अनलाइन पेमेन्ट बढेसँगै बढ्यो अनलाइन ठगी



काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरस संक्रमणका कारण अहिले डिजिटल पेमेन्ट निकै चर्चामा रहेको छ ।

कोरोना संक्रमण कम गर्नका लागि डिजिटल पेमेन्ट्समा विशेष ध्यान दिनुपर्ने आवश्यकता र मागसँगै यसको प्रयोगमा निकै तीव्रता आएको छ ।

पछिल्लो समय नेपालमा पनि अनलाइनमार्फत् हुने ठगी पनि बढेको छ । त्यसैगरी सामाजिक सञ्जालमार्फत् हुने यस्ता ठगी बढिरहेको प्रहरीको भनाइ छ । सामाजिक सञ्जालबाट ठगी गर्नेहरुको संख्या यतिबेला बढिरहेको छ ।

विकसित मुलुकमा हुँदै आएको डिजिटल पेमेन्ट अब विकासोन्मुख राष्ट्रहरुले पनि अवलम्बन गर्ने तयारीमा रहेका छन् र कतिपयले विभिन्न पेमेन्ट गेटवेमार्फत् डिजिटल पेमेन्टलाई निकै बढावा दिइरहेका छन् ।

कोरोना महामारीले अर्थतन्त्रमा निकै क्षति पुर्याए पनि यसलाई विभिन्न अवसरका रुपमा पनि हेर्न थालिएको छ । ती अवसरहरुमध्येको एक हो डिजिटल पेमेन्ट ।

कोरोनाका कारण मौलाएको डिजिटल पेमेन्टसँगै सुरक्षाको विषय गम्भीर रुपमा देखिएको छ । डिजिटल पेमेन्टसँगै अहिले विश्वका विभिन्न ठाउँमा अनलाइन फ्रडका घटनाहरु बढेका छन् । जसका कारण डिजिटल पेमेन्ट गर्न वा नगर्ने सम्मको अन्यौल प्रयोगकर्तामा देखिन थालेको छ ।

विभिन्न बहाना बनाएर अनलाइन फ्रडमार्फत् उपभोक्ता ठगिन थालेका छन ।

यसरी अनलाइन फ्रड धेरै हुनेमा भारत पनि अग्रस्थानमा छ । भारतमा धेरै मानिसलाई केवाइसी भेरिफिकेसनको बहानामा म्यासेज पठाएर ठगी गरिएको छ ।

उक्त म्यासेजमा भर पर्दा धेरैले करिब ४ लाख भारतीय रुपैयाँसम्म गुमाएका छन । उक्त फ्रडबाट धेरै व्यक्ति तथा परिवारनै प्रभावित भएका छन् ।

त्यसैगरी अनलाइन ठगहरुका लागि अमेजन गिफ्ट कार्डस पनि अर्को ठग्न माध्यम बनेको छ । कतिपय उपभोक्ता विभिन्न तरिकाले तीनपटकसम्म ठगिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसरी ठगी धन्दा हुने कतिपय नक्कली एप्सहरुमा कारोबार गर्नका लागि पिन कोड वा सेक्युरिटी कोर्ड हान्न लगाउने र उक्त कोड गलत तरिकाले प्रयोग गरेर ठग्ने गरेका छन् ।

कारोबार गर्नका लागि सेक्युरिटी कोड हान्ने वित्तीकै उक्त फोनको पूरै नियन्त्रण फ्रडहरुको हातमा हुन्छ । उक्त प्रक्रियामा सोधिएका र लिइएका विभिन्न सूचनामार्फत अनलाइन फ्रडहरुले बैंकहरुबाट सिधै पैसा निकालिदिने गरेका छन् । यसरी हुने ठगीबाट पैसा गुमाउनुका साथै मानिसलाई मानसिक डर समेत हुने गरेको छ ।

एनिडेक्स एप र गुगल फर्म मार्फत नाम, ठेगाना, बैंक नाम, डेविट कार्ड नम्बर, भ्यालिडिटी मागेर स्टेट बैंक अफ इन्डिया, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायत अन्य विभिन्न बैंकबाट व्यक्तिको पैसा निकालिदिएका छन् ।

यस्ता विभिन्न ठगीका कारण अहिले कतिपयले बैंकका न्यूनतम व्यालेन्सबाहेक अरु पैसा राख्नै छोडेका छन । पेटिएम लगायत अन्य मुख्य अनलाइन प्लेटफर्महरु समेत प्रयोग गर्न छोडेको बताइएको छ । विज्ञहरुका अनुसार भारतमा यस्ता किसिमका घटनाहरु बढीरहेका छन् ।

अनलाइन फ्रड नयाँ र कोभिड १९ पछि शुरु भएको अपराध भने होइन । विगतमा ठगहरुले प्रख्यात राजनितिज्ञ र सांसदहरुलाई नै ठगेका उदाहरणहरु छन् । तर महामारीले निम्त्याएको आर्थिक मन्दीका साथै अनलाइन पेमेन्टमा भएका उल्लेख्य वृद्धिका कारण अनलाइन फ्रड बढिरहेको छ ।

पेटिएम, गुगन पे, फोनपेलगायतका अनलाइन प्लेटफर्म प्रयोगकर्ताहरु विशेषगरी टार्गेटमा परेका छन् ।

डिजिटल कारोबारमा उल्लेख्य बृद्धि र नयाँ प्रयोगकर्ताहरुले क्यासलेस पेमेण्ट गर्न थालेपनि उनीहरुमा चेतना र डिजिटल ज्ञानबारे धेरै कम जानकारी भएको बताइएको छ । जसका कारण केवाइसी अपडेट फ्रडजस्ता अपराध बढेका छन् ।

भारतमा जस्तै नेपालमा पनि कोरोनाका कारण डिजिटल पेमेन्टलाई बढावा दिन विभिन्न निर्णयहरु भएका छन् । डिजिटल पेमेन्ट गर्दा विभिन्न छुट तथा अफरहरु समेत आइरहेका छन् ।

फलस्वरुप डिजिटल पेमेन्ट प्रयोगकर्ताहरुको संख्यामा बृद्धि भएको छ । डिजिटल प्लेटफर्ममा प्रयोगकर्ताहरुको संख्या बढेपनि त्यसको सुरक्षाको विषय नेपालमा पनि निकै चासोका रुपमा हेरिएको छ ।


क्लिकमान्डु