको छ । आउँदो पुस मसान्तभित्र शीतभण्डार निर्माणको काम सम्पन्न गर्ने र कृषकले उत्पादन गरेका आलु यसै वर्षदेखि राख्ने तयारी गरेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।

गत वर्ष नगरपालिकाको ‘एक वडा, एक उत्पादन कार्यक्रम’ अन्तर्गत वडा नं ६ मा लगाइएको आलु बिउ प्रयोजनका लागि स्याङ्जाको गल्याङ नगरपालिकाको जिमुवा शीतभण्डारमा ११५ क्विन्टल बिउका लागि भण्डारण गर्न लगिएको थियो । पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई सञ्चालनमा छ । रासस


क्लिकमान्डु