बैंक तथा वित्तीय संस्थाको ६६.२ प्रतिशत कर्जा घर जग्गा धितोमा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ६६.२ प्रतिशत कर्जा घर जग्गा धितोमा प्रवाह गरेका छन् ।

बैंकहरुले कर्जाको बलिलो सुरक्षणको आधार घर जग्गा धितोलाई नै मान्ने हुँदा घर जग्गा धितोमा प्रवाहित कर्जाको हिस्सा बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा बैंक तथा वित्तीय संस्थाले ३२ खर्ब ७४ अर्ब ९९ करोड रुपैयाँ मध्ये २१ खर्ब ६७ अर्ब ५९ करोड घर जग्गा धितोमा प्रवाह गरेको हुन् ।

बैंकिङ इतिहासको शुरुवातमा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीसँग कृषि उपजलगायत भण्डारण रहेका सामान वा (कृषि तथा गैर कृषिजन्य वस्तु) चालु सम्पत्ति धितोको रुपमा राख्थे ।

पछिल्ला दिनमा त्यसको स्वरुप फेरिएको छ । बैंक तथा वित्तीय संस्थाले घर जग्गा नै सुरक्षणमा राखेर कर्जा दिने गरेका छन् ।

चालु सम्पत्ति धितोमा बैंक तथा वित्तीय संस्थाले उक्त अवधिमा कुल कर्जाको १२.८ प्रतिशत अर्थात् ४ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ मात्र प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

बिना धितो वा चालु पुँजीको आधारमा कर्जाका विभिन्न योजना ल्याएपनि बैंक तथा वित्तीय संस्थाले घर जग्गालाई मात्र बलियो कर्जा सुरक्षण मानेको नेपाल राष्ट्र बैकको पछिल्लो तथ्यांकले देखाउँछ ।

विकसित देशहरुमा हेर्ने हो भने नै कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई विश्वासका आधारमा (बिनाधितो) र धितोे मूल्यांकनका आधारमा ऋण दिने गर्दछन् ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले सवारी साधान धितोमा १ खर्ब ८९ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल प्रवाहित कर्जाको ५.८ प्रतिशत हो ।

यस्तै, मेशिनरी तथा उपकरण धितोमा ८० अर्ब ५३ करोड रुपैयाँ, फनिचर एण्ड फिक्चर धितोमा १ अर्ब ९७ करोड रुपैयाँ, र अन्य सम्पती धितोमा ७२ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

साउन र भदौमा बैंक तथा वित्तीय संस्थाले सुनचाँदीको धितोमा ३७ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छन् । जुन कूल प्रवाहित कर्जामा १.२ प्रतिशत हो ।

साथै सरकारी ऋणपत्र धितोमा ४६ करोड ६४ लाख रुपैयाँ, गैरसरकारी ऋणपत्र धितोमा २० अर्ब ४ करोड रुपैयाँ र मुद्दति निक्षेप धितोमा १७ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


क्लिकमान्डु